ad ad

राजनीति


कामुबाटै बिदा भए दीपक कार्की, सर्वोच्चको नेतृत्व हरिकृष्ण कार्कीलाई

महाअभियोग टुंगो नलाग्दा फर्किन पाउँदैनन् चोलेन्द्र
कामुबाटै बिदा भए दीपक कार्की, सर्वोच्चको नेतृत्व हरिकृष्ण कार्कीलाई

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०७९ आइतबार १३:४४, काठमाडौँ

आइतबारदेखि कायम मुकायमुम प्रधानन्यायाधीश दीपककुमार कार्की बिदा हुने भएका छन्। 

सर्वोच्च अदालत प्रशासनले आइतबार दिउँसो ३ बजे कार्कीको बिदाइ कार्यक्रम तय गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए। 

झण्डै साढे ७ महिना सर्वोच्चको नेतृत्व गरेका कार्की उमेरहदका कारण अनिवार्य अवकाश हुन लागेका हुन्।

न्यायाधीशको ६५ वर्षे उमेर हदका काराण कार्की असोज १६ गतेदेखि अनिवार्य अवकास हुने छन्। 

आइतबारदेखि सर्वोच्च अदालत बिदा हुने र नियमित मुद्दामा सुनुवाइ नहुने भएकाले कार्कीको बिदाइ आजै राखिएको पौडेलले बताए। 

कार्कीले गत फागुन ११ गतेदेखि कामु प्रधानन्यायाधीशको रुपमा सर्वोच्चको नेतृत्व गरेका हुन्। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लागेपछि उनी निलम्बनमा परेका थिए। जबराको निलम्बनसँगै कार्कीले सर्वोच्चको नेतृत्व गर्ने अवसर पाएका हुन्।

जबरामाथि महाअभियोग नलागेको भए उनले यो अवसर पाउने थिएनन्। कार्कीले सर्वोच्च अदालतको न्यायाधीशमा ६ वर्ष काम गरे। २०७३ साउन १७ मा उनी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। 

त्यसअघि उनी तत्कालिन् पुनरावेदन अदालत विराटनगर र दिपायलमा कार्यरत थिए। यस्तै त्यसअघि कामु प्रधानन्यायाधीश कार्कीले पुर्नरावेदन अदालत पाटन, राजविराज र विराटनगरमा पनि काम गरेका थिए।   

जिल्ला अदालतको न्यायाधीशमा पनि मकवानपुर, सिरहा, काठमाडौं, धनुषा, मोरङ, डोटी, बर्दिया, सप्तरी, रुकुममा पनि काम गरे।

२०३७ साउन ६ मा शाखा अधिकृतको रुपमा उनी न्याय सेवामा प्रवेश गरेका थिए। समग्रमा ४२ वर्षे सेवा र ३९ वर्ष न्यायधीश बनेर उनले बिदा लिन लागेका हुन्। 

दीपक कार्कीको बिदाइसँगै सर्वोच्च अदालतको नेतृत्व हरिकृष्ण कार्कीले गर्ने भएका छन्। उनी वरिष्ठतम न्यायाधीश हुन्। कार्की आगामी मंसिर २७ गतेदेखि प्रधानन्यायाधीश बन्ने छन्। 

त्यसअघि निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्किने सम्भावना कम छ। उनीविरुद्धको महाअभियोग संसदले टुंगो लगाएको छैन।

सांसदको कार्यकाल नै सकिएपछि महाअभियोग समितिले समेत छानविन पूरा गर्न सकेन। 

महाअभियोग लगाउन सिफरिस गर्दै समितिले प्रतिवेदन बुझाए पनि थप अनुसन्धान गर्नु पर्ने राय दिएको छ। तर मंसिर ४ गते हुने निर्वाचनपछि आउने संसदले मंसिर २७ गतेभित्र छानबिन टुंगो लगाउने सम्भावना लगभग छैन। 

यस्तै जबराविरुद्ध महाअभियोग लगाउन नहुने पक्षमा नेकपा एमाले देखिएको छ। एमालेको साथबिना महाअभियोग पारित नहुने भएपछि संसदले महाअभियोग प्रस्ताव संसदमै झुलाएको थियो। 

२०१५ भदौ २५ गते जन्मिएका कार्कीले झण्डै एक वर्ष सर्वोच्चको नेतृत्व गर्ने छन्। हरिकृष्ण २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। 

त्यसअघि २०६८ साल असोजमा केपी ओली प्रधानमन्त्री हुँदा उनी महान्यायाधिवक्ता थिए। अन्य अदालतमा काम गरेको भने उनीसँग अनुभव छैन। 

उनले सर्वोच्च अदालतमा वकालत पनि गरे। उनले आगामी भदौ २५ गतेसम्म सर्वोच्चको नेतृत् वगर्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .