ad ad

राजनीति


गिरीराजमणिको क्षेत्रमा ३५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

गिरीराजमणिको क्षेत्रमा ३५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

नेपालखबर
असोज २८, २०७९ शुक्रबार ७:२४, काठमाडौँ

महोत्तरी क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ।  

सत्तारुढ गठबन्धनबाट यो क्षेत्रमा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेल प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। 

बिहीबार दिउँसो बर्दिबासमा भएको माओवादी केन्द्रको निर्वाचन क्षेत्र स्तरीय अगुवा कार्यकर्ता भेलाले पार्टीका पोलिटब्युरो सदस्य दीपबहादुर योञ्जनको संयोजकत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको हो। 

केही सयमअघि मात्रै एमालेको केन्द्रीय सदस्य छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका टेकबहादुर बलंपाकी निर्वाचन परिचालन समितिको सह–संयोजक चयन भएका छन्। उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। 

त्यस्तै माओवादीका केन्द्रीय सदस्यद्वय भवानी थापा र निसा साहलाई पनि भेलाले निर्वाचन परिचालन समितिको सह–संयोजक चयन गरेको छ। 


 
नेता पोखरेल महोत्तरी १ मा चौथोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन्। स्थानीय तह निर्वाचनमा महोत्तरी १ मा वडाध्यक्षहरुले पाएको मत हेर्दा यो क्षेत्रमा माओवादी केन्द्र नै सबैभन्दा बलियो शक्ति देखिएको छ। 

यो क्षेत्रमा एमालेले नव प्रवेशी लक्ष्मी महतोलाई उम्मेदवार बनाएको छ। महतो निर्वाचनको अघिल्लो रात उपेन्द्र यादव नेतृत्वको जसपा परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए। 

पार्टी प्रवेश गर्नासाथ एमाले नेतृत्वले महतोलाई संघीय सांसदको टिकट दिएको हो। ०७४ को निर्वाचनमा पनि महतो मधेशवादी गठबन्धनबाट उम्मेदवार बनेर पोखरेलसँगै पराजित भएका थिए। 

महोत्तरी १ मा पोषण थापाले स्वतन्त्रमा पनि उम्मेदवारी दिएका छन्। थापा यातायात कार्यालय बर्दिबासको प्रमुखबाट राजीनामा दिएर चुनावमा होमिएका हुन्।
 
भेलामा नेता पोखरेलले आफूले महोत्तरी १ मा तीनपटक चुनाव जितेपछि सांसद र मन्त्रीपदमा रहँदा गरेका कामहरुको चर्चा गरेका थिए। 

‘महोत्तरीमा हामीले स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारको क्षेत्रमा धेरै काम गरेका छौँ,’ पोखरेलले भने, ‘कतिपय कामहरु अधुरा छन्। तिनलाई पूरा गर्न यसपटक पुनः मलाई पार्टीले उम्मेदवार बनाएको छ।’

महोत्तरी जिल्लास्थित सत्तारुढ गठबन्धनका दलहरुबीचको समझदारीअनुसार बिहीबारसम्म सबै दलले आ–आफ्ना पार्टीको पहिलो चरणको भेला र बैठक सकेका छन्। 

सत्तारुढ गठबन्धनको अब हुने भेलाले निर्वाचन परिचालनको लागि संयुक्त समिति गठन गर्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

भेलामा मधेश प्रदेशको सामाजिक विकासमन्त्री तथा महोत्तरी क्षेत्र नम्बर १ ९ख० का उम्मेदवार भरत साह, माओवादी पोलिटब्युरो सदस्य प्रकाशहरी पोखरेल, जिल्ला संयोजक तथा केन्द्रीय सदस्य तुलसी प्रसाद ढुंगाना, केन्द्रीय सल्लाहकार समितिका सदस्य लालबाबु यादव, अनिल बस्नेतल लगायतले महोत्तरी १ मा विजयका झण्डा फहराउन माओवादीलाई कसैले रोक्न नसक्ने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .