ad ad

राजनीति


रौतहटमा माधव नेपाल कति सुरक्षित?

पुरानै प्रतिस्पर्धी अजय गुप्ता मैदानमा
रौतहटमा माधव नेपाल कति सुरक्षित?

जनार्दन पोखरेल
असोज २५, २०७९ मंगलबार १४:४२, सर्लाही

एमालेबाट विद्रोह गरेर नयाँ दल गठन गरेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। 

एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी गठन गठन गरेका नेपालले यसपटक चुनाव जित्न आफ्नै गृहजिल्ला रोजेका हुन्।

०७४ को निर्वाचनमा नेपाल काठमाडौँ २ बाट निर्वाचित भएका थिए। उनले यस पटक काठमाडौं २ माओवादी केन्द्रकी ओनसरी घर्तीलाई जिम्मा लगाएका छन्। 

यो निर्वाचनमा काठमाडौं छाडेर आफ्नै गृहजिल्ला फर्किएका नेपाल पुरानै प्रतिस्पर्धी अजय गुप्तासँग चुनाव लड्दै छन्। 

०७० को दोस्रो संविधान सभा निर्वाचनमा विजय गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमको तर्फबाट माधव नेपालका प्रतिस्पर्धी बनेका गुप्ता यसपटक एमालेबाट माधव नेपालका प्रतिस्पर्धी बनेका हुन्।

यसपटकको निर्वाचनमा रौतहट १ मा मुख्यगरी नेपाल र गुप्ताबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यो क्षेत्रमा जसपाका रेवन्त झाले पनि संघीय संसदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। 

०७० सालको निर्वाचनमा नेपालले गुप्तालाई ३ सय मतान्तरले पराजित गरेका थिए। माधव नेपालसँग पराजित बनेका गुप्ता ०७४ सालको स्थानीय निर्वाचनमा गौरको मेयरमा विजयी बनेका थिए। 

०७४ मा नेता नेपाल वाम गठबन्धन (एमाले–माओवादी) का साझा उम्मेदवार थिए। त्यतिबेला उनलाई काठमाडौंबाट चुनाव जित्न गाह्रो भएन।

तर, यसपटक एमाले फुटाएर आफ्नै नेतृत्वमा नयाँ दल गठन गरेका नेपाललाई रौतहटबाट चुनाव जित्न सहज होला कि नहोला? धेरैले चासोको रुपमा हेरेका छन्।

गएको ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले रौतहटमा चारवटा पालिकामा जित हात पारेको छ। चारमध्ये दुई पालिका नेपालको निर्वाचन क्षेत्र रौतहट १ मा पर्छन्।

गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका र जमुनामाई गाउँपालिका नेता नेपालको निर्वाचन क्षेत्रमा पर्छन्। त्यसैगरी गढीमाई नगरपालिकाका ६, ७ र ८ तथा गरुढा नगरपालिकाको १ नम्बर वडा पनि यही निर्वाचन क्षेत्रमा पर्छ।

गएको स्थानीय तह निर्वाचनमा गौर नगरपालिका र राजदेवी नगरपालिकामा एकीकृत समाजवादी विजयी भएको थियो। एकीकृत समाजवादीका तर्फबाट गौर नगरपालिकाको मेयरमा शम्भु साह र राजदेवी नगरपालिकाको मेयरमा भिखारीप्रसाद यादव विजयी भएका छन्।

स्थानीय तहको निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ अन्तर्गतका वडामा एकीकृत समाजवादीका उम्मेदवारले पाएको मत हेर्दा आफ्नो निर्वाचन क्षेत्रमा माधव नेपाल एक्लै पनि सबैभन्दा बलिया उम्मेदवार हुन्। त्यसमा पनि सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रको साथ उनलाई छ।

कांग्रेसको जनमत आफ्नो पक्षमा पार्न नेता नेपालले रौतहट १ का दुबै प्रदेशका क्षेत्र कांग्रेसलाई छाडेका छन्।

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार रौतहट १ मा एकीकृत समाजवादी नै पहिलो शक्ति हो। रौतहट १ मा एकीकृत समाजवादीका वडाध्यक्षले १८ हजार ५ सय मत प्राप्त गरेका थिए।

त्यसैगरी नेपाली कांग्रेसले १३ हजार ९ सय ४६, लोसपाले १० हजार १ सय ४०, जसपाले ७ हजार ६ सय १७, एमालेले ७  हजार १ सय १७, माओवादी केन्द्रले ६ हजार ६ सय ९१ मत प्राप्त गरेका थिए। 

यहाँ एकीकृत समाजवादी र सत्ता गठबन्धनका दलले पाएको मत हेर्दा माधव नेपाल आफ्ना प्रतिस्पर्धी उम्मेदवारभन्दा निकै बलिया देखिन्छन्।

नेता नेपाल ०५६ र ०७० सालका निर्वाचनमा रौतहटबाटै विजयी बनेका थिए। ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा भने उनी माओवादी उम्मेदवार देवेन्द्र पटेलसँग हारेका थिए।

०७४ को निर्वाचनमा भने नेता नेपालले रौतहटबाट चुनाव लडेनन्। त्यतिबेला उनले काठमाडौं रोज्दा रौतहट १ बाट विजयी हुन लोसपाका अनिल झालाई सहज भएको थियो।

अहिलेको निर्वाचनमा एमालेबाट माधव नेपालका प्रतिस्पर्धी बनेका गुप्ता गएको स्थानीय तह निर्वाचनमा लोसपाबाट गौर नगरपालिकामा मेयरको उम्मेदवार बनेर पराजित भएका हुन्। स्थानीय निर्वाचनमा पराजित बनेपछि उनी लोसपा परित्याग गर्दै एमालेमा प्रवेश गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .