शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनको खतरा अझै रहेको बताएका छन्। बागलुङको बडिगाड गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले देशीविदेशी तत्वहरुले षड्यन्त्र गरिरहेको बताउँदै अझै प्रतिगमनको खतरा नटरेको बताए।
संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै संविधानको रक्षाका लागि दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएको उनको भनाइ थियो।
‘संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउन वाम लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिएका छौं,’ उनले भने, ‘देशी विदेशी शक्तिहरु गठबन्धनलाई भत्काउन विभिन्न तरिकाले लागे तर विफल भएका छन्।’
देशमा विभिन्न समस्या रहेको बताउँदै गठबन्धन सरकारले संविधान संशोधन गरेर अघि बढ्ने विश्वास उनले व्यक्त गरे। बडिगाडमा उच्च शिक्षा अध्ययनका लागि सर्वदलीय निर्णय गर्न आग्रह गर्दै कृषि क्याम्पस स्थापनाका लागि आफूले निर्णय गर्ने प्रतिबद्धता पनि गरे।
गत निर्वाचनमा सिसाखानीको पुल बनाउने बाचा गरेको स्मरण गदै विभिन्न कारणले अल्झेको भन्दै चाँडै काम हुने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया