ad ad

राजनीति


परराष्ट्रसचिव पौड्याल मंगलबार भारत जाँदै, के के छन् छलफलका एजेन्डा?

परराष्ट्रसचिव पौड्याल मंगलबार भारत जाँदै, के के छन् छलफलका एजेन्डा?

सन्तोष घिमिरे
भदौ २४, २०७९ शुक्रबार २१:५५, काठमाडौँ

परराष्ट्र सचिव भरत राज पौड्याल आउँदो साता भारत भ्रमणमा जाने भएका छन्। समकक्षी विनयमोहन क्वात्राको मैत्रीपूर्ण निमन्त्रणामा पौड्याल नयाँ दिल्ली जाने भएका हुन्। 

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शुक्रबार सचिव पौड्यालको भारत भ्रमणको घोषणा गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार आगामी मंगलबार र बुधबार सचिव पौड्यालले भारत भ्रमण गर्दैछन्। पौड्याल र क्वात्राबीच मंगलबार द्विपक्षीय बैठक हुनेछ। 

‘दुई पक्षबीच नेपाल–भारत सहकार्यका विभिन्न पक्षबारे छलफल हुनेछ,’ नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ।  

पौड्यालको भ्रमणमा नेपाल र भारतबीच हालैका उच्चस्तरीय भ्रमण आदानप्रदानका क्रममा अघि बढाइएका पहल र विभिन्न घोषणाको प्रगति समीक्षा हुने भारतीय परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ। 

नेपाल–भारत द्विपक्षीय सम्बन्धका बहुआयामिक सहकार्यका सबै क्षेत्रमा भ्रमणमा छलफल हुने विज्ञप्तिमा उल्लेख छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा गत अप्रिल पहिलो साता नयाँ दिल्ली गएका थिए। त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मे दोश्रो साता लुम्बिनी भ्रमणमा आएका थिए। यी दुई उच्चस्तरीय भ्रमणमा सीमा समस्या लगायत विषयमा प्रगति नभए पनि उर्जा क्षेत्रमा दीर्घकालीन सहकार्यका सवालमा दुई देशबीच महत्वपूर्ण समझदारी भए। मोदी सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री नियुक्त भएयता पाँच पटक नेपाल आइसकेका छन्। मोदी सरकारले ‘छिमेक प्रथम नीति’ अनुसार नेपाल लगायत छिमेकीसंग सम्बन्ध विस्तारको नीति अघि सारेको छ। 

उर्जा क्षेत्रको सहकार्यमा उल्लेख्य प्रगति 
प्रधानमन्त्री देउवाको भारत भ्रमणमा नेपाल र भारतबीच उर्जा क्षेत्रमा सहकार्यसम्बन्धी ‘ज्वाइन्ट भिजन स्टेटमेन्ट’ जारी भएको थियो। ४५ दिनकै अन्तरालमा दुई प्रधानमन्त्रीबीच लुम्बिनीमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्री देउवाले भारतका इच्छुक सरकारी कम्पनीलाई पश्चिम सेती र सेती ६ जलविद्युत् आयोजना निर्माणका लागि आह्वान गरेका थिए। आह्वानअनुसार भारतको एक सरकारी कम्पनीले पश्चिम सेती निर्माणको इच्छा देखाएर लगानी बोर्डमा आवेदन दिएको थियो। 

देउवा र मोदीबीच लुम्बिनीमा भएको छलफल बमोजिम नेपालले भारतीय सरकारी कम्पनी एनएचपीसीलाई पश्चिम सेती र सेती ६ जलविद्युत आयोजना निर्माणको जिम्मा दिएको छ। 

नेपालको लगानी बोर्ड र एनएचपीसीबीच यी दुई आयोजना विकासको औपचारिक सम्झौतामा तीन साताअघि हस्ताक्षर भएको थियो। यी दुई आयोजनाबाट १२०० मेगावाट विद्युत उत्पादनको लक्ष्य लिइएको छ। 

त्यसैगरी मोदीको लुम्बिनी भ्रमणमा अरुण चौथो परियोजना निर्माणका सम्बन्धमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको सतलज विद्युत निगमका अध्यक्ष नन्दलाल शर्माबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो। अरुण चौथो परियोजनाबाट ४९०.२ मेगावाट विद्युत निकाल्ने योजना छ। 

देउवा र मोदीका भ्रमणमा भएका सहमति अनुसार नेपालले गत जेठ महिनायता भारतलाई विद्युत निर्यात गरिरहेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार साउन महिनामा मात्रै नेपालले भारतलाई बिजुली २ अर्ब रुपैयाँ आम्दानी गरेको थियो। 

सीमा समस्या र अग्निपथमा गोर्खा भर्तीबारे कुरा होला? 
परराष्ट्र सचिव पौड्यालको भ्रमणमा सीमा समस्याबारे सामान्य छलफल हुनसक्ने जानकार अधिकारीहरुको भनाइ छ। नेपाल र भारतबीच कालापानी लगायत क्षेत्रमा देखिएको सीमा विवाद समाधान हुन सकेको छैन। भारत र नेपालले कालापानीलाई आफ्ना राजनीतिक नक्सामा समेटेका छन्। सन् २०१९ नोभेम्बरमा भारतले नेपाली भूमि कालापानीलाई राजनीतिक नक्सामा अद्यावधिक गरेपछि नेपालले त्यसको ६ महिनापछि राजनीतिक नक्सा जारी गरेको थियो। त्यसयता नेपालले द्विपक्षीय संयन्त्रमार्फत् सीमा समस्या हल गर्न भारतलाई आग्रह गर्दै आएको छ। 

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग अप्रिलमा भएको वार्तामा सीमा समस्याबारे कुरा उठाएका थिए। तर नेपाल र भारतबीच सीमा समस्या हल गर्न ‘ब्रेक थ्रु’ चाहिँ भएन। सीमा समस्याको मुद्दा संयुक्त वक्तव्यमा राख्नेबारे सहमति नजुट्दा संयुक्त वक्तव्य जारी हुन नसकेको अधिकारीहरु बताउँछन्। 

यतिबेला भारतले अघि सारेको अग्निपथ योजना अनुसार भारतीय सेनामा नेपाली गोर्खा सैनिकको भर्तीबारे दुई देशबीच छलफल जारी छ। सचिव पौड्यालको भ्रमणमा छलफलले निरन्तरता पाउने अधिकारीहरुको भनाइ छ। 

‘अग्निपथ योजना’ अन्तर्गत भारतीय सेनामा गोर्खा सैनिक भर्तीबारे सरकारले दुई साताअघि भारतसँग जानकारी मागेको थियो। परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर अग्निपथ योजनाले गोर्खा सैनिक भर्तीमा पर्ने असरबारे सोधेका थिए। उनले मुलुकमा आन्तरिक सहमति बनाउन नेपाल सरकार गृहकार्यकै चरणमा रहेको भन्दै भारतीय सेनामा गोर्खा सैनिकको भर्ती नगर्न आग्रह गरेका थिए। 

मन्त्री खड्काको आग्रहमा भारतका तर्फबाट गोर्खा भर्ती तत्कालका लागि स्थगित गरिएको छ। यद्यपि भारतीय विदेश मन्त्रालयले डेढ साताअघि गोर्खा सैनिकको भर्ति प्रक्रिया अग्निपथ योजनाबमोजिम अघि बढ्ने बताइसकेको छ। हालै भारतीय सेनाध्यक्ष मनोज पाण्डेको नेपाल भ्रमणमा गोर्खा भर्तीबारे कुरा नउठेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार अरुण सुवेदीको भनाइ छ। 

झन्डै दुई वर्षपछि परराष्ट्र सचिवस्तरीय बैठक बस्दै  
नेपाल र भारतका परराष्ट्र सचिवबीच झन्डै दुई वर्षपछि द्विपक्षीय बैठक हुन लागेको हो। सन् २०२० नोभेम्बरमा तत्कालीन भारतीय परराष्ट्रसचिव हर्ष श्रृङ्गला नेपाल भ्रमणमा आएका थिए। श्रृङ्गलाको स्थानमा आएका क्वात्रा नेपालका लागि भारतका पूर्वराजदूत पनि हुन्। तिनै क्वात्राको निम्तोमा पौड्यालको दिल्ली यात्रा हुन लागेको हो।  

सचिव पौड्याल र क्वात्राबीच नयाँ दिल्लीमा हुने भेटवार्तामा दुई देशबीचको राजनीतिक, आर्थिक र जनस्तरको सम्बन्धका सबै पक्षमा छलफल हुनेछ। त्यस्तै नेपाल र भारतबीच राष्ट्रसंघ लगायत बहुपक्षीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्यबारे छलफल हुनेछ। भारतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को पुनर्संरचनामा जोड दिंदै आएको छ। जसअनुसार भारत राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य बन्न चाहन्छ। नेपालले भारतको उक्त मागमा समर्थन जनाउँदै आएको छ। 

परराष्ट्र सचिव पौड्यालले भारतमा अन्य उच्चपदस्थ सरकारी अधिकारीसँग भेटवार्ता गर्ने वा नगर्ने टुंगो लागिनसकेको अधिकारीहरुको भनाइ छ। भारतीय परराष्ट्रमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ताको अपेक्षा गरिएको उनीहरुको भनाइ छ। औपचारिक भ्रमण सकेर सचिव पौड्याल बिहीबार स्वदेश फर्किनेछन्। 

सन् २०२० अक्टोबर ९ मा परराष्ट्र सचिव नियुक्त भएयता पौड्यालको यो पहिलो औपचारिक भारत भ्रमण हो। पौड्यालका समकक्षी क्वात्राको नेपाल भ्रमण पनि भएको छैन। क्वात्रा गत मेमा परराष्ट्रसचिव नियुक्त भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .