ad ad

राजनीति


समाजवादीको नारा : सबैतिर पार्क बनाऊँ, फलफूलका विरुवाले सडक सजाऊँ

समाजवादीको नारा : सबैतिर पार्क बनाऊँ, फलफूलका विरुवाले सडक सजाऊँ

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १३:४१, काठमाडौँ

नेकपा एकीकृत समाजावदीले हरेक पालिकामा ठूला आकारका र वार्ड वार्डमा साना पार्क  निर्माणको पहल गर्ने भएको छ। 

सोमबार सार्वजनिक प्रतिनिधि सभा र प्रदेश सभा चुनावको घोषणापत्रमा पार्क नभएकैले नेपाली बालकका बालापन र युवाहरुको युवापन खोसिएको भन्दै पार्क निर्माण अघि बढाउने उल्लेख छ।

भूमाफियाहरूद्वारा कब्जा गरिएका जमिन फिर्ता लिई अन्य उपलब्ध सार्वजनिक जमिनको अधिकतम सदुपयोग गरी सार्वजनिक पार्क बनाइने समाजवादीको प्रस्ताव छ।

‘पार्कको अभावमा हाम्रा बाल–बच्चाको बालापन र युवाहरूको युवापन खोसिँदै छ। यसले गर्दा एकथरि बच्चाहरू मोबाइल र इन्टरनेटका लतमा (एडिक्ट) लागेका छन् भने स्मार्ट फोन किन्न नसक्ने बालबालिकाहरू कोठामा थुनिएर कुण्ठित हुनुपरेको छ,’ घोषणापत्रमा भनिएको छ, ‘अध्ययनशील मानिसले एकान्तमा बसेर अध्ययन गर्ने र वनभोज गर्न जाने ठाउँसमेत छैनन् । यो कमी हटाउनका लागि हरेक पालिकामा सबैका लागि पहुँचयुक्त ठुला आकारका पार्क र वार्ड–वार्डमा साना पार्कको निर्माण गर्न पहल गरिने छ । स्थानीय तहमा पोखरी, पार्क र बाल उद्यान निर्माण गर्ने, सबै वडा र टोलमा बालगृह, ज्येष्ठ नागरिक सेवा केन्द्र र आश्रम, तालिम केन्द्र, खेलकुद मैदान आदिको समुचित व्यवस्था गर्न पहल गरिने छ ।’

समाजवादीले ‘जंगल यात्रा’ कार्यक्रम गर्ने प्रस्ताव पनि अघि सारेको छ। 

‘वनजङ्गलको प्राकृतिक स्वरूप यथावत राखी कुनै पनि रुख कटानी नगरी तिनीहरूलाई घुमफिर गर्ने पार्कको रूपमा विकास गर्ने, उपभोक्ता समितिहरूलाई सामुदायिक वनमा आवश्यक सुरक्षा प्रवन्धसहित घुमफिर गर्नका लागि ‘जंगल यात्रा’ कार्यक्रमहरू सञ्चालन गरेर पर्यटक आकर्षित गर्न आवश्यक सहयोग गरिने छ,’ घोषणापत्रमा छ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाहरूलाई एकीकृत राजधानी सहरका रूपमा विकास गर्न पहल गर्ने, बागमती उपत्यकालाई सुन्दर, स्वस्थ, स्वच्छ तथा पर्यावरणमैत्री ऐतिहासिक सम्पदा सहरका रूपमा विकास गर्न पहल गरिने समाजवादीको प्रस्ताव छ। 

सडक व्यवस्थित बनाउन मेरो सहर, म बनाउँछु अभियान अघि बढाउने भएको छ। 

‘हरित सहर, राम्रो सहर’ अवधारणा अनुसार राजमार्ग र सहायक मार्गको दायाँबायाँ फलफूलका बिरुवा लगाई सडकको सौन्दर्य बढाउने र तिनको संरक्षण गरी राजधानीलाई हरियाली सहरको रूपमा विकास गर्ने व्यवस्था मिलाउन पहल गरिने छ,’ समाजवादीको घोषणापत्रमा भनिएको छ, ‘मेरो सहर, म बनाउँछु’ भन्ने उद्घोषका साथ सफा, सुरक्षित र सभ्य सहर बनाउन पहल गरिने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .