राजनीति


मसालबाट विद्रोह गरेको समूहले ब्युँतायो मोटो मशाल

मोहनविक्रम र चित्रबहादुरलाई निष्कासित गरेको घोषणा
मसालबाट विद्रोह गरेको समूहले ब्युँतायो मोटो मशाल

पत्रकार सम्मेलमा मोटो मशालका नेताहरु। इन्सेटमा चित्रबहादुर केसी र मोहनविक्रम सिंह


नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १३:४०, रुपन्देही

नेकपा मसाल औपचारिक रुपमा विभाजित भएको छ। उक्त पार्टीबाट विद्रोह गरेर अलगिएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गरेको छ।

विशेष महाधिवेसनका निर्णय बिहीबार बुटवलमा सार्वजनिक गर्दै उक्त समूहले मशालका महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई पार्टीबाट निस्कासित गरिएको जनाएको छ। 

पार्टीको नाममा मोटो ‘श’ प्रयोग गर्दै नेकपा मशाल राखिएको पत्रकार सम्मेलनमा बताइएको छ। 

विशेष महाधिवेशनले शन्तबहादुर नेपालीलाई नेकपा मशालको महासचिव चयन गरेको छ। 

पार्टी प्रमुखलाई महामन्त्री पदावली दिँदै आएको मशालले अबदेखि महासचिव प्रयोग गर्ने मशालले जनाएको छ। 

पार्टी नेतृत्वले दक्षिणपन्थी नीतिको अभ्यास गर्दै आठौ पार्टीलाई विसर्जनतर्फ लगेकाले आफूहरुले अर्को निर्णय गर्नुपरेको नेकपा मशालका महासचिव नेपालीले बताए। 

‘पार्टीभित्रका क्रान्तिकारीहरुले लामो समयदेखि नेतृत्वका गलत नीति सच्याउन गरेको प्रयास मसालको नेतृत्वले नसुनेकाले सातौँ महाधिवेशनको कार्यदिशालाई अगाडि बढाउन विद्रोहबाहेक अन्य विकल्प थिएन’, उनले भने। 

नेपाली नेतृत्वको मशालले विचार र राजनीतिमा समान भएका पक्षसँग एकीकरण तथा ध्रुवीकरणका लागि पहल गर्ने जनाएको छ। 

महासचिव नेपालीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द 'विप्लप'समूहबाट विभाजित नेकपा बहुमतसँग मिल्न सकिने बताए। 

मशालले आगामी मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने जनाएको छ। कात्तिक महिनाभर बहिष्कार आन्दोलनको कार्यक्रम तय भएको नेपालीले जानकारी दिए। 

तर भविष्यका चुनाव उपयोग पनि गर्न सकिने भन्दै त्यसका लागि दक्षिणपन्थी संशोधनवादसँग कार्यगत एकता मात्र गर्न सकिने मशालले जनाएको छ। 

विशेष महाधिवेशनले नेपालीलाई महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको ३५ सदस्यीय केन्द्रीय समिति चयन गरेको बताइएको छ। 

१५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ। २ सय जनाको राष्ट्रिय परिषदसमेत गठन गरिएको मसालले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad