राजनीति


धरानसहितको सुनसरी १ मा हर्कले जस्तै स्वतन्त्रले जिते अनौठो हुँदैन

दुवै गठबन्धनका लागि चुनौती बन्दै मनोज र कुमार
धरानसहितको सुनसरी १ मा हर्कले जस्तै स्वतन्त्रले जिते अनौठो हुँदैन

फाइल तस्बिर


सुमन पुरी
असोज ३१ , धरान

मंसिर ४ को प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा चौपक्षीय प्रतिस्पर्धा हुने भएको छ। 

क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो र नेकपा एमाले–जनता समाजवादी पार्टीका तर्फबाट अशोक राई प्रतिस्पर्धामा छन्। 

जयकुमार राईको टिकट खोसेर एमालेले सुनसरी १ जसपालाई दिएपछि विद्रोह गर्दै धरान नगरपालिकाका पूर्वमेयरसमेत रहेका मनोज मेयाङ्बोले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

नेपाल बस्ती बसोबास संरक्षण समाजका केन्द्रीय अध्यक्षसमेत रहेका कुमार कार्की पनि स्वतन्त्र उठेर ठूला दललाई चुनौती दिन तयार छन्। 

उम्मेदवारका आकांक्षी मनोज मेयाङ्बो एमाले गठबन्धनमा गएपछि स्वतन्त्र उम्मेदवार बनेका हुन्। उनलाई एमालेकै एउटा पंक्ति र धरानका पुराना रैथानेले साथ दिएका छन्। 

यस्तै दुई दशकदेखि सुकुम्बासीका समस्या समाधान गर्न आन्दोलित कुमार पनि सुनसरी १ का बलियो छन्। 

भूगोल र मतदाता
सुनसरी १ मा पर्ने धरान उपमहानगरपालिकामा एमाले र कांग्रेसको संगठन बलियो छ। तर दुवै दलको उम्मेदवार नहँुदा स्वतन्त्रले जिते अनौठो हुँदैन।

यो क्षेत्रमा धरान उपमहानगरपालिका सबै, बराहक्षेत्र नगरपालिकाको १, २, ३, ४, ५ वडा र रामधुनी नगरपालिकाको ६ र ७ वडा पर्छन्। 

सुनसरी १ मा एक लाख ४१ हजार ८७८ मतदाता छन्। तीमध्ये सबैभन्दा बढी धरानमा १ लाख ४ हजार छन्। बराहक्षेत्रमा २७ हजार ८६ र रामधुनीमा  १० हजार ६७४ मतदाता छन्। 

एमालेबाट विद्रोह गरेर स्वतन्त्र उठेका मनोज मेयाङ्बो

सुकुम्बासीका साथी 
२०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा विजयी तारा सुब्बाको डेढ वर्षपछि  निधन भयो। उनको निधनपछि भएको उपनिर्वाचनमा कम्युनिष्टको गढ भत्काउँदै कांग्रेसका तिलक राईले मेयर जिते।

उनले जित्नुको प्रमुख कारण थियो, कम्युनिष्टको भोट बैंक सुकुम्वासीद्वारा तत्कालीन नेकपाका उम्मेदवारालाई असहयोग। त्यसबेला माओवादी र एमाले एक थिए। नेकपाबाट उम्मेदवार बनेका प्रकाश राईलाई मत हाल्न सुकुम्वासीहरु गएनन्। 

उपनिर्वाचनको मतगणना चलिरहँदा प्रकाश पछाडि परेपछि सुकुम्वासीहरुले विद्रोह गरेको चर्चा सुरु भयो। सुकुम्वासीलाई मतदानस्थलमा लैजान तत्कालीन नेकपाका नेताहरु टोल टोलमा पुग्दा पनि मानेनन्। 

५ महिनाअघि सम्पन्न निर्वाचनमा पनि सुकुम्वासीहरुले एमाले र सत्ता गठबन्धनलाई असहयोग गरे।

उनीहरुले स्वातन्त्र उम्मेदवार हर्क साम्पाङलाई सहयोग गरेको धरानमा चर्चा छ। जसकारण कम्युनिष्टको गढमा स्वतन्त्र हर्कको उदय भयो। कम्युनिष्ट पृष्ठभूमिका उनले धरानको कमाण्ड सम्हालिरहँदा ठूला दल जिल्लिएका छन्।

हर्क जस्तै यस पटकको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुन् कुमार कार्की। 

सुकुम्वासी समस्या समाधानमा सक्रिय कार्कीलाई यहाँ बलियो प्रतिस्पर्धी मानिएको छ। 

२०६१ सालमा नेपाल बस्ती बसोबास संरक्षण समाज धरान नगर सचिव भएपछि उनी विभिन्न कमिटिहरुमा बसेर काम गरिरहेका छन्। सुनसरी अध्यक्ष, केन्द्रीय सदस्य, महासचिव हुँदै अहिले केन्द्रीय अध्यक्षको भूमिकामा छन्। 

सुकुम्वासीलाई निःशर्त स्थायी धनीपूर्जा दिनुपर्ने उनको पहिलो चुनावी एजेण्डा हो। आफ्नो चाहनाले मात्रै नभइ सुकुम्वासीको आग्रहमा उम्मेदवार भएको बताउँदै आएका छन्। 

धरानमा मात्रै २४ हजार ८ सय मत सुकुम्वासीको रहेको अनौपचारिक तथ्यांक छ। बराहक्षेत्रमा ९ हजार हाराहारी सुकुम्वासी मत रहेको तथ्यांक वस्ती संरक्षण समाजमा छ। यसअनुसार सुनसरी १ मा ३४ हजार हाराहारी मत सुकुम्वासीको छ।

कुनै बेला कम्युनिष्टको भोट बैंक सुकुम्वासी पनि राजनीतिक रुपमा विभाजित छन्। यसको प्रत्यक्ष फाइदा कुमारले उठाउन सक्छन्। 

सुकुम्वासी बस्तीलाई भोट बैंक बनाउने आकंक्षासाथ धरानका दलहरु सबैले त्यहाँ संगठन बनाएका छन्। तर दलकोभन्दा कुमारको व्यक्तिगत प्रभाव सुकुम्वासीमा धेरै छ।

धरानका वडा नम्बर ५ को देउराली, १५ को बगरकोट, खोरिया र गणतन्त्र बस्तीमा सुकुम्वासीको बाक्लो बसोबास छ।

यस्तै वडा नम्बर १६ को नौलो बस्ती, सिमाना बस्ती र लोकतान्त्रिक बस्ती १७ नम्बर वडाको, डाँडा घोपा, फोकल्याण्ड टापु रेलवे लाइनमा रहेका सुकुम्वासीको मत जसले तान्यो परिणाम उसैतर्फ जान सक्छ। 

यस्तै वडा नम्बर ११ को नगरकोट, लालबस्ती र सगरमाथा टोल पनि सुकुम्वसी बस्ती हुन्। यसबाहेक वडा ७ र १५ मा पनि सुकुम्वासी मत छ। ती सबै बस्तीमा कुमार २० वर्षदेखि दौडिरहेका छन्। 

सुकुम्वासी बस्ती हटाउन खोज्दा उनी प्रतिकारमा उत्रिएका छन्। सुकुम्वासी समस्या समाधान आयोगहरुले काम गर्दा दर्ता प्रक्रियामा लैजान सहजीकरण गरेका छन्। यसले उनी सुकुम्वासीका अभिभावकका रुपमा चिनिन्छन्। 

अर्का स्वतन्त्र उम्मेदवार कुमार कार्की

धरानको विकासमा मनोज मोडल 
धरानको पहिलो पहिचान लाहुरेसँग जोडिन्छ। वि.सं. २०१० मा बेलायत सरकारले पुर्वाञ्चलका लागि गोरखा भर्ती केन्द्र (ब्रिटिश क्याम्प) धरानमा खोलेपछि आधुनिक विकास सुरु भएको हो। 
०१७ मा धरानलाई नगरपालिका घोषणा गरी ०१८ मा कोशी अञ्चलको सदरमुकाम नै तोकिएको थियो।

भर्ती केन्द्र खोलिएपछि धरानमा बेलायती उच्च अधिकारी र गोरखा सैनिकहरुको जमघट बढ्दै गयो। लाहुरेले पूर्वी पहाडबाट परिवार धरानमा ल्याउन थाले। विदेश बसेर त्यहाँको संस्कार, सभ्यता र रहनसहन बुझोका लाहुरेले धरानको विकासमा योगदान दिए। 

बहुदल आएपछिको पहिलो स्थानीय निकाय निर्वाचनबाट धरानको मयर बने ध्यानबाहदुर राई। त्यसबेला उपमेयरमा मनोज मेयाङ्बो निर्वाचित भए। 

त्यसबेला धरानको विकासमा जनसहभागिता मोडेल सुरु गरे तत्कालीन मेयर ध्यानबहादुरले। धरानको विकासमा जनसहभागिता २०३५ देखि नै सुरु भएको हो।

तर, त्यसको सफल कार्यान्वयन मेयर भएपछि मनोज मेन्याङ्बोले गरे। जनसहभागिताको सक्रिय शुरुवात ०५५ देखि भएको नगरपालिकाले जनाएको छ। 

लागत जनसहभागिता सुरुका दिनमा उपभोक्ताको २५ र नगरपालिकाको ७५ प्रतिशतबाट भयो। त्यसपछि जनताको ४० प्रतिशत र सरकारको ६० प्रतिशत लागतका आधारमा योजना अघि बढे। 

त्यसपछि धरानमा नगरपालिका  र जनताको लागत सहभागिता ५०/५० प्रतिशत भयो। यो मेडलले धरानमा चिल्ला सडक बने। 

धरानमा ६० प्रतिशत जनताको र ४० प्रतिशत उपमहानगरपालिकाको लगानी गरेर नमूना सडक बनेका छन्। यसलाई धराने विकास मोडल भनिन्छ।

यसको सफल कार्यान्वयन मनोज मेयर भएका बेला भएको धरानका एकजना अगुवा राजेन्द्र शर्मा बताउँछन्। 

आर्थिक वर्ष २०५६/५७ मा तत्कालीन धरान नगरपालिकाको तेस्रो नगर परिषद्बाट ‘धरानलाई दुई दशकभित्र शिक्षा, स्वास्थ्य र पर्यटनको पूर्वाधारयुक्त सहर र सांस्कृतिक केन्द्र बनाउने’ दीर्घकालीन दृष्टिकोण तय गरियो। 

यही दृष्टिकोणबाट अहिलेको धरान भएको बताउनेहरु धेरै छन्। अहिले तिनी विकासे मोडल कार्यान्वयन गर्ने मनोज प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुन्। 

मनोनयन दर्ताको अघिल्लो दिनसम्म एमालेमा रहेका मनोजलाई अहिले बागी उम्मेदवारका रुपमा हेरिन्छ। तर, एमाले नेता मोतीराज सुनुवार जसपासँगको गठबन्धनका उम्मेदवार अशोक राई नै भएको बताँउछन्। 

धरानमा अनौठो के छ भने मनोजको चुनावी अभियानमा एमालेकै नेता कार्यकर्ता जुटेका छन्। धरानको पुरानो पुस्ताले पनि मनोजलाई सहयोग गरिरहेका छन्। 

सत्ता गठबन्धनका उम्मेदवार मुक्सहाङ मेन्याङ्बो ‘मुकेश’

गठबन्धनको शक्ति 
सत्ता गठबन्धनबाट प्रतिनिधिसभातर्फ माओवादीका नेता मुक्सहाङ मेन्याङ्वो ‘मुकेश’ मैदानमा छन्। 

उनी माओवादीको भूमिगत राजिनीतिबाट आएका हुन्। माओवादीको सुनसरी इन्चार्ज हुँदै केन्द्रीय सदस्य पनि भइसकेका छन्। माओवादीको जातीय संस्था लिम्बूवान मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पनि हुन्। 

सुनसरी १ मा सत्ता गठबन्धनले बराहक्षेत्र नगरपलिकाको मेयर जितेको छ। धरान उपमहानगरको उपमेयर पनि सत्ता गठबन्धनसँगै छ। यस क्षेत्रका २७ वडामध्ये  एमालले १३ वटा वडामा अध्यक्ष जितेको छ। 

कांग्रेसले ११ वटा वडा जितेको यहाँ माओवादीले एउटा, राप्रपाले एउटा र स्वतन्त्र एकजना विजयी भएका छन्। 

एमालेसँग मिलेर प्रतिनिधिसभामा उम्मेदवारी दिएको जनता समाजवादीले यस क्षेत्रबाट एकजना पनि जनप्रतिनिधि जित्न सकेन। 

स्थानीयको मत
स्थानीय तह निर्वाचनलाई हेर्दा एमालेले वडागत रुपमा ३३ हजार ४५३ मत पाएको छ। सत्ता गठबन्धनबाट कांग्रेसले २४ हजार ९२१ मत पाएको छ। माओवादीका वडाअध्यक्षका उम्मेदवारलाई ४ हजार ७५४ मत परेको छ। यस्तै राप्रपाको वडागत मत ३ हजार ६४ छ। 

वडागत मत हेर्दा एमाले अगाडि देखिन्छ। तर, स्थानीय तहले मात्रै प्रतिनिधिसभाको परिणाम आकलन गर्न कठिन छ। धरानको मतपरिणाम आकलन गर्ने अर्को ‘फ्याक्टर’ हो जातीय सन्तुलन। 

गोरेबहादु खपाङ्गीले धरानबाट ०५१ सालमा उम्मेदवारी दिएसँगै जातीय राजनीति सुरु भएको त्यहाँका अगुवा बताँउछन्। 

यसको मलजल अहिलेसम्म भइरहेको छ। आदीवासीबीच पनि धरानमा विभाजन छ। राई र लिम्बूबीचसमेत मत मिल्ने गरेको छैन।

सत्ता गठबन्धनबाट लिम्बू उम्मेदवार छन् भने एमाले गठबन्धनबाट राई। स्वतन्त्र उम्मेदवार मनोजसमेत हुँदा लिम्बू मत विभाजन भएर अशोक राईलाई फाइदा हुन सक्छ। 

तर चुनावका बेला मात्रै धरान आउने जसपा नेता राईलाई जातीय मतले मात्रै चुनाव जिताउन मुस्किल छ।

हेभिवेट भए पनि राईको चुनावी कमाण्ड हाँक्ने जसपाको संगठन धरानमा दिनदिनै खस्किँदो छ। २०७४ को स्थानीय तह निर्वाचनसँगै जसपाको संगठन सुनसरी १ मा कमजोर भएको हो। 

जसपा केन्द्रीय सदस्य यमुना गुरागाईँ योशाले क्षेत्र नम्बर १ मा पार्टी संगठन पहिलेभन्दा बलियो हुँदै गएको बताउँछिन्। उनले एमालेसँगको गठबन्धनबाट चुनाव जित्ने दावी गरिन्। 

एमाले-जसपा गठबन्धनका उम्मेदवार अशोक राई

०७४ को हिसाब
सुनसरी १ बाट ०७४ मा एमालेका उम्मेदवार जयकुमार राई विजयी भए। उनले अहिले पनि मैदानमा उत्रिएका जसपा नेता अशोक राईलाई हराए। अशोकलाई कांग्रेसले सघाउँदा एमालेलाई माओवादीको साथ थियो। 

राईले ४४ हजार ५ सय २८ मत ल्याए। उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका अशोक राईले २२ हजार १ सय २३ मत प्राप्त गरे। एमालेका जयकुमारले अशोकलाई २२ हजार ४ सय ५ मतको भारी अन्तरले हराएका थिए।

प्रदेशसभातर्फ दुवै क्षेत्रमा एमाले विजयी भएको थियो। प्रदेश ‘क’तर्फ वाम गठबन्धनबाट 

एमालेका प्रदीप भण्डारी विजयी भए। उनले १९ हजार २४३ मत ल्याए। पराजित कांग्रेसका किशोर राई १३ हजार ७७० मतमा समेटिए। 

‘ख’ मा भने एमालेकै भीम आचार्य विजयी भए। उनले प्रदेशसभा ‘ख’ बाट २० हजार २११ मत पाए। प्रदेश १ को मुख्यमन्त्री पनि भएका उनी अहिले सुनसरी २ बाट प्रतिनिधिसभाको दौडमा छन्। 

असोज ३१, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.