नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्ने बताएका छन्।
काठमाडौं–५ मा पर्ने बूढानीलकण्ठ नगरपालिका–५ को वडा कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यक्रम सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थालाई राजनीतिको दाउपेचबाट माथि राख्नुपर्नेमा बताएका हुन्।
कार्यकारी भूमिकामा रहेका व्यक्तिहरुको निगरानी अख्तियारले गर्न नपाएको बताउँदै पौडेलले भने, ‘कार्यकारी भूमिकामा रहेका मानिसहरुको काममा निगरानी गर्न नपाउने हो भने अख्तियारको के काम? कसरी भ्रष्टाचार रोकिन्छ?’
स्वतन्त्र र निष्पक्ष व्यक्तिले नेतृत्व गरेमा मात्रै अख्तियारले उचित ढंगले काम गर्न सक्ने उनको भनाइ थियो। ‘स्वतन्त्र र निष्पक्ष मान्छेहरुले नेतृत्व गरे मात्रै अख्तियारले राम्रोसँग अनुसन्धान गर्न सक्द,’ उनले भने, ‘त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिको छायाबाट मुक्त हुनु पर्दछ।’
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको पनि नेता पौडेलले आरोप लगाए। उनले आफूसँग प्रतिष्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले सरकारमै सहभागी भए पनि न्यायालयमाथि हस्तक्षेप हुँदा प्रतिरोध गर्न नसकेको आरोप टिप्पणी गरे।
‘न्यायालय माथिको नांगो हस्तक्षेप छ। केपी शर्मा ओलीले दुईतिहाइको सरकार बनाउनुभयो। उहाँहरु ईश्वर पोखरेलहरु सरकारको नेतृत्वमा हुनुहुन्थ्यो। उहाँहरुले नै दुईतिहाइको शक्ति प्रयोग गरेर अदालतमाथि पनि हस्तक्षेप गर्नुभयो’ पौडेलले भने, ‘त्यसैले न्यायालयको निष्पक्षताको निमित्त पनि हामीले कामहरु गर्नेछौँ।’
Shares

प्रतिक्रिया