ad ad

राजनीति


अमेरिका र चीन लगत्तै किन आउँदैछ युरोपेली संसदीय टोली?

अमेरिका र चीन लगत्तै किन आउँदैछ युरोपेली संसदीय टोली?

युरोपेली संसदकी उपाध्यक्ष इभलिन रेग्नर


सन्तोष घिमिरे
असोज ५, २०७९ बुधबार १९:२६, काठमाडौँ

युरोपेली संसदीय प्रतिनिधीमण्डल भोलि बिहीबार नेपाल भ्रमणमा आउने भएको छ। 

युरोपेली संसदीय टोलीको नेतृत्व युरोपेली संसदकी उपाध्यक्ष इभलिन रेग्नरले गर्नेछिन्। इभलिन अष्ट्रियाकी राजनीतिज्ञ हुन्। अष्ट्रियाकी पूर्ववकिल रहेकी उनी सन् २००९ यता युरोपेली संसदकी सदस्य छन्।

चार सदस्यीय टोलीमा रेग्नर, उलरिक मुलर (जर्मनी), टमस ज्डेचोभ्स्की (चेक रिपब्लिक) र म्याक्सिमिलियन क्र (जर्मनी) रहनेछन्। 

नेपालमा नयाँ संविधान जारी भएपछि संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेका कामबारे जानकारी लिन युरोपेली संसदीय प्रतिनिधिमण्डल आउन लागेको नेपालस्थित युरोपेली प्रतिनिधिमण्डलको कार्यालयले बुधबार प्रेस विज्ञप्तिमा जनाएको छ। त्यसैगरी भ्रमणले नेपाल र युरोपेली युनियनबीच रहीआएको सहकार्य विस्तार गर्न भावी दिनमा सहकार्य अभिवृद्धी गर्न योगदान गर्ने कार्यालयले उल्लेख गरको छ।  

युरोपेली युनियनले नेपालको संघीय शासन व्यवस्थाको सुदिृढीकरण, मानवअधिकार प्रवर्द्धन, महिला सशक्तिकरण र समावेशिताका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। यहाँको राजनीतिक परिस्थितीबारे पनि युरोपेली युनियनले चासो दिँदै आएको छ।

नेपाल संघीय र प्रादेशिक चुनावको मुखमै रहेका बेला युरोपेली संसदको टोली संघीयता कार्यान्वयनको अवस्था बुझ्न यहाँ आउन लागेको हो। नेपालमा रहंदा युरोपेली सांसदले प्रमुख राजनीतिक दलका नेता, संघीय सरकारका मन्त्रीहरु, नागरिक समाजका प्रतिनिधि, महिला नेतृत्वहरु र पत्रकारसँग अन्तरक्रिया गर्नेछन्।  

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वपरराष्ट्रमन्त्री तथा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवाली र पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका महासचिव सांसद गगन थापासँग भिन्दा भिन्दै भेटवार्ता गर्नेछन्। त्यसैगरी परराष्ट्रमन्त्री नारायण खड्का, वाणिज्यमन्त्री दिलेन्द्र प्रसाद बडु र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग पनि भेट्नेछन्। 

यहाँ रहँदा जलवायु परिवर्तन, लैंगिक सवाल र सामाजिक समावेशिताबारे युरोपेली टोलीले छलफल गर्ने प्रतिनिधीमण्डलको कार्यालयले जनाएको छ। 

युरोपको पनि नेपालमा भूराजनीतिक चासो बढ्दो
युरोपेली संघ तथा युरोपेली मुलुकका तर्फबाट पछिल्लो समय नेपालमा भूराजनीतिक चासो बढेको छ। अमेरिका र चीनका तर्फबाट नेपालमा भइरहेका तारन्तारका भ्रमणबीच युरोपेली मुलुकले पनि यहाँको आन्तरिक राजनीति र भूराजनीतिलाई चासोका साथ नियालिरहेको देखिन्छ।

नेपालको राष्ट्रिय राजनीति र विदेश नीति सञ्चालनको व्यवहारप्रति अमेरिका र युरोपेली मुलुकको धारणा समान देखिन्छ। नेपालको उत्तरी छिमेकी चीन र नेपाल—चीन सम्बन्धलाई बुझ्ने सवालमा पनि उनीहरुको समान धारणा रही आएको छ। किनकी, बदलिँदो विश्व ब्यबस्थामा अमेरिका र युरोपको चीनसँग सहकार्यभन्दा बढी प्रतिस्पर्धा छ। यद्यपी चीन र पश्चिमा मुलुकबीचको व्यापारिक संबन्ध एकनासले चलिरहेको छ। 

विश्वका जल्दाबल्दा मुद्दामा नेपालले लिने गरेका धारणाप्रति युरोपको चासो हुने गरेको छ। रुस—युक्रेन द्वन्द्वमा नेपालले युक्रेनका पक्षमा संयुक्त राष्ट्रसंघमा मत दिएकोमा अमेरिका र युरोपेली मुलुकले खुशी ब्यक्त गरेका थिए।

गत माघमा नेपालस्थित युरोपेली मुलुकका राजदूतले परराष्ट्रमन्त्री खड्का र परराष्ट्रसचिव भरतराज पौड्याललाई भेटेर युक्रेनमाथि रुसले गरेको हमलाबारे छलफल गरेका थिए। उनीहरुले उक्त हमलाको सशक्त विरोध गरेका थिए।

युक्रेन मामिलामा नेपालले लिएको पोजिसनप्रति भारत र चीन सशंकित बनेका थिए। किनकी यी दुई छिमेकी रुस—युक्रेन द्वन्द्वबारे राष्ट्रसंघीय फोरममा भएका अधिकांश मतदानमा तटस्थ बसेका छन्, रुससँगको सानिध्यताका कारण। 

चीनका प्रत्यक्ष राजनीतिक र सुरक्षा स्वार्थ जोडिएका तिब्बत र ताइवानका मामिलामा पनि अमेरिका र युरोपेली मुलुक एकठाउँमा उभिने गरेका छन्। त्यसैगरी दक्षिणी छिमेकी भारत प्रशाशित कस्मिरसँग जोडिएका मानवअधिकारका विषयमा पनि अमेरिका र युरोपको धारणा समान हुने गरेको छ। छिमेकीसँग जोडिएका यस्ता मामिलामा नेपालले लिने धारणामा उनीहरुले आफ्नो सरोकार जनाउने गरेका छन्। 

छिटफुट रुपमा युरोपेली मुलुकका तर्फबाट भ्रमण पनि भइरहेका छन्। एक साता अघि युरोपेली मुलुक फ्रान्सको एक संसदीय प्रतिनिधिमण्डल नेपाल भ्रमण सकेर फर्केको थियो। गत फागुन र वैशाखमा पनि फ्रान्सेली संसदीय टोली नेपाल आएका थिए। 

अमेरिकासँगै अन्य पश्चिमा मुलुकबाट पनि बाक्लियो नेपाल भ्रमण
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .