ad ad

राजनीति


एमालेको रणनीति : तालमेलबारे तत्काल निर्णय नगर्ने, सत्ता गठबन्धनका असन्तुष्ट तान्ने

एमालेको रणनीति : तालमेलबारे तत्काल निर्णय नगर्ने, सत्ता गठबन्धनका असन्तुष्ट तान्ने

एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
असोज १४, २०७९ शुक्रबार १३:२३, काठमाडौँ

नेकपा एमालेले सत्ता गठबन्धनमा सिट बाँटफाँटको मुड हेरेर मात्रै विभिन्न दलसँग चुनावी तालमेलबारे निर्णय गर्ने भएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राप्रपा, राप्रपा नेपाल, जनमत पार्टी, हृदयश त्रिपाठी र नेपाली कांग्रेस बीपीसहितका दल एमालेसँग तालमेलका लागि तयार छन्।

एमालेले विभिन्न नेतामार्फत् अन्य दलसँग संवाद गरिरहेको छ। 

तर, चुनावी तालमेल, सिट संख्याबारे निर्णय गर्न अझै केही दिन लाग्ने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘स्थानीय तहको चुनावी परिणाम, प्रभाव क्षेत्रमा चुनावी तालमेल हुनसक्छ,’ ज्ञवालीले नेपालखबरसँग भने, ‘दसैँअगाडि टुंगो लगाउँछौँ।’

उपमहासचिव ज्ञवालीले अधिकांश ठाउँमा एमालेका उम्मेदवार टुंगिएको बताएका छन्। 

'अधिकांश ठाउँमा टुंगिएको छ। केही ठाउँमा परामर्श गर्नुपर्ने भएकाले समय लिएका हौँ', ज्ञवालीले भने। 

गठबन्धनभित्र प्रतिनिधि सभा र प्रदेश सभा सिट भागवण्डामा सहमति नजुटे त्यस्ता पक्षलाई समेत सहभागी गराउने एमालेले योजना बनाएको एक नेताले बताए।

अहिलेसम्म  गठबन्धनदलभित्र जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीले सिट बाँटफाँडप्रति चित्त बुझाएका छैनन्।

यस्तै नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले पनि सिट बाँडफाँट सम्मानजनक नभए विद्रोह गर्ने चेतावनी दिएको छ।

एमालेले राजनीतिमा देखिएका यिनै परिदृश्यको विश्लेषण गरेर मात्र दलहरुसँगको तालमेल निर्णय गर्न लागेको ती नेताले बताए।

राप्रपाका एक पदाधिकारीका अनुसार एमालेसँग चरण चरणमा वार्ता भए पनि अहिलेसम्म निर्णय भइसकेको छैन। 

‘१६ असोजसम्म तालमेलबारे निर्णय हुने सम्भावना देखिएको छैन,’ ती पदाधिकारीले शुक्रबार दिउँसो नेपालखबरसँग भने, ‘अब समानुपातिक सूची फाइनल गरेपछि मात्रै टुंगो लाग्छ।’

लोसपा र एमालेबीच पनि चुनावी तालमेल गर्ने निर्णय भइसकेको छ। तर, सिट संख्याबारे निर्णय भएको छैन।

अध्यक्ष महन्थ ठाकुर स्रोतका अनुसार शुक्रबार (१४ असोज) मा एमाले अध्यक्ष केपी ओलीसँग छलफल हुनसक्छ।

त्यसअगाडि छलफल गर्ने भने पनि ओलीकै कारण नमिलेको स्रोतले दाबी गरेको छ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो २२ असोजभित्र लगाउने निर्णय गरेको थियो।

त्यसको मुख्य कारण भनेकै गठबन्धन कुरेको अर्का नेताले दाबी गरेका छन्। 

‘एमालेले पाँच दलीय गठबन्धनको असन्तुष्ट पक्षलाई आफूतिर तान्न सकिन्छ भनेर कुरेको जस्तो देखिन्छ, त्यही भएर समय लागिरहेको छ,’ उनले भने। 

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एमालेसँग चुनावी तालमेल हुने निश्चित भए पनि समय लागिरहेको र संवाद जारी रहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .