रुस–युक्रेन युद्धबारे बुधबार नेपालले बुधबार राष्ट्रसंघको विशेष सभामा आफ्नो धारणा राखेको छ। राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईले युक्रेन युद्धबारे युक्रेनको पक्षमा आफ्नो धारणा राखेका हुन्।
उनले युक्रेनको विषयमा नेपालको अडान सधैं स्पष्ट रहँदै आएको बताए।
उनले नेपाल सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राजीतिक स्वतन्त्रता र अनाक्रमताको सिद्धान्तमा अडिग रहेको उल्लेख गरे। उनले युक्रेनमा चलिरहेको द्वन्द्वबाट आफूहरु चिन्तित रहेको बताए।
उनले भने, ‘राष्ट्रसंघको चार्टरमा उल्लेख गरिएका यी कुराहरु उल्लंघन गर्न मिल्दैन। यसको लागि कुनै पनि यदि, तर, वा, अथवा भन्ने केही हुँदैन। राष्ट्रसंघका सबै सदस्य राष्ट्रले अन्तर्राष्ट्रिय विवाद शान्तिपूर्णरुपमा सुल्झाउनुपर्छ। यसो गर्न सके मात्र अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र न्याय जोखिममा पर्दैन।’
उनले नेपालको विदेश नीतिको आधार अनाक्रमता, अहस्तक्षेप, सार्वभौमसत्ताको सम्मान, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रता रहेको उल्लेख गरे। ‘यी सिद्धान्तहरु नै विश्वमा शान्ति, सुरक्षा र स्थायित्वको आधार हुन्’, उनले भने।
उनले नेपालले सधैं राष्ट्रसंघको मूल्य मान्यता र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै आएको उल्लेख गर्दै वार्ता तथा शान्तिपूर्ण माध्यमबाट रुस र युक्रेनबीचको विवाद सुल्झाइनुपर्नेमा जोड दिए। नेपालले बुधबार भएको मतदानमा युक्रेनको पक्षमा मत दिएको थियो।
Shares

प्रतिक्रिया