ad ad

राजनीति


शेरधन र राजेन्द्र दुवैले संघ ताक्दा भोजपुरमा रोचक भिडन्त, माओवादी र कांग्रेसले पनि नछाड्ने

शेरधन र राजेन्द्र दुवैले संघ ताक्दा भोजपुरमा रोचक भिडन्त, माओवादी र कांग्रेसले पनि नछाड्ने

सुमन पुरी
असोज ४, २०७९ मंगलबार ८:२१, विराटनगर

पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार चयनमा दलहरुलाई सकस भएको छ। गठबन्धनमा मात्रै होइन एमालेमा पनि उम्मेदवार कसलाई बनाउने भनेर टुंगो लाग्न सकेको छैन। 

जिल्लामा सर्वसम्मत हुन नसकेपछि एमालेले प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई र पूर्वमन्त्री कृपासुर शेर्पाको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छ। एमालेका यी दुई नेताबीचमा गुटको नभई व्यक्तिगत टकरावका कारण सर्वसम्मत उम्मेदवार छनोट हुन नसकेको हो। 

गठबन्धनमा भने अहिलेसम्म क्षेत्र बाँडफाँटको काम भइसकेको छैन। नेपाली कांग्रेस, माओवादी र समाजवादी तीन वटै दलले भोजपुरको प्रतिनिधि सभा ताकेका छन्। 

२०७४ को् निर्वाचनमा माओवादीका सुदन किराती विजयी भएका थिए। एमाले माओवादीबीच भएको गठबन्धनका कारण कांग्रेसका उमेशजंग रायमाझी पराजित भएका थिए। 

माओवादीले आफूले जितेका क्षेत्र नछाड्ने बटमलाइन राखेको छ। कांग्रेसले पनि यसपटक भोजपुर नछाड्ने अडान लिएको सभापति विनोद बान्तवा राई बताँउछन्। 

भोजपुरमा एकीकृत समाजवादीले समेत अडान राखेको छ। सो क्षेत्रबाट प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई उठ्न खोजेका छन्। 

दुई साताअघि मुख्यमन्त्री राईको नाम सुनसरी क्षेत्र नम्बर १ बाट सिफारिस भएको थियो। उनले त्यही बेला आफूले भोजपुर नछाड्ने बताएका थिए। 

कांग्रेसले प्रतिनिधि सभाका लागि भोजपुरबाट उमेशजंग रायमाझी, विनोद बान्तवा राई र शिव खत्रीको नाम प्रतिनिधि सभाका लागि उम्मेदवारको रुपमा नाम सिफारिस गरेको छ। 

०७४ को हिसाब 
२०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धन भएको थियो। गठबन्धन अनुसार संघमा माओवादीले सुदन किरातीलाई उम्मेदवार बनाएको थियो। प्रदेश सभामा भने शेरधन राई र राजेन्द्र राई उम्मेदवार भएका थिए। 

अहिले शेरधन एमालेमा छन् भने राजेन्द्र राई एकीकृत समाजवादीमा छन्। उनी समाजवादीका तर्फबाट प्रदेश १ का मुख्यमन्त्री हुन्। शेरधन भने प्रदेश १ को पहिलो मुख्यमन्त्री भए। 

१ लाख १३ हजार ७४५ मतदाता रहेको भोजपुरमा ६५ हजार ८९९ अर्थात् ५७ प्रतिशत मत खसेको थियो। 

भोजपुरमा माओवादीका सुदन किरातीले ३४ हजार ३९४ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेशजंग रायमाझीले २१ हजार ६९६ मत ल्याएका थिए। यसपटक पनि कांग्रेसका तर्फबाट बलियो उम्मेदवारको रुपमा उनको दाबेदारी छ।

उनी कांग्रेसमा संस्थापन पक्षका नेताका रुपमा चिनिन्छन्। उनले यसपटक क्षेत्र नछाड्ने बताउँदै आएका छन्। भोजपुरमा ०७४ को निर्वाचनमा मालेका अनिल बस्नेतले २ हजार ६०१ मत ल्याएका थिए। 

प्रदेश सभमा भने क्षेत्र नम्बर १ बाट राजेन्द्रकुमार राई विजयी भएका थिए। उनले १९ हजार २ सय ९७ मत ल्याँउदा जनता समाजवादीका अजम्बर काङमाङ राईले ११ हजार ५४१ मत ल्याए।  

भोजपुर ख बाट एमालेका शेरधन राई २० हजार ३३४ मत ल्याई विजयी भएका थिए। उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मत ल्याए। 

अहिले गठबन्धनमा संघमा मात्रै होइन प्रदेशमा समेत नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती छ। 

यदि माओवादीकै अडान अनुसार प्रतिनिधि सभा छाड्नु परे प्रदेशका दुवै क्षेत्र कांग्रेसले पाउनुपने कांग्रेसका स्थानीय नेताहरुको माग छ। यसो हुँदा राजेन्द्र राई र अजम्बर काङमाङलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ता गठबन्धनलाई हुने छ। 

मुख्यमन्त्रीका लागि समाजवादीलाई प्रदेश क छाडे कांग्रेसले ख लिने छ। यसो हुँदा पनि जनता समाजवादीका प्रभावशाली नेता अजम्बरको व्यवस्थामा समस्या रहन्छ।

स्थानीय तहको अंकगणित 
प्रतिनिधि सभामा एउटा निर्वाचन क्षेत्र रहेको भोजपुरमा ९ वटा स्थानीय तह छन्। जसमध्ये दुई वटा नगरपालिका छन्। एमालेले षडानन्द नगरपालिकामा मेयर र भोजपुर नगरपालिकामा उपमेयर जितेको छ। यस्तै नेपाली कांग्रेसले भोजपुरमा मेयर र षडानन्द नगरपालिकामा उपमेयर जितेको छ। एमालले पौवादुङ्वा गाँउपलिका र हतुवागढी गँउपालिकामा अध्यक्ष पद जितेको छ। 

नेपाली कांग्रेसले भने अरुण गाँउपालिमा र टेम्केमैयु गाँउपालिकामा अध्यक्ष जितेको छ। माओवादीले भने आमचोक गाँउपालिका र रामप्रसाद राई गाँउपालिकामा अध्यक्ष पद जितेको छ। 

नेपाली कांग्रेसले अरुण, रामप्रसाद, साल्पासिलिछो,र हतुवागढी गाँउपालिकामा उपाध्यक्ष जितेको  छ।

भोजपुरमा ८१ वडा छन्। तीमध्ये एमालले ३२ वटा वडा जितेको छ। कांग्रेसले २८ वटा वडा र माओवादीले १८ वटा वडा जितेको छ। भोजपुरमा जसपा, एकीकृत समाजवादी र स्वतन्त्रले एकएक वडा जितेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .