नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयलागडे सिद्धान्तको प्रवर्द्धक भनेका छन्।
सत्ता गठबन्धनले सोमबार काठमाडौंमा गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले ओलीप्रति आक्रोश पोखेका हुन्।
'बयलगाडाका प्रवर्द्धकले एक समय राजतन्त्र ढाल्नु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै भन्थे', उनले भने, 'बयलगाडाका दर्शन शास्त्रीले भनेको त्यो कुरा यथास्थितिवादी हो, प्रतिगामी हो।'
उनले बयलगाडाको सिद्धान्त अंगाल्ने ओली र उनी नेतृत्वको एमाले अहिले यथास्थितिवादी, प्रतिगामी र राजावादीसँग मिल्न लागेको पनि बताए।
'बयलगाडे सिद्धान्त अंगाल्ने हो भने राप्रपासँग एकता हुन्छ, यथास्थितिमा बस्नुपर्ने हुन्छ। त्यहीकारण हामी छुट्टिएका हौँ', उनले भने, 'बयलगाडे सिद्धान्तको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो। त्यहीकारण हामीले विद्रोह गर्यौँ। अहिले सबै पार्टी र नेताहरु सजग हुनुस्।'
Shares

प्रतिक्रिया