राजनीति


‘भारतको अग्नीपथ अन्तर्गत गोर्खा सैनिक भर्तीबारे निर्णय नयाँ सरकार बनेपछि’

‘भारतको अग्नीपथ अन्तर्गत गोर्खा सैनिक भर्तीबारे निर्णय नयाँ सरकार बनेपछि’

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १७:६, काठमाडौँ

परराष्ट्र मन्त्रालयले भारतले अघि सारेको अग्नीपथ योजनामा नेपाली गोर्खा सैनिकको भर्तीबारे चुनावपछि बन्ने नयाँ सरकारले अघि बढाउने भएकाले सरकारले यस बारेमा तत्काल कुनै निर्णय नगर्ने बताएको छ। 

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले गोर्खा सैनिकको भर्तीबारे भारतसँग तत्काल छलफल र वार्ता नहुने प्रतिक्रिया दिइन्। 

भारतीय सेनाध्यक्ष मनोज पाँडेले अग्नीपथ योजना अन्तर्गत भारतीय सेनामा नेपालका गोर्खा सैनिकको भर्तीका लागि नेपाल सरकार तत्काल तयार नभए नेपालका लागि तोकिएका कोटा तत्कालका लागि रद्द गर्ने भनि दिएको अभिव्यक्तिका सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा लम्सालले त्यस्तो बताएकी हुन्। 

‘नेपाल सरकारको निर्णय भनेको अबको नवनिर्वाचित सरकारले नै गर्ने भन्ने हो। यसबारे तत्काल भारतसँग छलफल र वार्ता अघि बढ्दैन। उहाँहरूको कुरा उहाँहरूले राख्नुभयो होला। किनकी, उहाँहरूको देशको कुरा राख्न पाउने नै हुनुभयो। यसो गरौँ त्यसो गरौँ भन्दा पनि नवनिर्वाचित सरकारले सबै राजनीतिक दलहरूसँग कुरा गरेर यस विषयलाई अगाडि बढाउँदा नै उपयुक्त हुन्छ भन्ने हो’ लम्सालले भनिन्। 

के भनेका छन् भारतीय सेनाध्यक्षले? 
टाइम्स अफ इन्डियाका अनुसार युनाइटेड सर्भिस इन्स्टिच्युट अफ इन्डियाले आयोजना गरेको एक कार्यक्रममा भारतीय सेनाध्यक्ष पाँडेले अग्नीपथमा नेपालले निर्णय नलिएकोप्रति असन्तुष्टि जनाएका हुन्। 

‘अग्नीपथ अन्तर्गतका नेपाली गोर्खा सैनिकका लागि खुला गरिएका भ्याकेन्सि अरुलाई दिनुपर्ने हुनसक्छ। यदी नेपालका तर्फबाट गोर्खा सैनिक भर्तीका लागि समयमै अनुमति दिइएन भने’ पाँडेलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाको समाचारमा भनिएको छ। 

नेपाल भ्रमण सकेर फर्केको एक सातापछि भारतीय सेनाप्रमुखको यस्तो चेतावनी आएको हो। पाँडे असोज १९ देखि २३ गतेसम्म नेपाल भ्रमणमा आएका थिए। टाइम्स अफ इन्डियाका अनुसार भारतीय सेनाध्यक्ष पाँडेले नेपालले आसन्न चुनावअघि गोर्खा सैनिकको भारतीय सेनामा भर्तीबारे निर्णय लिने आफूले पनि बुझेको बताए। 

‘मैले बुझेअनुसार नेपालको केही तप्काले भारतीय सेनामा नेपाली युवाको भर्तीको विरोध गरिरहेका कारण नेपालले चुनावअघि गोर्खा सैनिकको भारतीय सेनामा भर्तीबारे निर्णय गर्नेछैन’ उनले भनेका छन्। पाँडेले अग्नीपथ अन्र्तगत आफ्ना युवालाई भर्तीमा जान दिने वा नदिने भन्ने विषय नेपालको आन्तरिक मामिला रहेको बताए। 

उनले भारतले अग्नीपथ अन्र्तगत चार बर्षका लागि भर्ना भई अवकाश भएपछि निस्कने ७५ प्रतिशत नेपाली गोर्खा सैनिकले पाउने सुविधाबारे नेपाल सरकारलाई ब्याख्या गरिसकिएको पनि बताए। 

‘यसरी भारतीय सेनाबाट चार वर्षपछि बाहिरिँदा नेपाली युवाले १७ लाख भारतीय रुपयाँको प्याकेज पाउँछन् भन्ने पनि नेपाललाई जानकारी गराइसकिएको छ’ उनले भनेका छन्। 

भारतीय सेनाले अग्नीपथ अन्तर्गत दुई चरणमा गरी ४०,००० सैनिक भर्ती गर्ने योजना बनाएको छ। त्यसका लागि अहिले भारतमा युवा छनौट चलिरहेको छ। 

भारतले नेपालबाट आगामी डिसेम्बरमा २५,००० र फेब्रुअरी महिनामा १५,००० सैनिक अग्नीपथ अन्र्तगत भर्ती गर्ने योजना बनाएको टाइम्स अफ इन्डियाले जनाएको छ। 

परराष्ट्र सचिव भरत राज पौड्याल अहिले भारत भ्रमणमै छन्। उनले बुधबार भारतीय विदेशमन्त्री एस जयशंकर र मंगलबार आफ्ना समकक्षीय विनय मोहन क्वात्रासँग भेटेका थिए। यी भेटमा सचिव पौड्यालले अग्नीपथ योजनाबारे कुरा नउठाएको स्रोतले बतायो।

‘नेपालमा उच्चतहमा अग्नीपथमा नेपाली युवाको भर्तीबारे कुनै निर्णय भइसकेको छैन। भारतलाई हाम्रो पोजिसन यसअघि नै बताइसकिएको पनि छ। तसर्थ सचिवस्तरीय बैठक र भारतीय परराष्ट्रमन्त्रीसँग भएका भेटमा त्यस विषयमा कुरा उठाउन उपयुक्त ठानिएन’ सचिव पौड्यालको भ्रमणमा संलग्न एक अधिकारीले नेपालखबरसँग भने।

नेपालले आग्रह गरेपछि भारतले रोकेको थियो गोर्खा भर्ती 
नेपाल सरकारले ‘अग्निपथ योजना’ अन्तर्गत भारतीय सेनामा गोर्खा सैनिक भर्तीबारे भारतसँग तीन साताअघि जानकारी मागेको थियो।

परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर अग्निपथ योजनाले गोर्खा सैनिक भर्तीमा पर्ने असरबारे सोधेका थिए। उनले मुलुकमा आन्तरिक सहमति बनाउन नेपाल सरकार गृहकार्यकै चरणमा रहेको भन्दै भारतीय सेनामा गोर्खा सैनिकको भर्ती नगर्न आग्रह गरेका थिए।

मन्त्री खड्काको आग्रहमा भारतले भदौ मध्यदेखि बुटबल र धरानका लागि शुरु गर्ने भनिएको गोर्खा भर्ती स्थगित गरेको थियो। यद्यपि भारतीय विदेश मन्त्रालयले डेढ साताअघि गोर्खा सैनिकको भर्ती प्रक्रिया अग्निपथ योजनाबमोजिम अघि बढ्ने बताएको थियो। 

नेपाल सरकारले अग्नीपथ योजना अन्र्तगत तत्काल युवा नपठाउने निर्णय भदौ दोश्रो साता गरेको थियो। त्यसपछि भारतीय वायुसेवाका उपप्रमुख तेजवीर सिंह नेपाल भ्रमणमा आएका थिए। उनले अग्नीपथ योजनामा नेपाली युवाको भर्तीबाट नेपाललाई फाइदा हुने आश्वासन दिएका थिए। 

तर प्रधानमन्त्री देउवाले आफूले राष्ट्रिय सहमति जुटाएर मात्रै त्यसबारेमा आवश्यक निर्णय लिने अडान व्यक्त गरेका थिए। भारतीय वायुसेवाका उपप्रमुख सिंह फर्केको दुईदिनपछि भारतीय सेनाध्यक्ष पाँडे नेपाल आएका थिए।

पाँडेको भ्रमणमा अग्नीपथ योजना अन्तर्गत नेपालीको भर्तीबारे छलफल नभएको अधिकारीहरुको भनाई छ। उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको पदवी लिएका थिए।

त्यसैगरी उनले प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवासँग भेटवार्ता पनि गरेका थिए। भारतीय प्रधानसेनापतिको भ्रमणमा नेपाल र भारत दुवैका तर्फबाट अग्नीपथ योजनाबारे कुरा नउठाइएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार अरुण कुमार सुवेदीले बताएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad