ad ad

राजनीति


‘देउवाको बाटो हेर्दैछौँ, नसुध्रिए आन्दोलन चर्काउँछौँ’

‘देउवाको बाटो हेर्दैछौँ, नसुध्रिए आन्दोलन चर्काउँछौँ’

फाइल तस्बिर


नेपालखबर
असोज १३, २०७९ बिहिबार १३:४७, काठमाडौँ

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण चुनाव जित्ने आधार भए पनि पार्टीभित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताएका छन्। 

काठमाडौंमा बिहीवार कांग्रेसको डा. शेखर कोइराला पक्षद्वारा आयोजित चियापान र दशैँ, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन्। 

घिमिरेले राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभइ जनताको जीवन बदल्ने माध्यम भएको बताएका छन्। 

उनले पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वासन दिनुभएको उल्लेख गर्दै अहिले आफूहरु बाटो हेरिरहेको र भेदभाव भएमा आन्दोलन चर्काउने चेतावनी दिए।

‘गठबन्धन गरेर नै चुनावमा जाने निर्णयले गठबन्धनले चुनाव जित्ने आधार छ। गठबन्धनसँग जनमत छ। राजनीति भनेको जनताको जीवनलाई बदल्ने माध्यम हो। मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै राजनीति होइन', उनले भने, 'हामीले न्यायोचित अवसरको वितरणका निम्ति हामीले पार्टीलाई भनेका हौँ। त्यही अन्तर्गत यो चियापन हो। सभापति ज्युले सबैलाई मिलाएर लैजान्छु भन्ने आश्वासन दिनुभएको छ। प्रधानमन्त्रीको बाटो हेरिरहेका छौँ। भएन भने बाँकी निर्णय हुन्छ। एकलौटी र विभेदपूर्ण भयो भने कार्यकर्ताले आफ्नो बाटो लिन्छ।’

त्यस्तै कांग्रेस नेता अजयबाबु शिवाकोटीले समानुपातिक तर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरु पनि विरोधमा गएको दाबी गरे। 

उनले समानुपातिक तर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताए। उनले गठबन्धन अघि बढाउन टिकट वितरणमा संशोधन हुनुपर्ने बताए।

‘समानुपातिक तर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरु पनि बिरोधमा गएका छन्। ठूलो असन्तुष्टि छ, यसको सम्बोधन नगरी चुनावमा गए यसको घाटा गठबन्धनलाई नै पर्छ। गठबन्धन अघि बढाउने हो भने बन्दसूची संशोधन हुनुपर्छ', उनले भने, 'असोज २३ गतेबाट हुने उम्मेदवारमा पनि न्यायोचित टिकट वितरण हुनुपर्छ। हाम्रो टिकट वितरणमा न्याय भएन।’

नेता शिवाकोटीले असोज २३ गतेबाट हुने प्रत्यक्षतर्फको टिकट वितरणमा पनि न्यायोचित हुन नसके बिरोध थप चर्किने बताए। 

बिहीवार काठमाडौंस्थित एक होटलमा कोइराला पक्षधरका नेताहरुले चियापान र दशैँ,तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका थिए। 

चियापान कार्यक्रममा पार्टी महामन्त्री गगनकुमार थापादेखि अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायत नेताहरु उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .