ad ad

राजनीति


चितवन १ : राजेन्द्र बुर्लाकोटीको साथ मिलेपछि विश्व पौडेल उत्साहित

सजिलो छैन एमालेका सुरेन्द्र पाण्डेलाई
चितवन १ : राजेन्द्र बुर्लाकोटीको साथ मिलेपछि विश्व पौडेल उत्साहित

बागी उम्मेदवारीबाट हटेका राजेन्द्र बुर्लाकोटीसँग विश्व पौडेल


केशव सावद
कात्तिक १, २०७९ मंगलबार १३:२९, काठमाडौँ

सोमबार पौने ५ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सञ्चारकर्मीका लागि सूचना दिन प्रयोग गर्दै आएको ‘पीएम प्रेस रुम’ नामक ह्वाट्सएप ग्रुपमा चितवनका नेता राजेन्द्रप्रसाद बुर्लाकोटीको प्रेस विज्ञप्ति आयो। 

विज्ञप्तिसँगै दुईवटा तस्बिर पनि प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले उक्त ग्रुपमा पठाएका थिए।

जसमध्ये एउटा तस्बिरमा नेता बुर्लाकोटी र राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. विश्वनाथ पौडेल अंगालो हालेर मुस्कुराइरहेका देखिन्थे। 

मुस्कुराउनुको कारण थियो– प्रधानमन्त्री देउवाले बुर्लाकोटीलाई बालुवाटारमै बोलाएर चितवन–१ मा प्रतिनिधिसभा सदस्यका लागि दर्ता गरिएको मनोनयन निष्क्रिय बनाउन गरेको आग्रह। 

र, स्वतन्त्र उम्मेदवारका रुपमा दर्ता भएको मनोनयन निष्क्रिय गरेपछि पार्टीका आधिकारिक उम्मेदवार डा. पौडेल मुस्कुराउनु स्वाभाविकै थियो। 

‘पार्टीले मलाई सम्मानजनक भूमिका दिने विश्वास दिलाएकाले चितवन–१ मा मेरो स्वतन्त्र उम्मेदवारी आजकै मितिदेखि निष्क्रिय भएको घोषणा गर्दछु,’ बुर्लाकोटीले विज्ञप्तिमा भनेका छन्, ‘साथै आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्ने छु।’

उत्साह
६३ वर्षीय नेता बुर्लाकोटीले आफूलाई साथ र सहयोग गर्ने सबैलाई पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेपछि डा. पौडेल उत्साहित देखिएका छन्। 

उनले नेपालखबरसँगको कुराकानीमा बुर्लाकोटीको उम्मेदवारी निष्क्रिय भएपछि चितवन–१ मा कांग्रेस नेता–कार्यकर्तासँगै आफू पनि उत्साहित भएको प्रतिक्रिया दिएका छन्। 

‘उत्साह आएको छ। एकजुट भयौँ। नेता–कार्यकर्ता सबैले जीत सुनिश्चित भयो भनिरहनुभएको छ,’ बुर्लाकोटीको साथ पाएपछि चितवन–१ को चुनावी माहोलबारे पौडेलले भने। 

उनी मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनेमा ढुक्क देखिन्छन्। ‘नेपाली कांग्रेस एक परिवार हो। उहाँ (बुर्लाकोटी) ले उम्मेदवारी निष्क्रिय पारेपछि पार्टी अविछिन्न रह्यो,’ पौडेलले भने, ‘पार्टी अविछिन्न रह्यो भने त चुनाव जितिन्छ। फेरि गठबन्धनका साथीहरुको पनि साथ–सहयोग राम्रो छ।’

देउवाको आश्वासन
सत्ता गठबन्धनले उनलाई कांग्रेसकातर्फबाट आधिकारिक उम्मेदवार बनाएपछि बुर्लाकोटीले ‘बागी’ दिएका थिए। निर्वाचन आयोगले तोकेको समयावधिभित्र  उम्मेदवारी फिर्ता नलिए पनि उनी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको आग्रहमा पछि हटेका हुन्। 

बुर्लाकोटी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका नेता सुरेन्द्रप्रसाद पाण्डेसँग १५ हजार बढी मतान्तरले पराजित भएका थिए। 

२०७४ मा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल थियो। उक्त निर्वाचनमा १ लाख १९ हजार ९९८ मतदातामा ८९ हजार ७५२ मत खसेको थियो। 

बुर्लाकोटी २०७० को संविधानसभा निर्वाचनमा पनि एमालेका पाण्डेसँगै हारेका थिए। उक्त निर्वाचनमा पाण्डे १८ हजार ७६० मतसहित संविधानसभा सदस्यमा विजयी हुँदा बुर्लाकोटीले १३ हजार ७४५ मत ल्याएका थिए। 

दोस्रो संविधानसभा निर्वाचनमा चितवन–१ मा ५३ हजार ९७२ मध्ये ४३ हजार ३१९ मत खसेको थियो। 

स्थानीयको अंकगणित
निर्वाचन आयोगले चितवनका राप्ती, खैरहनी र रत्ननगर नगरपालिकाको भूगोल समेटेर निर्वाचन क्षेत्र नम्बर १ बनाएको छ। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा चितवन–१ मा पर्ने तीनै नगरपालिका प्रमुखमा सत्ता गठबन्धन विजयी भएको थियो। 

राप्तीमा नेकपा एकीकृत समाजवादीका शमशेर लामा १२ हजार ५२४ मतसहित नगर प्रमुखमा विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका गोविन्दप्रसाद कँडेलले १२ हजार ५१ मत पाए।

खैरहनीमा कांग्रेसका शशीकुमार खनियाँ १४ हजार ५४५ मतसहित नगर प्रमुखमा विजयी हुँदा एमालेका लालमणि चौधरीले १३ हजार ६९५ मत प्राप्त गरे।

यस्तै रत्ननगर नगरपालिका प्रमुखमा पनि कांग्रेसकै प्रलाद सापकोटा २० हजार ७९६ मतसहित विजयी भए। यहाँ एमाले उम्मेदवार विमलादेवी दवाडी १२ हजार ७२८ मतमा सीमित भइन्। 

स्थानीय तह निर्वाचनमा नगर प्रमुखका उम्मेदवारहरुको मतलाई आधार मान्दा चितवन–१ मा सत्ता गठबन्धनको ४७ हजार ८६५ र एमालेको २८ हजार ४७४ मत देखिन्छ। 

यस्तै स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा चितवन–१ मा एमालेको ३९ हजार ६०६, कांग्रेसको ३६ हजार ७८३, माओवादीको ५ हजार ५०८, राप्रपाको ४ हजार ५९० र एकीकृत समाजवादीको ४ हजार ५ मत छ। यहाँ सत्ता गठबन्धन र एमालेको मतान्तर ६ हजार ६९० देखिन्छ। 

आसन्न निर्वाचनमा एमालेले यो क्षेत्रमा साविक विजेता पाण्डेलाई नै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। 

यहाँ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अजय ठाकुर हजाम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मधुपकुमार भट्टराई, नेपाल मजदुर किसान पार्टीबाट अर्जन प्रजा, नेपाल सुशासन पार्टीबाट गोविन्दप्रसाद रिजाल, मंगोल नेशनल अर्गनाइजेसनबाट कुमारी थिङ, एकीकृत शक्ति नेपालबाट नवीन खड्का र स्वतन्त्र उम्मेदवार १० जना प्रतिष्पर्धामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .