ad ad

राजनीति


गठबन्धनका उम्मेदवारलाई भोट नदिए मुलुक संकटमा जान्छ : रामचन्द्र पौडेल

गठबन्धनका उम्मेदवारलाई भोट नदिए मुलुक संकटमा जान्छ : रामचन्द्र पौडेल

फाइल तस्बिर


नेपालखबर
कात्तिक ५, २०७९ शनिबार ८:१७, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनका उम्मेदवारहरूलाई भोट दिएर नजिताए मुलुक संकटमा जाने टिप्पणी गरेका छन्। वाम गठबन्धनको तर्फबाट शुक्रबार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो टिप्पणी गरेका हुन्। 

‘गठबन्धनलाई भोट दिएर नजिताए यो मुलुक संकटमा पर्न जान्छ, यो मुलुक अस्थिरताको भुमरिमा जाकिन्छ। त्यसैले मुलुकमाथि खेलवाड गर्न चाहने शक्तिको विरुद्ध, प्रतिगामी तत्वहरुको बिरुद्ध यो गठबन्धन हो,’ पौडेलले सम्बोधनको क्रममा भने, ‘यहाँ कांग्रेस, कम्युनिष्ट दुईधार होइन, यहाँ गठबन्धन जित्ने हो। अग्रगामी शक्ति जित्ने हो।’

गठबन्धनका लागि सत्ता नभई व्यवस्था महत्वपूर्ण रहेको पौडेलको भनाई छ। कांग्रेसका वरिष्ठ नेता समेत रहेका पौडेलले ५ दलको गठबन्धनले राष्ट्र जोगाउने, देशमा राजनीति स्थिरता ल्याउने  बताए। उनले देशमा सुशासन ल्याउने कबुल गठबन्धनले गरेको बताए। 

देशलाई सुशासन चाहिएको भन्दै सुशासन कायम नहुँदा जनता निराश बनेको उनले बताए। ‘हामी ५ दल काँग्रेस, माओवादी लगायत ५ दलको गठबन्धन हो यो। यो ५ दलको गठबन्धनले राष्ट्र जोगाउँछ। देशमा राजनीति स्थिरता ल्याउँछ,’ उनले भने, ‘देशमा सुशासन ल्याउने कबुल गरेको छ। हाम्रो देशलाई सुशासन चाहिएको छ। आज देश, जनता निराश छन्, यो सुशासनको कमीले गर्दा सुशासनको खोजिमा लाग्नुपर्छ।’

उनले अब देशमा सुशासन ल्याउने हिम्मत गठबन्धनले ल्याउने भन्दै परिवर्तनका वाहक गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने बताए।

नेता पौडेलले नयाँ नेपाल बनाउने संकल्प लिएर गठबन्धन निर्वाचनमा गएको भन्दै गठबन्धन सामान्य राजनीतिक तालमेल मात्र नभएको जिकिर गरे। 

‘सानातिना कुरामा नअल्झिनुहोला। अतितका कुरा छोड्नुहोस्, अब नयाँ बाटोमा हामी जानुपर्छ। नयाँ नेपाल बनाउने हो। नयाँ संकल्प लिएर अब यो गबठन्धन आएको छ। यो गठबन्धन सामान्य राजनीतिक तालमेल मात्रै होइन, केवल सत्ताको बाँडफाँट मात्रै होइन, सत्ताको भागवण्डा मात्रै होइन, आज व्यवस्था बचाउने गठबन्धन हो यो,’ पौडेलले भने, ‘सत्ता होइन, व्यवस्था हाम्रो लागि महत्वपूर्ण छ। व्यवस्था बचाउनु पर्छ। सत्ताका खेल मलाई थाहा छैन। म व्यवस्था बचाउने खेलको लागि समर्पित छु। लोकतन्त्रलाइृ खल्बलिन दिनुहुँदैन। सहकार्य, सहमति र एकता आजको आवश्यक्ता हो।’

उनले पार्टीभित्रका सानातिना मनमुटाव परित्याग गर्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन्। ‘पार्टीभित्रका सानातिना मनमुटाव पनि परित्याग गर्नुहोस्। धेरै ठूलो उद्देश्यका लागि साना शर्त हामीले छोड्न तयार हुनुपर्छ,’ उनले भने, ‘जनतामा आएको सत्ता फेरि फुत्केर अन्त जाला यसलाई बचाउने कुरामा लाग्नुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .