बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमिनले बिहीबारबाट सुरु हुन लागेको भारत भ्रमण अन्तिम मिनेटमा आएर रद्ध गरेका छन्।
भारतमा नागरिकता संशोधन विधेयक पारित भएकोमा बंगलादेश असन्तुष्ट रहेकाले भ्रमण रद्ध भएको हुनसक्ने अनुमान गरिएको छ। तर, विदेशमन्त्री मोमिनले व्यस्त कार्यतालिकाका कारण नयाँ दिल्ली जान नपाएको बताएका छन्।
‘मैले यात्रा रद्ध गर्नैपर्ने भयो किनभने मैले बुद्धिजीवी दिवस र विजय दिवसमा सहभागी हुनुपर्ने भयो,’ उनको भनाइ एएनआईले उधृत गरेको छ, ‘त्यसमाथि राज्यमन्त्री मड्रिड र विदेश सचिव हेगमा हुनुहुन्छ।’
दिल्लीमा हुने ११ औँ दिल्ली डायलग, छैठौँ इन्डियन ओसन डायलगलगायतमा सहभागी हुने कार्यक्रम थियो।
भारतले बुधबार पाकिस्तान, अफगानिस्तान र बंगलादेशमा सताइएका र भारतमा बसिरहेका मुस्लिमबाहेकका व्यक्तिलाई नागरिकता दिनेगरी कानुन पारित गरेको थियो। एजेन्सी
प्रतिक्रिया