पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिका माहिर खेलाडी मानिन्छन्। ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि कम माहिर खेलाडी होइनन्।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेका बेला जसपा नेता यादवले विहीबार साँझ बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता अगाडि बढाएका छन्। यादव–ओली वार्ताबाट एमाले नेताहरु उत्साहित देखिएका छन्।
एमाले नेताहरुका अनुसार जसपा र एमालेबीच चुनावी तालमेलको ‘फाइनल टच’ आज (शुक्रबार) हुने भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अुनसार २० देखि २२ सिटमा सघाउने गरी दुई दलबीच सहमति हुन लागेको हो।
शुक्रबारै दिनभरमा सहमति भइसक्ने ज्ञवालीले नेपालखबरबलाई जानकारी दिए। उनले भने, ‘करिब २० देखि २२ सिटसम्ममा लगभग सहमति भएको छ। सहमति नजिक भएकाले आज दोहोरो दाबी भएका क्षेत्रमा सहमति गरेर फाइनल गर्छौं।’
एमालेको इच्छा पाँचदलीय सत्ता गठबन्धन टुटोस् भन्ने छ। जसपा नेताहरु पनि कांग्रेस–माओवादीले अपमान गरेको भन्दै एमालेसँग मिल्न तयार देखिएका छन्।
पाँचदलीय सत्ता गठबन्धनबाट जसपा बाहिरियो भने सबैभन्दा बढी खुशी नेकपा एमाले नै हुनेछ। यही कारण एमाले नेताहरु उपेन्द्र यादवका लागि बालकोटमा रातो कार्पेट ओछ्याउन तयार भएका हुन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड उपेन्द्र यादवलाई फकाउन दसैं नभनी खटिरहेकै छन्। टीकाका दिनसमेत बालुवाटारमा जसपा नेतालाई बोलाएर फकाउने प्रयास गरिएको थियो। तर, जसपाले भने एमालेसँग समेत तालमेलका लागि सम्वाद अगाडि बढाइसकेको अवस्था छ।
जसपाका एक नेताले नेपालखबरसँग भने, ‘हामीले गठबन्धनमा सम्मानजनकरुपमा सिट बाँडफाँट गरियोस् भनेका हौं तर उहाँहरु ११ सिट दिने कुरा गरिरहनुभएको छ,’ यही भएर हामीले एमाले र लोसपासँग पनि तालमेलको ढोका खुल्ला गरेका हौं।’
उपेन्द्रको चलाखी
०७४ को चुनावपछि मधेस प्रदेशमा मधेस केन्द्रित दलहरुको सहकार्यमा सरकार बनेको थियो। अरु प्रदेशमा जस्तो त्यहाँ मुख्यमन्त्रीको फेरबदल भएन र सरकारले स्थायित्व पायो। तर, अहिले लोसपा र जसपा फुटेको अवस्था छ।
अहिलेको स्थितिमा मधेस प्रदेशबाट कांग्रेस, एमाले र माओवादीले चुनावी फाइदा लिन खोजेका छन् भने उपेन्द्र यादवचाहिँ मधेसमा आफ्नो पार्टीको बर्चस्व कायमै राख्ने रणनीतिमा छन्। यसका लागि एमालेसँग मिल्दा बढी लाभ हुने विश्लेषण जसपा नेताहरुको छ।
त्यसो त दसैंको टीकाको दिन नेपाली कांग्रेसका नेताहरुले बालुवाटारमा जसपा र एकीकृत समाजवादीका नेताहरुसँग बेग्लाबेग्लै बसेर सहमति जुटाउने प्रयास गरेका थिए। तर, त्यो प्रयास सफmल नभएपछि उपेन्द्र यादव कार्यदलका सदस्यहरुलाई समेत लिएर बिहीबार साँझ बालकोट पुगेका हुन्।
चतुर राजनीतिज्ञको छवि बनाएका उपेन्द्र यादवले कांग्रेस–माओवादी वा एमाले जोसित मिल्दा बढी सिट जितिन्छ, उसैसँग चुनावी तालमेल गर्ने नीति लिएका छन्। सो पार्टीका नेताहरुका अनुसार जसपाको लाइन स्पष्ट छ, ‘मधेस प्रदेशमा बहुमत आउने गरी सिट बाँडफाँड हुनुपर्यो, प्रतिनिधिसभामा विगतको भन्दा बढी सिट पाउनुपर्यो।’
यही क्रममा कांग्रेस माओवादीले ११ सिटमात्र दिन खोजेको भन्दै जसपाले करिब २२ सिटमा एमालेसँग तालमेल गर्न लागेको हो।
लोसपालाई पनि ढोका खुल्ला
बाहिरबाट हेर्दा भर्खरै फुटेका लोसपा र जसपा आपसमा मिल्नै सक्दैनन् जस्तो देखिएको छ। जसपाले कांग्रेससँग गठबन्धन बनाइरहँदा लोसपाका नेताहरु एमालेसँग आन्तरिक छलफलमा थिए। अब जसपा र एमाले मिलेपछि लोसपाले के गर्ला भन्ने प्रश्न उब्जेको छ।
तर, जसपाका एक नेताले नेपालखबरलाई दिएको जानकारी अनुसार यो चुनावमा लोसपा र जसपाका बीचमा समेत चुनावी तालमेलको सम्भावना छ। यसकै लागि जसपाले औपचारिक निर्णय नै गरेर पाँच दलीय गठबन्धन बाहिरसमेत तालमेल गर्ने ढोका खोलेको ती नेताको भनाइ छ।
जसपाका ती नेता भन्छन्, ‘हामीले पाँचदलीय गठबन्धनभन्दा बाहिर पनि चुनावी तालमेल गर्न सकिने निर्णय गरिसकेका छौं, यो भनेको एमाले र लोसपा दुबैसँग तालमेल गर्न सकिन्छ भन्ने हो।’
पाँच दलीय गठबन्धनभन्दा बाहिरसमेत तालमेल गर्न सकिने जसपाको निर्णयले एमाले नेताहरुमा खुशियाली छाएको छ। यही कारण एमाले नेताहरु जसपालाई आफूतिर तान्न उत्साहित देखिएका छन्। यो परिस्थितमा अब मधेसमा एमाले, लोसपा र जसपावीच त्रिपक्षीय गठबन्धनको सम्भावना बढेको स्वयं जसपा नेताहरुको स्वीकारोक्ति छ।
ठूला दललाई उपयोग गरेर शक्ति आर्जन गर्नमा उपेन्द्र यादव माहिर मानिन्छन्। विगतमा उनले कांग्रेस, माओवादी र एमाले सबैसँग सहकार्य गरिसकेका छन्। यसपटक पनि यादवले पाँच दलीय गठबन्धनबाट अलग्एिर वा सत्ता गठबन्धनमै रहेर एमालेसँग तालमेल गरे भने अचम्म नमान्दा हुने नेताहरु बताउँछन्।
उता एमालेका एक नेताले नेपालखबरसँग भने, ‘अध्यक्ष ओली गोलपोस्टमा गोल हान्ने खेलाडी हो । हेर्दै जानुहोला जसपापछि अन्य दुईवटा दलसँग पनि एमालेको गठबन्धन बन्नेछ।’
Shares

प्रतिक्रिया