ad ad

राजनीति


बालेन्द्रविरुद्ध सुरु भयो ‘वर्ग संघर्ष’ (भिडिओसहित)

फुटपाथको प्रश्न– एक बित्ताको पेट पाल्न विदेशै जानुपर्ने हो?
बालेन्द्रविरुद्ध सुरु भयो ‘वर्ग संघर्ष’ (भिडिओसहित)

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १९:१७, काठमाडौँ

विकास र सामाजिक न्याय एक अर्काका परिपूरक हुन्। काठमाडौंका मेयर बालेन्द्र शाहले सुरु गरेको महानगरको सौन्दर्यकरण एवं विकास अभियानसँगै एउटा यस्तो सामाजिक समस्या जन्मिएको छ, जसको प्रकटीकरण विहीबार सुन्धारास्थित महानगरपालिकाको गेटमै देखियो विरोध प्रदर्शनका रुपमा।

काठमाडौंका सडकमा कपडा, साग सब्जी इत्यादि बेचेर गुजारा चलाउँदै आएका साना स्वरोजगार व्यवसायीहरु काठमाडौं महानगरपालिकाले दमन गरेको भन्दै प्रदर्शनमा उत्रिए।

मेयर बालेन्द्रसँग फुटपाथ व्यवसायीको माग छ,– हामीलाई गरीखान देऊ। एक बित्ताको पेट पाल्न विदेशै जान बाध्य नबनाऊ।

महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शनमा उत्रिएकाहरुकाे क्रन्दन सुन्दा यस्तो देखिन्थ्यो कि अब काठमाडौैंमा मेयर बालेन्द्र शाहविरुद्ध संगठित ‘वर्ग संघर्ष’ सुरु भएको छ। र, यसको अगुवाइ फुटपाथ व्यवसायीले गरेका छन्।

मेयर बालेन्द्रको नेतृत्वमा फुटपाथ खाली गराउने अभियान सुरु भएको करिब दुई महिनापछि फुटपाथ व्यवसायीले संगठित संघर्षको सुरुआत गरेका हुन्।

कस्तो शत्रु उठ्यो मलाई !
डोकोमा साग बेचेर दैनिक गुजारा चलाउँदै आएकी प्रौढ महिला कमला राई  विहीबार दिउँसो महानगरपालिका अगाडि प्रदर्शनकारीको भीडमा भेटिइन्।

महानगरपालिकासँग कमलाको गुनासो छ, ‘म सब्जी डोकोमा घुमाएर बेच्छु। घुमाएर पनि बेच्न दिएनन्। कस्तो शत्रु उठ्यो मलाई।’

कमलाले थपिन्, ‘डोको खोसेर फाल्छन्, डोकोमा साग घुमाएर बस्नै दिएनन्। एकठाउँमा बस्यो, घेरा लगाएर खेद्न आउँछन्। बेच्नै दिएनन्। डोको फाल्ने भन्छन्।’

भिडिओ

‘बालेन्द्रलाई सलाम छ, तर समस्या बुझिदिनुपर्यो’
काभ्रेपलाञ्चोक घर भई सुन्धाराको सडकमा व्यवसाय गर्दै आएकी रमा महतले राम्रोसँग व्यवसाय गर्न नपाएको दुुई साताजति भयो।

रमाले नेपालखबरसँग भनिन्, ‘पहिले बेलुका ६ बजेदेखि व्यवसाय गर्न दिनुहुुन्थ्यो, हामीलाई सजिलो भएको थियो। अहिले महानगरपालिकाले साढे सातबजे तोकिदिएको छ, दिनु र नदिनुको अर्थै रहेन। नगरपालिकाले साढे ७ बजे (सडकमा सामान बेच्न पाउने समय)  तोक्दा हाम्रो आयस्रोत ठप्पै भयो।’

नयाँ बानेश्वरमा घर र पसल अगाडिको फुटपाथबाट हटाइए पनि सुन्धारामा कसैलाई डिस्टर्ब नभएको रमाको तर्क छ। उनी भन्छिन्, ‘बानेश्वरचाहिँ घर अगाडि, पसल अगाडि भयो, सुन्धारामा त पर्खाल छ, हामी पसल अगाडि बसेका छैनौं। गाडीलाई पनि अवरुद्ध गरेका छैनौं।’

महानगरले सडकमा पसल राख्न नदिँदा संकटमा परेको सुनाउँदै रमाले भनिन्, ‘हामीले यहाँ बसेर व्यापार गर्न थालेको १२–१४ वर्ष भइसक्यो। हाम्रो आयस्रोत भनेकै यही हो। बालबच्चा पढाउने पनि यसैले हो। हाम्रो घर चल्ने यसैले हो। यो बन्द भएपछि हाम्रो आयस्रोत केही छैन। अब हामी कहाँ जाने ?’

रमा थप्छिन्, ‘४०–४५ वर्ष उमेर भइसक्यो, अब अर्काको काम गर्न जान सकिँदैन। अब हामी भारी बोक्न जान पनि सक्दैनौं। बुढेसकाल पनि लाग्दै आइसक्यो। सबैजना रहरले होइन, बाध्यताले आएका छन्। सम्पन्नहरु पनि होइन, गरीब दीनदुःखीहरु छन्। कसैका श्रीमान छैनन्, हामीले यसरी घर चलाइरहनुपरेको छ। हाम्रो जग्गा जमीन छैन, भाडा तिर्नुपर्यो। यो समस्या बालेन्द्र शाहले पनि बुझिदिनुपर्यो। सरकारका निकायहरुले सुनिदिनुपर्यो हाम्रो माग।’

रमाले मेयर बालेन्द्र शाहलाई गाली गरिनन्। बरु ‘सलाम छ’ भन्दै पछिल्लो समय बालेनले लिएको नीतिका कारण मन खल्लो भएको बताइन्।

‘बालेन्द्रले जित्दा हामीमा पनि केही होला भन्ने आशा थियो, तर हाम्रो मन खल्लो भयो’ रमा भन्छिन्, ‘बालेन्द्र शाह आउँदा युवाले केही गर्छन् होला, हामी गरीब गुरुबालाई पनि हेर्छन् होला भन्ने हामीलाई आश लागेको थियो।  तर, अहिले मनमा अलिकति दुःख लागेको छ।’

बालेन्द्रले राम्रै काम गरिराखेको तर फुटपाथमा पसल राख्न पाइने समय थप हुनुपर्ने रमाको माग छ। उनी भन्छिन्, ‘काम त राम्रो गर्नुभएको छ, उहाँलाई सलाम पनि छ। जम्मा २४ घण्टामा हामीले बेलुुकाको तीन घण्टा मागेका छौं। अफिस पनि छुटिसकेको हुन्छ। रोड त्यतिकै खेर जाँदाखेरि तीन घण्टालाई समय तोकेर हामीलाई विकल्प दिनुभयो भने हाम्रो चुल्हो बल्छ कि भन्ने आश गरेको हो।’

महानगरपालिकाले सडकमा बेलुका साढे ७ बजेदेखि मात्रै दोकान थाप्न समय छुट्याएको बताउँदै उनी भन्छिन्, ‘साढे ७ बजे गर्दाखेरि त घरघरमा खाना खाएर सुत्नेबेला हुन्छ। पहिले ६ बजे भएकोमा एक डेढ घण्टाले पनि हामीलाई धेरै फरक पार्यो। यस्तो महंगी बढेको छ, के गर्ने होला हामीले।’

रमाले अगाडि थपिन्, ‘विकासको काम गर्दा जनता भोकै मर्नु नपरोस्।’

‘एक बित्ताको पेट पाल्न पाउनुपर्यो’
महानगरपालिका अगाडि प्रदर्शनमा उत्रिएकी अर्की एक स्वरोजगार महिलाले विदेश नगई आफूहरुले स्वदेशमै दुःख गरेर देशकै लागि काम गरेको बताइन्। उनले महानगरसँग प्रश्न गरिन्– हामीले हाम्रो एकबित्ताको पेट पाल्नलाई विदेशै जानुपर्ने हो?

महानगरविरुद्ध आन्दोलन गर्न सुन्धारा आएकी उनले भनिन्, ‘हाम्रो एक बित्ताको पेट पाल्नलाई जे पनि गर्छौं तर, हाम्रा बालबच्चालाई पढाउनका लागि केही गरौं भनेर देशकै लागि काम गरेको हो। हामीले यहाँ पसीना बगाए पनि देशकै लागि काम गरेको हो।’

कलिलो उमेरमै विदेशमा दुःख गरेर स्वदेश फर्किएको बताउँदै उनले भनिन्, ‘विदेशमा गएर लात्ता घिच्चा खानुभन्दा त आफ्नै देशमा नगरपालिकाले गरेको लात्ता घिच्चा सहेर खाएका छौं। धेरै दुःख गरेका छौं हामीले। धेरै दुःख भोगेका छौं। फुटपाथमा व्यापारै गर्नुपर्छ, हामीसँग अर्को विकल्पै छैन। कि विदेशै जानुपर्ने हो ?’

महानगरपालिकाले गाउँ जाओ भन्ने गरेको सुनाउँदै उनले धेरै मानिसहरुको काठमाडौंबाट गाउँ फर्कन सक्ने अवस्था नरहेको सुनाइन्। 

‘गाउँमा जान पनि हामी कस्ता कस्ता छौं भने कोही अन्तरजातीय बिहा गरेका छन्, घरमा स्वीकारै छैन। कोहीको घरबारै छैन। कोहीको खोलानालाले बगाएको छ।’

उनले थपिन्, ‘म पनि विदेश जान भनेर काठमाडौं छिरेको। दुईचोटि विदेश गएँ। अर्काको देशमा गएर लात्ता घिच्चा गर्नुभन्दा नगरपालिकासँग दुःख गरेर २५० को टिशर्ट बेचेर खाऔं भनेर बसेका हौं हामी।’

‘व्यवसाय गर्न नपाएको डेढ महिना भयो’
तराई मधेशबाट काठमाडौं छिरेका मुकेश झाले फुटपाथमा कपडा बेच्न थालेको ८–१० वर्ष भइसक्यो। तर, यसपालिदेखि उनी उद्यमविहीन बनिने चिन्तामा छन्।

मुकेश भन्छन्, ‘फुटपाथमा बेलुका–बेलुका लुगा बेच्ने हो, अरु व्यवसाय छैन। सुरुदेखि यही काम गरियो  अर्थोक गर्ने के त ? ८–१० वर्ष भइसक्यो यही व्यवसाय गरेको।’

काठमाडौं महानगरपालिकाले दुःख दिइरहेको सुनाउँदै मुकेश भन्छन्, ‘पहिला त बेलुका साढे ६ बजेदेखि राख्न दिन्थ्यो, अहिले साढे ७ बजे भनेको छ, त्यही पनि टुंगो छैन। कतिखेर गाडी आउँछ, कतिखेर हाल्छ, थाहै हुँदैन। लास्टै गाह्रो भइरहेको छ। व्यवसाय गर्न नपाएको डेढ महिनाजति भइसक्यो। राख्नै पाएको छैन।’

‘छोराछोरी ६ जना छन्, टेन्सन छ’
जीवछी महतो आफूले बाटोमा व्यापार गरेको ३० वर्ष बितिसकेको सुनाउँछिन्। उनी भन्छिन्, ‘मेरो व्यवसाय सागसब्जी बेच्ने हो। यो सरकार आएदेखि हामीलाई उठाउनुभयो। ५ दिनको बच्चा लिएर हामीले बाटामा व्यापार गरेको ३० वर्ष भइसक्यो। अहिले बालेन आएर हामीलाई उठाउन लाए। अब के गर्नु? नगरौं, भात खान पैसा छैन। छोराछोरी ६ जना छन्, के गरेर पाल्ने हो ? टेन्सन छ।’

काठमाडौं महानगरसँग उनको गुनासो छ, ‘व्यवसाय गर्न नपाएको दुई महिना भइसक्यो। यसोउसो गरेर ऋण पनि कत्ति छ र पनि हामीले थेगिराखेको छ। पहिलाको अलिअलि पैसा भएको पनि जम्मै सिद्धिसक्यो।  अब के गर्ने होला ? कसरी पाल्ने छोराछोरी ? गल्ली–गल्लीमा राखेको समान पनि खोसेर लगिराखेको छ। सानो गल्लीमा राख्दा पनि सामान खोसेर लगेको छ नगरपालिकाले।’

उनी थप्छिन्, ‘दिनमा ४–५ सय रुपैयाँ हुन्थ्यो। त्यसैले चामल, दाल सप्पै किनेर ल्याउँथ्यौं। त्यसैले छोरोछारी पाल्थ्यौं। अलिअलि बचत गरेर कोठा भाडा तिर्थ्यौं।

‘हामीलाई हटाएर पार्किङ राखेको छ’
गोठाटारकी निर्मला हुमागाई नयाँ बानेश्वरको फुटपाथमा व्यवसाय गर्थिन्। महानगरले अहिले उनलाई पनि हटाएको छ। विहीबार आन्दोलनस्थलमा भेटिएकी निर्मलाले बालेन्द्र शाहकहाँ आफूहरु डेलिगेसन आएको बताइन्।

उनले भनिन्, ‘मेरो व्यवसाय नयाँ बानेश्वरमा थियो। मैले नयाँ बानेश्वरमा पसल गरेको बीसौं वर्ष भयो। योभन्दा अगाडि पनि हामीलाई महानगरपालिकाले धेरै दुःख दिइराखेको थियो। अहिलेचाहिँ सबै संघसंस्था, यहाँका बुद्धिजीवीहरु, क्लबका मान्छेहरु, स्थानीयबासीहरु मिलेर यहाँ राख्न पाइँदैन, खाली गर्नुपर्छ, अन्तै गएर सेटल हुनोस्, बाटोमा पैदल हिँड्ने हो, पसल राख्ने होइन भन्नुहुन्छ।’

निर्मलाले थपिन्, ‘योभन्दा अगाडि पैदल हिँडिराखेका थिए, हामीले के अप्ठ्यारो पारेका थियौं र ? अहिलेचाहिँ आएर अप्ठ्यारो हुन्छ? यो भन्दा अगाडि चाहिँ हामीले बाटो हिँड्न नदिएको त होइन। हामी दुई घण्टामात्रै व्यापार बस्ने हो। दिउँसोभरि त हामीले केही डिस्टर्ब गरेका थिएनौं। अहिले बिहानदेखि पार्किङ राखिदिइराखेको छ। हामीलाई हटाएर पार्किङ राखेको छ। योचाहिँ डिस्टर्ब नहुने, हामी बेलुका दुई घण्टा बस्दा डिस्टर्ब हुने ? यो त सुहाएन नि त।’

उनी महानगरसँग आक्रोशित हुँदै भन्छिन्, ‘२० सौं वर्ष डिस्टर्ब नहुने, अहिले आएर डिस्टर्ब हुने होइन होला। हामीले डिस्टर्ब गरेको जस्तो त लाग्दैन। आत्मनिर्भर भएर सानोतिनो व्यवसाय गरेर खाने मान्छेलाई डिस्टर्ब भो भन्छन्।’

सडकमा व्यवसाय गर्न नदिएपछि मेयर बालेन्द्रकहाँ डेलिगेसन आएको बताउँदै निर्मलाले भनिन्, ‘मेयर सा’बकोमा डेलिगेसन आइराखेका छौं। नेपाल स्वरोजगार व्यापार संघ जिफन्टद्वारा हामीले के कति गर्दाखेरि अधिकार पाइन्छ भनेर आएका छौं।’

निर्मलाले मेयर बालेन्द्रप्रति कटाक्ष गर्दै भनिन्, ‘हुन त महानगरपालिकाले आफ्नै गाउँ जाने त्यहाँ गएर खेती गर्ने, बाख्रा पाल्ने, कृषि गर्ने भन्नुभएको छ।  त्यही गर्ने हो कि? अरु केही व्यवस्था गर्ने हो कि? बालेन्द्र शाहले व्यवस्था गर्छु भन्नुभएको छ। कहाँ व्यवस्था गर्नुहुन्छ, त्यही आश्वासन देखेर हामी आइराखेका छौं।’

साना व्यवसायीलाई संसारभरि गरिखान दिइएको निर्मलाको तर्क छ। उनी भन्छिन्, ‘हाम्रो सानो व्यापारी भनेको त विश्वको जुन कन्ट्रीमा पनि चलिराखेको छ नि। ठूलो कन्ट्रीमा पनि चलेको छ। हाम्रो त सानो नेपाल हो नि त। हामीले त गर्न पाउनुपर्ने हो। तर, डिस्टर्ब गरे भनेको सुनिन्छ। हामीले मान्छे मारेर पापै गरेको जस्तो त लाग्दैन। आफ्नो आत्मसम्मानले दुःख गरेर खाएको जस्तो लाग्छ। के गर्नुहुुन्छ बालेन सरले, त्यही कुरा आशा राखेर आइराखेका छौं यहाँ। डेलिगेसन लिएर आइरहेका छौं हामी।’

फुटपाथ व्यवसायीको माग
आन्दोलनकारीको कुरा सुन्दा फुटपाथ व्यवसायीका विभिन्न माग छन्। जस्तै–

–दसैं नजिकै आएकाले दसैंसम्म फुटपाथमा पसल राख्न दिइयोस्।

– बेलुका ६ बजेदेखि पसल राख्न दिइँदै आएकोमा साढे ७ बजेपछि सारिएको छ, ५ बजेदेखि नै सडकमा सामान राख्न पाउनुपर्यो।

– सडकमा सामान बेच्न नदिने हाके भने विकल्प दिनुपर्यो। आदि।

आन्दोलनमा उत्रिएकी निर्मलाले नेपालखबरसँग भनिन्, ‘अब हामीलाई बालेन्द्र सरकारले ठुल्ठुलो कम्पनी खोलेर जागिर दिनुपर्यो, रोजगारी दिनुपर्यो। होइन भने हाम्रो विकल्प सोचिदिनुपर्यो। कि दुई घण्टा भए पनि, एक घण्टा भए पनि यथास्थानमा गएर बस भनेर भनिदिनुपर्यो।’

राति मात्रै बेच्न दिनुको अर्थ नहुने बताउँदै मुकेश झा भन्छन्, ‘ढिलो राख्नु भन्छ, राति ८ बजे को आउँछ किन्न ? व्यापार नभएपछि कसरी खाने ? ७ बजे राखेर मान्छे  बोहोनी नगरेरै जान्छ।  नाफा केही छैन। दिनभरिमा एक–दुईवटा बेचेर कोठाभाडा कसरी तिर्ने? हामीलाई चाँडै राख्न दिनुपर्यो। पाँच बजेतिर राख्न दिनुपर्यो।’ 

त्यस्तै जीवछि भन्छिन्, ‘हामीलाई व्यवस्थित गरेर ठाउँ दिए पनि हुन्थ्यो। नभए त्यही ठाउँमा, सडक छेउमा बेलुका ७ बजेदेखि ९ बजेसम्म राख्न दिए पनि हुन्थ्यो। नभए हामीलाई अर्कै ठाउँ खोजेर त्यो ठाउँमा बस्न पाए हुन्थ्यो।’

बालेन्द्रको प्रशंसा
त्यसो त मेयर बालेन्द्र शाहले काठमाडौंमा सुरु गरेको अभियानलाई लिएर धेरैले प्रशंशा गरिरहेका छन्। खास गरी घरबेटीहरुले पार्किङ स्थलमा गरेको अतिक्रमण एवं फटपाथको व्यवसाय हटाउने अभियान चलाएकोमा मेयर बालेन्द्रको प्रशंशा भइरहेको छ। बालेन्द्रले सही अभियान थालेको धेरैको प्रतिक्रिया छ।

फुटपाथका पसलहरु हटाएपछि बाटो फराकिलो देखिएको भन्दै मानिसहरुले बालेन्द्रको अभियानप्रति समर्थन जनाइरहेका छन्।

तर, बालेन्द्रको यो अभियानले सडकमा व्यवसाय गरेर गुुजारा चलाउँदै आएका मानिसहरुको रोजीरोटीको उपाय भने खोसिएको अवस्था छ। र, यसले गर्दा काठमाडौंमा एक प्रकारको आन्दोलनको स्थिति, वर्ग संघर्षको स्थिति देखा परेको छ।

यो परिस्थितिमा फुटपाथका व्यवसायीहरुको आवाजलाई नेकपा एमाले निकट मजदुर संगठन जिफन्टले ‘क्यास’ गरेको छ। कांग्रेस, माओवादी लगायतका दलहरु भने यो मुद्दामा मौन देखिएका छन्। रवि लामिछानेको पार्टीले भने बालेन्द्रको अभियानप्रति समर्थन जनाएको छ।

बालेन्द्रले थालेको अभियानको समर्थन र विरोधमा काठमाडौंबासीहरु ध्रुवीकृत हुँदै जाँदा यो अभियानले काठमाडौंमा बाहिरबाट आएर व्यवसाय एवं रोजगारी गर्नेहरुको जीवन थप कष्टकर हुने र यसले नयाँ सामाजिक अन्तरविरोध जन्माउने खतरा भने सतहमा देखा परेको छ।

यो वर्गीय संघर्ष हो : माया गुरुङ
नेपाल स्वरोजगार व्यापार श्रमिक संघकी नेतृ माया गुरुङको भनाइमा यो आन्दोलन एक प्रकारको वर्गीय संघर्ष हो।

गुरुङ नेपालखबरसँग कुरा गर्दै भन्छिन्, ‘यो एकप्रकारको वर्गीय संघर्ष हो। अनौपचारिक श्रम क्षेत्रमा रहेको यो जनसंख्या एकदमै ठूलो हिस्सा ओगटेको क्षेत्र हो। यो श्रम क्षेत्रलाई महानगरपालिकाले बेवास्ता गर्नुहुँदैन। यसको सुनुवाइ गर्नुपर्छ र व्यवस्थापनका लागि नीति बनाउनुपर्छ।’

गुरुङले अगाडि भनिन्, ‘यसलाई कार्यान्वायनमा लैजानका लागि महानगरबाट कार्यदल गठन गरिनुपर्छ र त्यसमा हाम्रो संगठनको पनि प्रतिनिधित्व हुनुपर्छ।’

उनी थप्छिन्, ‘साथै महानगरपालिकामा श्रम डेस्कको व्यवस्था गरेर  स्वरोजगार व्यवसायीहरुको पञ्जीकरण गर्ने र भोलिको दिनमा सामाजिक सुरक्षा कोषमा पनि सूचीकरण गर्नेदेखि लिएर महानगरबाट जफत गरिएको सामानहरु पनि फिर्ता हुनुपर्छ भन्ने हाम्रा माग छन्।’

अहिले दसैं आउउन लागेकाले तत्काल फुटपाथमा पसल राख्न दिनुपर्ने आफूहरुको माग रहेको गुरुङले बताइन्।

उनले भनिन्, ‘अहिले तत्कालीन अवस्थामा चाडबाडको मुखमा कम्तीमा पनि बेलुकाको दुई घण्टा भए पनि पसल राख्न दिएर हामीलाई बाँच्ने आधार दिनुपर्यो भन्ने माग हामीले गरेको हो।’   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .