राजनीति


उपेन्द्र यादव बालुवाटारबाट बालकोटमा, एमालेसँग सहमति तयारी

उपेन्द्र यादव बालुवाटारबाट बालकोटमा, एमालेसँग सहमति तयारी

फाइल तस्बिर


नेपालखबर
असोज २०, २०७९ बिहिबार १८:५४, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सत्तारुढ गठबन्धनको बालुवाटारमा बिहीबार बसेको सत्तारुढ गठबन्धनको बैठक छाडेर बालकोट पुगेका छन्।

नेपाली कांग्रेस र माओवादी केन्द्रले १६ सिटमात्रै दिने अडान लिएपछि असन्तुष्ट रहेका यादवले केही सातायता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद अघि बढाएका थिए।

यादवनिकट स्रोतका अनुसार उनी सकेसम्म आजै एमालेसँग चुनावी तालमेलमा सहमति गर्ने गरी बालकोट पुगेका हुन्। यदि एमाले र जसपाबीच चुनावी गठबन्धनमा सहमति भएमा दुई वर्षयता कायम सत्तारुढ गठबन्धन फुट्नेछ।

एमालेले सत्तारुढ गठबन्धन फुटाउने शर्तमा जसपालाई बढीमा २५ सिट दिएर आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने तयारी गरेको छ।

'दुई दलबीच २५ सिटमा चुनावी तालमेल गर्ने अनौपचारिक समझदारी यसअघि नै भइसकेको छ', यादवका एक सहयोगीले नेपालखबरलाई भने, 'अध्यक्ष बालकोट जानु भएको खबर आएको छ। आजै दुई दलबीच चुनावी तालमेल सहमति हुने सम्भावना उच्छ।'

असोज २३ मा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्नुपर्ने भएपछि सत्तारुढ गठबन्धन पनि बिहीबारै सहमति जुटाउने तयारीमा थियो। गठबन्धन दलबीच दोहोरो दाबी भएका ८ वटा बढी सिटमा अझै सहमति हुन सकेको छैन। 

जसपा अध्यक्ष यादव कांग्रेसले ८५ बढी र माओवादीले ५० बढी सिट लिएर आफूलाई १६ सिटमा मात्रै सीमित गर्न खोजेको भन्दै असन्तुष्ट थिए।

एमालेले लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल नगर्ने निष्कर्ष निकाले लगत्तै जसपाले गठबन्धन पहल गरेको थियो। सत्ता गठबन्धनका दुई ठूला दलले आफूलाई हेपेको ठानेका यादवले यसअघि पनि बालकोट पुगेर ओलीसँग वार्ता गरेका थिए।

यदि यसअघिको अनौपचारिक समझदारीअनुसार संवाद अघि बढेमा एमाले र जसपाले बिहीबारै सहमतिपत्रमा हस्ताक्षर गरेर चुनावमा होमिने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .