राजनीति


कांग्रेसले हाप्यो केपी ओलीको चुनाव क्षेत्र

कांग्रेसले हाप्यो केपी ओलीको चुनाव क्षेत्र

नेपालखबर
असोज ३, २०७९ सोमबार २२:१३, काठमाडौँ

सत्ता गठबन्धनमा बढीभन्दा बढी सिट लिने र बहुमत जुटाउने दाबी गरिरहेको नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ मा भने दाबी नै नगर्ने पक्षमा उभिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सो चुनाव क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिन नचाहने उदारता देखाएकोमा गठबन्धनकै नेताहरु आश्चर्यमा परेका छन् ।

‘कांग्रेसका साथीहरु केपी ओलीसँग चुनाव लड्न इच्छुक देखिनुभएन, त्यसैले यो क्षेत्र हाम्रो भागमा आइलाग्यो,’ नेकपा माओवादी केन्द्रका एक स्थानीय नेताले नेपालखबरसँग भने, ‘देउवा पक्षका साथीहरु पनि ओलीसँग प्रतिस्पर्धा गर्न चाहनुहुन्न, डा. शेखर पक्षले पनि चाहेको देखिएन।’

झापा क्षेत्र नम्बर ५ मा कांग्रेसले दाबी नगरेपछि नेकपा माओवादी केन्द्रले विद्यार्थी नेता रञ्जित तामाङलाई प्रतिनिधिसभामा उठाउने तयारी गरेको छ । कांग्रेसले चाँहि संघमा माओवादीलाई केपी ओलीसँग भिडाएर आफूले प्रदेशका दुबै सिट लिन चाहेको स्रोतले बतायो ।

तर, नेकपा माओवादी केन्द्रले पनि प्रदेशमा एक सिट दाबी गरिरहेको छ । माओवादीका स्थानीय नेता एवं प्रदेश कोषाध्यक्ष गगन पुरी प्रदेशमा लड्ने तयारीमा छन् ।

नेपाली कांग्रेसका नेताहरु ओलीसँग चुनाव लड्न हच्किएको भन्दै माओवादी नेताहरु सशंकित बनेको स्रोतले बतायो । झापाका एक माओवादी नेताले नेपालखबरसँग भने, ‘उहाँहरु माओवादी र एमालेलाई भिडाउने अनि आफूचाहिँ ओलीलाई जिताउने पक्षमा उभिनुभएको त होइन?’

त्यसो त विगतमा झापामा एमाले नेता केपी ओलीले कांग्रेससँग गोप्य साँठगाँठ गर्ने गरेको नजिर रहेको पूर्वएमाले नेता युक्त भेटवालले बताउँदै आएका छन् ।

एमालेबाटै अन्तरघात भएर ०५६ सालमा चुनाव हारेका भेटवाल अहिले झापा क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका छन् ।

ओलीको गृहजिल्लामा झापामा स्वतन्त्र उम्मेदवारको समेत लहर चलेको छ । झापा २ मा स्वागत नेपालले स्वतन्त्र उम्मदेवारी घोषणा गरेका छन् भने ओलीको निर्वाचन क्षेत्र झापा ५ मा लेखक युग पाठकले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad