नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाईंको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीलाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रुपमा मात्रै ठान्न नहुने बताए।
‘यो निर्वाचनलाई केवल निर्वाचनमात्रै ठान्न हुँदैन। यसपटकको निर्वाचन लडाईंको रुपमा हाम्रो अगाडि छ, जुन लडाईं हामीले जित्नैपर्छ', उनले भने, 'जित्नैपर्ने लडाईंको रुपमा हामी यो निर्वाचनमा छौँ।’
पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले पराजित गर्ने उद्घोष गरे।
‘गठबन्धनको कुनै सिद्धान्त, उद्देश्य, दृष्टिकोण, कार्यक्रम र गन्तव्य छैन्। यो गठबन्धनको उद्देश्य एमालेलाई समाप्त गर्न चाहने मात्रै हो', उनले थपे, 'यो गठबन्धनको आपराधिक षडयन्त्रलाई पराजित गर्न सबै लाग्न जरुरी छ।’
पोखरेलले पाँचदलीय गठबन्धनको कुनै भविष्य नरहेको बताएका छन्।
स्थानीय तहको निर्वाचनको परिणामलाई जोड्दै उनले एमालेले लोकप्रिय मत ल्याएको पनि जिकिर गरे।
'स्थानीय तहको निर्वाचनमा गठबन्धनले एमालेलाई भित्तामा टाँसिदिन्छु भनेका थिए, टर्च बालेर खोज्नपर्छ भनेका थिए', उनले भने, 'तर, जनताको सबैभन्दा लोकप्रिय मत प्राप्त गर्ने एमाले सबैभन्दा ठूलो पार्टी बन्यो।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले ९ लाख पार्टी सदस्य भएका कारण एमालेको बहुमत आउने बताए।
यो बीचमा उनले एकलाख भन्दा बढी विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेको बताए। ‘९ लाख सदस्य भएको पार्टीलाई कसैले पराजित गर्न सक्दैन। त्यसैले एमालेले बहुमत ल्याएर केपी ओलीलाई प्रधानमन्त्री बनाउँछ', उनले भने।
पोखरेलले उमेरले युवा र बुढो नहुने पनि बताए। 'केपी ओलीले अघि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा कम छैन। केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन्', उनले भने, 'केपी ओलीले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन्।’
नेपालको राजनीतिमा युवा र खेलकुद क्षेत्रलाई सबैभन्दा पहिला अगाडि बढाउने पार्टी नेकपा (एमाले) भएको उनको भनाइ छ।
मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पहिलोपटक युवा तथा खेलकुद मन्त्रालय स्थापना गरेको उनले स्मरण गराए।
Shares

प्रतिक्रिया