ad ad

राजनीति


राष्ट्रपतिप्रति मिलन पाण्डेको आक्रोश : पदबाट राजीनामा दिएर चुनाव लड्दा हुन्छ

राष्ट्रपतिप्रति मिलन पाण्डेको आक्रोश : पदबाट राजीनामा दिएर चुनाव लड्दा हुन्छ

नेपालखबर
असोज ५, २०७९ बुधबार १८:१०, काठमाडौँ

संसदले दोहोर्‍याएर पठाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी समयसीमा गुजारेपछि यसका पक्ष र विपक्षमा प्रतिक्रिया व्यक्त गर्ने क्रम तीव्र बनेको छ। 

एकथरीले राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै चर्काे आलोचना गरिरहेका छन् भने अर्काथरीले राष्ट्रको हितमा कदम चालेको भनेर प्रशंसा गरिरहेका छन्। 

यसै क्रममा विवकेशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले राष्ट्रपति भण्डारीले संविधान मिचेको टिप्पणी गरेका छन्। 

पाण्डेले नागरिकता विधेयक चित्त नबुझेको हो भने राष्ट्रपतिलाई पदबाट राजीनामा दिएर चुनाव लड्न सुझाव दिएका छन्। 

‘पदमै रहेर राष्ट्रपतिले संविधान मिच्न मिल्दैन’, बुधबार पाण्डेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यदि चित्त नबुझेकै हो भने पदबाट राजीनामा दिएर निर्वाचन लड्दा हुन्छ। तर त्यो पदमा रहेर एउटा पार्टीको राजनीति गर्न मिल्दैन।’

राष्ट्रपतिले पदमा रहेर पार्टीको राजनीति गरेको आरोप लगाउँदै नेता पाण्डेले राष्ट्रपतिबाट यस्तो हर्कत पटकपटक भएको बताएका छन्। 

‘एकचोटि होइन, दुईचोटि होइन, बारम्बार त्यही हुँदै छ’, उनले भनेका छन्, ‘संविधानभन्दा माथि कोही छैन। विधिको शासनभन्दा माथि कोही छैन।’

प्रमाणीकरणका लागि पहिलोपटक नागरिकता विधेयक पठाउँदा पुनःविचारका लागि भन्दै राष्ट्रपतिले संसदमै फिर्ता पठाएकी थिइन्। त्यसपछि संसदका दुवै सदनबाट पुनः पारित गराई विधेयक राष्ट्रपतिकहाँ दोस्रोपटक पठाइएको थियो। तर १५ दिनको समयसीमा (मंगलबार राति १२ बजे) सकिँदासम्म उनले विधेयक प्रमाणीकरण गरिनन्। 

यसो गर्ने अधिकार राष्ट्रपतिलाई संविधानले दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .