नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र यतिबेला चुनावी गठबन्धनमा छन्। कांग्रेस सभापति शेरबहादुुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड आपसमा मिलेर देश दौडाहामा सक्रिय छन्।
०७४ सालको नेपाली कांग्रेसको चुनावी घोषणापत्र हेर्दा भने अहिले भन्दा फरक चित्र देखिन्छ। त्यसबेला माओवादी र कांग्रेस दुवैले एक–अर्कालाई के भनेर विश्लेषण गरेका थिए, सुन्दा रोचक लाग्छ।
नेपाली कांग्रेसले ०७४ को चुनावमा जारी गरेको घोषणापत्रमा माओवादीबारे विश्लेषण गर्दै भनेको थियो, ‘नेकपा माओवादी (केन्द्र) भित्र अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्ति प्रकट हुने गरेको छ। नेकपा माओवादी (केन्द्र) को यो ढुलमुले प्रवृत्तिले राष्ट्रिय राजनीतिमा अस्थिरता बढाएको छ। सहमति र संवादको राजनीतिबाट परिणाम निकाल्ने प्रक्रियालाई समेत कमजोर बनाएको छ।’
कांग्रेसले चुनावी घोषणापत्रमा भनेको थियो, ‘पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी विगत एक दशकदेखि अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बन्दै आएको छ।’
कांग्रेसले त्यसबेला माओवादीलाई ‘भरोसा गर्न नसकिने शक्ति’ भनेको थियो। कांग्रेसको घोषणापत्रमा भनिएको थियो, ‘कहिले एमालेसँग सरकार बनाउने र कहिले कांग्रेससँग सरकारमै बसी प्रतिपक्षसँग गठबन्धन गर्ने गम्भीर वैचारिक विचलन र भरोसा गर्न नसकिने पार्टीको रूपमा बन्दै आएको छ।’
पहिलो संविधानसभामा ठूलो पार्टीको भूमिका र सरकार नेतृत्वको अवसर पाएर पनि नेकपा माओवादी (केन्द्र) को परिचय संविधान निर्माण गर्न नसक्ने दलका रूपमा स्थापित भएको कांग्रेसले बताएको थियो। त्यस्तै, दोस्रो संविधानसभामा संविधान निर्माणको महत्त्वपूर्ण जिम्मेवारी र अवसर पाएर पनि संविधानसभामा ध्वंस मच्चाएर संविधान सडकबाट लेख्न उद्दत भएको कांग्रेसको आरोप थियो।
‘एउटा विचार र दर्शनमा आवद्ध भएर ११ वर्ष सशस्त्र द्वन्द्वमा होमिएको सिङ्गो माओवादी पार्टी विगत एक दशकमा टुक्रा–टुक्रा भएको छ’ त्यसबेला बनेको वाम गठबन्धनको विरोध गर्दै कांग्रेसको घोषणापत्रमा भनिएको थियो, ‘आफू निरन्तर विभाजित भइरहेको यही माओवादी (केन्द्र) र नेकपा (एमाले) अब एउटै कम्युनिस्ट पार्टी बनाउने नारामा अहिले एकअर्कालाई धृतराष्ट्रको अंगालोमा बाँध्नेगरी क्रियाशील भएका छन्।’
त्यसबेला नेपाली कांग्रेसले वाम गठबन्धनलाई ‘सत्ता स्वार्थको कम्युनिस्ट गठबन्धन’ भनेको थियो।
कांग्रेसको पाँच वर्षअघिको घोषणापत्रमा भनिएको छ, ‘नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) ले सत्ता स्वार्थको कम्युनिस्ट गठबन्धनको घोषणा गरेका छन्। यो कम्युनिस्ट गठबन्धनको घोषित उद्देश्य आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कम्युनिस्टहरूबीच चुनावी तालमेल गर्ने, अन्ततः एउटै कम्युनिस्ट पार्टी बनाउने, कम्युनिस्ट पार्टीको वर्चस्वको सरकार बनाउने र देशमा साम्यवाद स्थापना गर्ने छ। यो कम्युनिस्ट गठबन्धनका नेता र योजनाकारहरूले संविधानका आधारभूत लोकतान्त्रिक मूल्य–पद्धति र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिस्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उद्देश्य राखेका छन्। सारा संसारभरि असफल सिद्ध भइसकेको कम्युनिस्ट शासनलाई नेपालमा स्थापना गर्न खोजिएको कम्युनिस्ट गठबन्धनको यस्तो प्रयोग देश र जनताका लागि किमार्थ स्वीकार हुने छैन।’
कांग्रेसविरुद्ध माओवादीको आरोप : यो पार्टीसँग राष्ट्र निर्माण गर्ने इच्छा-शक्ति छैन
त्यसो त कांग्रेसले माआोवादीलाई आरोप लगाएजस्तै माओवादीले पनि कांग्रेसलाई गम्भीर आरोपहरू लगाएको थियो। केपी ओली र प्रचण्डले संयुक्त रूपमा सार्वजनिक गरेको साझा घोषणापत्रमा नेपाली कांग्रेससँग राष्ट्र निर्माण गर्ने इच्छा-शक्ति र दूरदृष्टि पटक्कै नभएको दाबी गरिएको थियो।
कांग्रेसले अग्रमनको यात्रालाई रोक्ने गरी दक्षिणपन्थी र यथास्थितिवादी शक्तिहरुलाई आफ्नो वरिपरि गोलबन्द गरिरहेको एमाले–माओवादीको साझा घोषणापत्रमा उल्लेख थियो।
वाम गठबन्धनको साझा घोषणापत्रमा भनिएको थियो, ‘...कांग्रेसको मुख्य नीति सामन्ती निरंकुशतन्त्र र वैदेशिक एकाधिकार पुँजीवादसँग सम्झौतापरस्त र आत्मसमर्पणवादी रहँदै आएको छ। ...बहुमत प्राप्त गरेको समयमा स्थिर सरकार दिन नसक्ने र प्रतिगमनलाई बढावा दिने कांग्रेसले निजीकरणका नाममा उद्योगधन्दा र सार्वजनिक संस्थानहरु समाप्त पारेको छ।’
प्रचण्ड र ओलीले सार्वजनिक गरेको घोषणापत्रमा कांग्रेसबारे भनिएको थियो,‘राष्ट्र निर्माण गर्ने कुनै इच्छा-शक्ति, दूरदृष्टि र योजना यस पार्टीसँग छँदैछैन।’
Shares

प्रतिक्रिया