ad ad

राजनीति


कांग्रेस सधैँ हार्ने खोटाङमा समानुपातिकतर्फ हिरा र सरस्वती पालैपालो

कांग्रेस सधैँ हार्ने खोटाङमा समानुपातिकतर्फ हिरा र सरस्वती पालैपालो

फाइल फोटो


उजिर कार्की
असोज १०, २०७९ सोमबार १८:०, काठमाडौँ

नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूची केही दिनअघि सार्वजनिक भयो। यो सूचीमा खोटाङबाट सरस्वती बजिमय पनि अटाएकी छन्। 

समानुपातिकको सूचीमा उनको नाम दोस्रो पटक परेको हो। यसअघि २०७० सालमा पनि उनी समानुपातिकबाटै सांसद बनिन्। 

२०६४ सालपछि कांग्रेसले खोटाङमा कुनै निर्वाचन जितेको छैन। २०६४ मा दुवै क्षेत्र माओवादीले जित्यो। मतका हिसावले कांग्रेस दोश्रो हुन्छ तर अहिलेसम्म जितेको रेकर्ड छैन।

गणतन्त्रपछिका कुनै चुनाव जितेर खोटाङ कांग्रेसका नेता सांसद बन्न सकेका छैनन्। २०६४ मा दुवै क्षेत्रमा माओवादी र २०७० मा दुवै क्षेत्रमा एमालेले चुनाव जित्यो। 

२०६४ मा माओवादीबाट रामकुमार राई र समिता कार्की सांसद बने। २०७० मा एमालेबाट पाँचकर्ण राई र विशाल भट्टराई विजयी भए। 

नयाँ संविधान बनेसँगै खोटाङमा एउटा मात्रै निर्वाचन क्षेत्र कायम भयो। जसमा एमालेबाट विशाल भट्टराईले जित दोहोर्‍याए। 

२०५६ सालको आम निर्वाचनमा दुवै क्षेत्र जितेका कांग्रेस नेताहरु निरन्तर हारको श्रृंखला दोहोर्‍याइरहेका छन्। २०५६ सालमा क्षेत्र नं. २ बाट विजयी शिवकुमार बस्नेतले जिल्ला नै छाडे। अहिले उनको क्रियाशील सदस्यता मोरङमा छ। 

२०६४ सालमा हारेपछि बस्नेतले संविधान बनाउने अवसर मात्रै गुमाएनन्, कार्यकर्ताले पनि माया मारे। जसको असर उनले विस्तारै जिल्ला छाडिदिए।

क्षेत्र नम्बर १ बाट त्यतिबेला सुवासकुमार पोखरेल पराजित भएका थिए। उनले पनि हार दोहोर्‍याइसकेका छन्। 

२०६४ मा हारेका पोखरेलले २०७० मा टिकट नै पाएनन्। त्यो निर्वाचन हार्ने अवसर नरेशकुमार श्रेष्ठले पाए। 

उता निर्वाचन क्षेत्र नम्बर २ मा भने विष्णुकुमार राई हारको ह्याट्रिकनजिक थिए। तर, यसपटक उनले प्रतिनिधि सभा छाडेर प्रदेश रोजेका छन्। 

गठबन्धनमा त्यो क्षेत्र कांग्रेसलाई दिने सहमति भए प्रदेश ‘ख’ बाट उनले टिकट पाउने करिव निश्चित छ। यसपटक जित्न नसके विष्णुले हारमा ह्याट्रिक गर्नेछन्।

२०७० सालको निर्वाचनमा पहिलो पटक कांग्रेसले महिला उम्मेदवार उठायो। केन्द्रबाट टिकट लिएर पुगेकी सरस्वती बजिमयलाई पार्टीले जिताउन सकेन।

पछिल्लो १५ वर्षमा हार्ने उनी पाँचौँ नेता बनिन्। अघिल्लो पटक हारेकी सरस्वतीले यस पटक प्रत्यक्षमा उठ्ने हिम्मत नै गरिनन्। बरु समानुपातिकमै जोड गरेर आफूलाई सुरक्षित गरेकी छन्।  

हिरा–सरस्वती आलोपालो
सरस्वती दोश्रो पटक समानुपातिक सांसद बन्ने लाइनमा छिन्। खोटाङबाट कांग्रेस केन्द्रीय कमिटिमा पुग्ने पनि उनी एक्लो नेता हुन्। तर, संसदीय चुनावमा भने उनी जिल्लाबाटै पछि हटिन्। 

अन्य नेताहरुको प्रत्यक्षमा हानाथप छ। उनले भने समानुपातिकमा सिट सुरक्षित गरिसकिन्। कांग्रेसले समानुपातिकमा अहिलेका सांसदलाई नदोहोर्‍याउने नीति लियो। जसकाराण हिरा गुरुङ बाहिरिँदा सरस्वतीले अवसर पाइन्।

हिरा आउट हुनासाथ सरस्वती इन भएकी छन्। जुन उनीहरुले १५ वर्षदेखि आलोपालो गरिरहेका छन्। २०६४ सालमा हिरा गुरुङ समानुपातितर्फको संविधान सभा सदस्य बनिन्। 

हिरा खोटाङको तत्कालीन बाँझेच्यानडाँडा–२  निवासी कांग्रेस नेता कालुमान गुरुङकी पत्नी हुन्।  गुरुङलाई पार्टी कार्यालयको प्रांगणमा स्ववियुको निर्वाचनबारे छलफल गरिरहेको अवस्थामा २०५७ साल फागुन–१३ गते माओवादीले गोली हानी हत्या गरे थियो। 

२०७० सालमा उनै हिराले दोहोरिने अवसर पाइनन् र, सरस्वतीको इन्ट्री भयो। २०७४ मा फेरि हिराले दोहोर्‍याइन्। 

चुनावै जित्न नसकेको खोटाङबाट कांग्रेसका दुई महिला नेताले पालैपालो संसद प्रवेश गरिरहेका छन्। तर प्रत्यक्षतर्फ भने एमाले र माओवादीले पालैपालो जितको झण्डा गाडिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .