ad ad

राजनीति


यस्ताे छ प्रचण्डले ल्याउने नेकपाकाे ६महिने कार्ययाेजना

यस्ताे छ प्रचण्डले ल्याउने नेकपाकाे ६महिने कार्ययाेजना

सागर न्यौपाने
मंसिर २६, २०७६ बिहिबार १२:५८,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रदेखि स्थानीयसम्मका सबै तहलाई एकैपटक सक्रिय बनाउने कार्ययोजना ल्याउने तयारी गरेका छन्। 

‘राजनीतिक र संगठनात्मक प्रतिवेदन’ नाम दिइएको उक्त दस्तावेज प्रचण्डले शुक्रबार बस्ने सचिवालय बैठकमा पेश गर्नेछन्। स्थायी, केन्द्रीय, प्रदेश, जिल्ला र गाउँ कमिटी हुँदै वडासम्मलाई सक्रिय बनाउने याेजना उनले साे बैठकमा प्रस्तुत गर्नेछन्। 

सचिवालय बैठकबाट पारित भएपछि सो प्रतिवेदन मंसिर २९ र ३० मा बस्ने स्थायी समिति बैठकमा प्रस्तुत गर्ने प्रचण्डको तयारी छ। मंसिर २३ गते आफ्नो अध्यक्षतामा बसेको सचिवालय बैठकमा मौखिक रुपमा ६ महिने कार्ययोजना प्रस्तुत गरेका प्रचण्डले त्यसलाई लिखित रुप दिएर आउने बैठकमा पेश गर्न लागेका हुन्।

पार्टी एकता भएको १८ महिनापछि कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका प्रचण्डले नेकपाको राजनीतिक तथा सांगठनिक प्रतिवेदन तयार पारेका हुन्।

पार्टी एक भएपनि सम्पूर्ण एकता प्रक्रिया नटुंगिएकाले पार्टी पंक्तिलाई देशभर एकैसाथ क्रियाशील गराउन उक्त कार्ययोजना आवश्यक रहेको प्रचण्डको बुझाइ छ। पार्टीको राजनीतिक वैचारिक कार्यदिशा, पार्टीको कार्ययोजना, सांगठनिक र जनपरिचालनजस्ता उपशीर्षक दिएर प्रचण्डले प्रतिवेदन तयार पारेका नेकपाका एक स्थायी समिति सदस्यले नेपालखबरलाई जानकारी दिए।

के के छ कार्ययाेजनामा?

केन्द्रबाट एकता प्रक्रिया सुरु गरेको नेकपाले सबै तहको एकता टुंगो लगाउन सकेको छैन। त्यसैलाई पूरा गर्न भन्दै उनले यो कार्ययोजना अघि सारेका हुन्।

अबको पाँच महिनाभित्र सबै तहको संरचना निर्माण गरी सबै तहमा प्रशिक्षण, भेला बनाउने र संगठनलाई एउटा संरचनामा लैजाने योजना प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, योजना निर्माण गर्दा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन खाका बनाउनुपर्ने प्रचण्डको जोड छ।

जनपरिचालनको अर्काे बुँदामा अध्यक्ष प्रचण्डले नेकपाका विदेश विभाग, स्कुल विभाग, अनुशासन आयोग, निर्वाचन आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्जस्ता विभागलाई चलायमान बनाएर तिनीहरुको भूमिका बढाउने उल्लेख छ।

‘कार्यनीतिक सिद्धान्तका आधारमा सरकारले गरेका राम्रा कामहरुको स्थानीय तहसम्म प्रचारप्रसार गरी सरकारलाई सफल बनाउन पार्टीका सबै तहका नेताहरुको उत्तिकै भूमिका हुने भएकाले सोही अनुसार लाग्न सबै पंक्तिसँग आग्रह गरिएको छ,’ नेकपाका एक सचिवालय सदस्यले नेपालखबरसँग भने।

तत्कालीन माओवादी केन्द्रका बैठकमा अध्यक्ष प्रचण्डले लिखित प्रतिवेदन पेश गर्ने गर्थे। नेकपाकाे कार्यकारी अध्यक्ष भएपछि प्रचण्डले सोही अभ्यास दोहोर्याएका हुन्। एक हप्ताको अवधिमा तयार पारिएको भनिएको उक्त प्रतिवेदनमा प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा पनि गरेका छन्। 

ती सदस्यका अनुसार प्रचण्डले वैचारिक कार्यदिशा परिवर्तनबारे समेत प्रस्ताव समेटिएको राजनीतिक तथा सांगठिनक प्रतिवेदन तयार पारेका छन्। प्रतिवेदनमा राजनीतिक–वैचारिक कार्यदिशा संशोधन गर्दै उनले पार्टीको लक्ष्य साम्यवाद रहेको उल्लेख गरेको ती नेताले जानकारी दिए।

तत्कालीन एमाले–माओवादी एकतापछि बनेको नेकपाले जनताको जनवाद र अधिकतम लक्ष्य समाजवाद भनी वैचारिक कार्यदिशा तय गरेको थियो।

प्रचण्डले नेकपाकाे अबकाे कार्यदिशा ‘वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादको दिशातिर अघि बढ्ने’ हुनुपर्ने प्रस्ताव समेत दस्तावेजमा उल्लेख गरेकाे उनीनिकट नेताहरूले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .