ad ad

राजनीति


प्रदेश १ : मुख्यमन्त्रीको दौडमा कांग्रेसका सातजना, एमालेबाट हिक्मत एक्लै

माओवादीबाट इन्द्र आङ्बो दाबेदार
प्रदेश १ : मुख्यमन्त्रीको दौडमा कांग्रेसका सातजना, एमालेबाट हिक्मत एक्लै

सुमन पुरी
कात्तिक ११, २०७९ शुक्रबार १८:५७, विराटनगर

प्रदेश १ को नयाँ मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसबाट ७ जना दौडमा देखिएका छन्। 

गठबन्धनका कारण प्रतिनिधि सभामा उम्मेदवार बन्न नपाएपछि प्रभावशाली नेताहरु प्रदेशमा झर्दा मुख्यमन्त्रीको दौड रोचक बनेको छ। 

मुख्यमन्त्री बन्न आन्तरिक प्रतिस्पर्धा तीव्र भएपछि नेताहरु नै एक अर्कालाई असहयोग गर्ने तहमा पुगेका छन्। 

मुख्यमन्त्री बन्ने दौडमा रहेका नेता उठेका क्षेत्रमा कांग्रेसभित्र गुटगत राजनीति बढेको कांग्रेस नेताहरु स्वीकार गर्छन्। 

कांग्रेसबाट मुख्यमन्त्री बन्ने दौडमा प्रभावशाली नेताहरु अमृत अर्याल, उद्धव थापा, राजीव कोइराला, गुरुराज घिमिरे, हिमाल कार्की केदार कार्की र भीम पराजुली छन्। 

यीमध्ये राजीव कोइराला, अमृत अर्याल, भीम पराजुली र गुरुराज घिमिरे प्रतिनिधि सभाको उम्मेदवार बन्न कसरतमा थिए। 

प्रतिनिधि सभामा उम्मेदवार बन्न नपाएपछि प्रदेशमा झरेका यी नेताहरु अहिले मुख्यमन्त्रीको दौडमा देखिएका छन्। 

राजीव कोइराला कांग्रेस संसदीय दलका निर्वतमान नेता हुन् भने हिमाल कार्की उपनेता हुन्। 

गुरुराज घिमिरे पनि प्रदेश सभापतिमा पराजित भएका नेता हुन्। मुख्यमन्त्रीको लाइनमा केदार कार्की प्रदेश १ सरकारका आन्तरीक मामिला तथा कानुनमन्त्री समेत हुन्। 

मुख्यमन्त्री बन्ने लाइनमा देखिएका नेतामध्ये अमृत, उद्धव र हिमाल संस्थापन पक्षका नेता हुन्। कोइराला, घिमिरे र कार्की संस्थापन नेताका रुपमा चिनिएका छन्। 

पराजुली भने सिटौलाका विश्वास पात्र मानिन्छन्। कांग्रेसको १४ औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्य हुँदा देउवानिकट थिए। उनी विराटनगर महानगरका निर्वतमान मेयर समेत हुन्। 

प्रतिनिधि सभाको दावेदारीको रुपमा रहेका अमृत अर्याल प्रदेशमा झरेपछि उनलाई मुख्यन्त्रीको रुपमा देउवाले अघि सारेको कांग्रेस भित्र चर्चा शूरु भएको छ । 

देउवानिकट मोरङ अर्याल प्रतिनिधि सभाको उम्मेदवार बन्ने तयारीमा थिए। उनी सिफारिस भएको मोरङ ४ र ५ नै गठबन्धनका कारण माओवादीको भागमा परेपछि उनी प्रदेशमा झरेका छन्।  

उनले पटक पटक प्रदेशमा न उठ्ने बताँउदै आएका थिए। अन्तिममा आएर उनी मोरंग क्षेत्र नम्बर ५ 'ख' बाट प्रदेश सभामा उम्मेदवार बन्न तयार भएका हुन्। 

उनको प्रतिस्पर्धा प्रदेश १ का स्वास्थय मन्त्री जयराम यादवसँग हुने छ। जसपा-एमाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका यादव पनि यस क्षेत्रका प्रभावशाली नेता हुन्। मधेश आन्दोलनबाट राजनीतिमा आएका यादवलाई हराउन भने अर्यालाललाई सहज भने छैन। 

मोरङ जिल्लाको सभापति भइसकेका अर्याल अघिल्लो निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ मा शिवकुमार मण्डलसँग पराजित भएका थिए। 

यस पटक पनि उनी मोरङ ५ या ४ बाट निर्वाचन उठ्ने तयारीमा थिए। मोरङमा कोइराला गुटको दबदबा रहेको बेला संस्थापन पक्षलाई टिकाइराख्ने नेताका रुपमा अर्याल चिनिन्छन्। 

कांग्रेस प्रदेश १ का सभापति उद्धव थापा भने समानुपातिक सूचीमा पहिलो नम्बरमा छन्। उनी सभापति देउवानिकट मानिन्छन्। 

उनी चर्चित नेता गुरुराज घिमिरेलाई पराजित गरी प्रदेश सभापति भएका हुन्। यसअघि उनी २ कार्याकाल झापा कांग्रेसका सभापति थिए। 

मुख्यमन्त्री लाइनमा रहेका राजीव कोइराला पनि प्रतिनिधि सभाको लागि सुनसरी २ बाट आकांक्षी थिए। उनले प्रदेशमा नउठ्ने बताँउदै आएका थिए। 

तर अन्तिम समयमा उनी सुनसरी २ ख बाट उम्मेदवार बनेका छन्। यसअघि उनी कांग्रेस प्रदेश १ को संसदीय दलको नेता भइसकेका छन्। 

उनको प्रतिस्पर्धा एमालेका रामप्रसाद मेहतासँग हुने छ। उनी ०७४ को निर्वाचनमा पनि सुनसरी २ 'ख' बाट विजयी भएका थिए। अघिल्लो निर्वाचनामा पनि उनका प्रतिस्पर्धी मेहता नै थिए।  

यस्तै संस्थापन इतरका प्रभावशाली नेता गुरुराज घिमिरे मोरङ क्षेत्र नम्बर ४ 'क' बाट प्रदेश सभाका लागि उम्मेदवार छन्। 

उनलाई पनि कांग्रेसकोतर्फबाट मुख्यमन्त्रीका प्रतिस्पर्धीको रुपमा हेरिएको छ। समानुपातिक सूची र टिकट वितरणमा तीव्र असन्तुष्टि जनाएका घिमिरेको एमालेका जयप्रकाश चौधरीसँग मुख्य प्रतिस्पर्धा देखिएको छ। 

कांग्रेसको १४ औ अधिवेशनमा भएको आन्तरीक गुटबन्दीको असर अझै बाँकी रहेकाले घिमिरेलाई कांग्रेसकै एउटा समूहले असहयोग गर्ने देखिएको छ। उनलाई कारवाहीको सिफारीस समेत भएको छ। 

क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति विनोद बस्नेतले अधिवेशनको गुटबन्दी सकिएको बताए पनि तल्लो तहका कार्याकर्तामा अझै तुष बाँकी रहेको बस्नेत स्वीकार गर्छन्। 

यसको असर के पर्ला? बस्नेत भन्छन्, 'त्यो आन्तरिक प्रतिस्पर्धा थियो, यो बाह्य प्रतिस्पर्धा हो। चुनावसम्म सबै मिलेर जान्छ।' 

उदयपुरबाट प्रदेशसभाका लागि उम्मेदवार हिमाल कार्की पनि मुख्यमन्त्रीको दाबेदार नेता हुन्। अघिल्लो पटक उपनेता भएका कार्कीलाई  देउवाका विश्वासिलो नेताका रुपमा हेरिन्छ। 

उनी उदयपुर क्षेत्र नम्बर १ 'ख' बाट उम्मेदवार बनेका छन्। उनी यसअघि पनि त्यही क्षेत्रबाट विजयी भएका थिए। 

यस्तै विराटनगर महानगरका निर्वतमान मेयर भीम पराजुली पनि प्रदेश झरेका छन्। उनी पनि प्रतिनिधि सभाको उम्मेदवार बन्न चाहन्थे। 

कृष्ण सिटौलाका विश्वासपात्र पराजुली मोरङ क्षेत्र नम्बर ४ 'ख' बाट प्रदेश सभाका लागि उम्मेदवार बनेका छन्। उनको प्रतिस्पर्धा एमालेका प्रभावशाली नेता जीवन घिमिरे छन्। 

घिमिरे शेरधन राई नेतृत्वको सरकारको सामाजिक विकास मन्त्री थिए। प्रदेशका यी दुई हेभिवेटको भीडन्त रोचक बनेको छ। 

पराजुलीलाई गुटगत राजनीतिका कारण कांग्रेसभित्रकै एउटा खेमाको असहयोग देखिन्छ। नगरस्तरीय कांग्रेसका नेताहरु नै अहिले पराजुलीविरुद्ध प्रचारवाजीमा छन्। महानगरको मेयर हुँदा पार्टीलाई बेवास्ता गरेको र गुट चलाएको आरोप असन्तुष्टहरुको छ। 

यस्तै प्रदेश १ सरकारका आन्तरीक मामिला तथा कानुनमन्त्री केदार कार्की पनि मुख्यमन्त्रीको लाइनमा छन्। 

उनी मोरङ ६ 'ख' बाट उम्मेदवार बनेका छन्। तर उनलाई कांग्रेसका बागी गोपाल रेग्मी टाउको दुखाइ बनेका छन्। 

विराटनगर महानगरका पूर्व प्रशासकीय अधिकृत भएका रेग्मी विराटनगरका प्रभावशाली व्यक्ति हुन्। 

उनकै पालोमा विराटनगरको साँघुरो सडक विस्तार भएको हो। यसको जस रेग्मीले लिँदा कार्कीलाई चुनावमा समस्या भएको छ।

एमालेका परशुराम बस्नेत कार्कीका मुख्य प्रतिस्पर्धी हुन्। युवासंघ नेपालको राजनीतिबाट मूल राजनीतिमा आएका बस्नेत युवा परिचालनमा अगाडि छन्। 

एमालेका  कार्की 
एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्की एमालेबाट मुख्यमन्त्रीको दौडमा छन्। हुन त जीवन घिमिरेलाई पनि मुख्यमन्त्रीको दावेदार नेताको रुपमा हेरिएको छ। 

तर स्थायी कमिटी सदस्य कार्की ओलीका विश्वास पात्र भएकाले मुख्यमन्त्रीको दौडमा एक्ला देखिन्छन्। 

शेरधन राई नेतृत्वको सरकारका पालामा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका कार्की झापा क्षेत्र नम्बर ५ 'ख' बाट उम्मेदवार बनेका छन्। 

उनीसँग कांग्रेसका जीवन राई मुख्य प्रतिस्पर्धी हुन्। चुनावी प्रचारमा रहेका कार्की आफू स्वभाविक रुपमा मुख्यमन्त्रीको दौडमा रहेको बताँउछन्। उनी यसरी नै मतदाताकहाँ गएका छन्। 

उनले पार्टीको सिनियर नेता भएको र प्रदेश सरकारको अनुभव भएकाले स्वाभाविक रुपमा मुख्यमन्त्रीको लाइनमा रहेको बताए। 

माओवादीबाट आङ्वो
सत्ता गठबन्धनबाट निर्वाचन लडेका इन्द्रबहादुर आङ्वो पनि मुख्यमन्त्रीको दौडमा छन्।

उनी पाँचथर 'ख' बाट प्रदेश सभाका उम्मेदवार बनेका छन्। यसअघि पनि उनी त्यही क्षेत्रबाट विजयी भएका थिए। 

प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री रहेका आङ्वो सत्ता गठबन्धनबीचमा मुख्यमन्त्री बाँडफाँड भए माओवादीका तर्फबाट मुख्यमन्त्री बन्ने छन्। माओवादीले प्रदेश १ मा १९ वटा क्षेत्र पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .