चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपा (एमाले) का अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्।
एमालेले केन्द्रीय कार्यालयले न्यौपानेको उम्मेदवारी फिर्ता लिने निर्णयसहिको पत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाएको थियो।
चितवनका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र आएपछि उम्मेदवारी फिर्ता भएको बताए।
एमाले उम्मेदवार न्यौपानेले उम्मेदवारी फिर्ता लिएपछि सत्तारुढ गठबन्धनविरुद्ध 'बागी' उठेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालालाई समर्थन गरेको छ।
स्रोतका अनुसार एमाले अध्यक्ष ओलीलाई भेट्न कोइराला मंगलबार राति बालकोटस्थित निवासमै पुगेका थिए।
एमाले चितवन अध्यक्ष न्यौपानेले पनि उम्मेदवारीबाट पछि नहट्ने अडानसहित ओलीलाई भेटेका थिए। तर ओलीले कांग्रेस नेता कोइरालालाई सघाउने निर्णय लिएका हुन्।
यो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठ्ने गरेका थिए।
तर उनले छाडेर गोरखा गएपछि यहाँ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी मैदानमा छन्।
Shares

प्रतिक्रिया