नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन्।
राष्ट्रपतिभवन शीतलनिवासमा शुक्रबार आयोजित एक समारोहमा नयाँ अमेरिकी राजदूत थम्पसनले ओहदाको प्रमाणपत्र बुझाएका हुन्।
ओहदाको प्रमाणपत्र पेश गरेपछि एक वक्तव्य जारी गर्दै राजदूत थम्पसनले नेपालमा राजदूतका रुपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय रहेको उल्लेख गरेका छन्।
‘यस अवसरले मलाई विनयशील बनाएको छ, म सार्वभौमसत्ता र साझा मूल्यमान्यताको सम्मानमा आधारित संयुक्त राज्य अमेरिका तथा नेपालबीचको सम्बन्धप्रति अटल प्रतिबद्धताका साथ सेवा गर्न कटिबद्ध छु,’ उनले भनेका छन्।
राजदूत थम्पसनले अहिलेको क्षण अमेरिका र नेपाल दुई मुलुकका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।
‘म हाम्रो समयका सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न सबै नेपालीहरूसँग सहकार्य गर्न उत्सुक छु’ उनले वक्तव्यमा भनेका छन्।

आगामी वर्षमा अमेरिकाले नेपाललाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्य हासिल गर्न सहयोग गरिरहने उनले प्रतिद्धता जनाए।
‘जलवायु सङ्कटले हिमालय क्षेत्रमा प्रभाव पारिरहँदा हामी नवीन कार्यक्रम र साझेदारीमार्फत नेपालको जलवायु उत्थानशीलतालाई बलियो बनाउन मद्दत गर्नेछौँ', उनले भनेका छन्, 'अन्त्यमा, नागरिक समाज, स्वतन्त्र मिडिया र सरकारसँग सहकार्य गर्दै हाम्रा दुई देशले भ्रष्टाचार, दुष्प्रचार र दमनबाट मुक्त रही निरन्तर लोकतन्त्रको रक्षा र जनताको इच्छाशक्तिलाई सुदृढ गर्नेछन्।’
अमेरिका र नेपालबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षमा आफ्नो कार्यकालभन्दा अगाडि हेर्दै आगामी ७५ वर्षको सफलताले पछिल्ला ७५ वर्षका ठूलाभन्दा ठूला उपलब्धिलाई उछिन्नेमा आशावादी रहेको उनले बताएका छन्।
Shares

प्रतिक्रिया