राजनीति


रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ लोकार्पण

रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ लोकार्पण

नेपालखबर
असोज ३, २०७९ सोमबार २२:५, काठमाडौँ

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ।

काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा सोमबार आयोजित विशेष समारोहमा पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्वमन्त्री दीपक ज्ञवाली र लेखक मिश्रले उक्त पुस्तक लोकार्पण गरे। उपस्थित सहभागीहरूको एउटा समूहले पनि पुस्तक लोकार्पण गरेको थियो।  

पुस्तकमा आफूले उठान गरेका मुख्य चार विषयवस्तु- संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दू–बौद्ध राष्ट्र र कल्याणकारी (सामाजिक) लोकतन्त्र- यो देशको दूरगामी हितका लागि अत्यावश्यक भएको मिश्रको भनाइ छ।  

नेपाल अब असफल राज्य हुन र नेपाली सेना मात्र गिजोलिन बाँकी रहेको मिश्रले बताए। 

‘राष्ट्रपतिदेखि न्यायालय, प्रशासन, प्रहरी, विश्वविद्यालय, संवैधानिक निकाय आदि सबै क्षेत्र राजनीतिबाट नराम्रोसँग गिजोलिएका छन्,’ उनले भने, ‘अब नेपाली सेना मात्र गिजोलिन बाँकी छ। सेना पनि गिजोलिएको खण्डमा यो देश असफल राज्य हुन केही बेर लाग्दैन।’ 

यस किसिमको परिस्थितिलाई बदलिँदो भूराजनीतिले अझ पेचिलो बनाउँदै गएको उल्लेख गर्दै उनले संकटका बेला सदुपयोग गर्न ‘कुशन संस्था’का रूपमा संवैधानिक राजसंस्था पुनःथापित गर्नुपर्ने उनको भनाइ छ।

यसका लागि आफूलाई लागेका धारणा पुस्तकमार्फत सार्वजनिक गरेको उनले बताए। आफ्ना धारणा सबैले मान्नैपर्छ भन्नेमा आफू नरहेको र यसलाई स्वीकार–अस्वीकार गर्ने छनोट सबैको रहेको उनले प्रस्ट्याए।  

प्रजातान्त्रिक आन्दोलन नयाँ आयाम रहेको र यो पुस्तक कुनै व्यक्ति एवम् धारणा मात्र होइन, देशलाई केन्द्रमा राखेर लेखिएको कम्युनिस्ट नेता तथा पूर्वमन्त्री मैनालीले बताए।

मिश्रले आफ्नो विचारभन्दा माथि उठेर देशको समस्या समाधान हुनुपर्छ भनेर यो पुस्तक लेलखेको उनको भनाइ छ।

‘००७, ०४६ र ०६३ सालको आन्दोलनले प्रजातन्त्र बोक्यो। तर देशको विचार बोकेन। प्रजातन्त्रका नाममा अवाञ्छित बाह्य प्रभाव र हस्तक्षेप देशमा भइरहेको छ। यसको केही नेताले विरोध गरे,’ मैनालीले भने, ‘तर त्यो संस्थागत भएन। यी लगायत थुप्रै विषयको चित्रण पुस्तकले गरेको छ। पुस्तक समसामयिक र बहस गर्न लायक विषयवस्तुसहित आएकाले सबै राजनीतिज्ञलाई यो पुस्तकले बहस गर्न प्रेरित गर्छ।’  

अर्का टिप्पणीकार जलस्रोतविद् तथा पूर्वमन्त्री दीपक ज्ञवालीले यो पुस्तक सबै राजनीतिज्ञ, राजनीतिको अध्ययन गर्ने विद्यार्थी र अनुसन्धाताका लागि सन्दर्भ सामग्री रहेको दाबी गरे।

‘यो किताब हेरेर राजनीतिक दलले मेनिफेस्टो लेख्न सक्छन्। यो पुस्तकले नेताहरुको आफ्नो स्थान के हो? भनी प्रश्नसमेत गरेको छ,’ उनले भने।  

पुस्तक देशका सबै प्रमुख पुस्तक पसलमा उपलब्ध छ। यसको मूल्य ४५० रुपैयाँ राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad