ad ad

राजनीति


डेरावाललाई मतदाता बनाएको भन्दै काठमाडौं ४ मा गगन र राजनबीच विवाद

कांग्रेस भन्छ– किर्तेमा मुद्दा परिसक्यो, एमाले भन्छ– कार्यपालिका सदस्यलाई धम्क्याइयो
डेरावाललाई मतदाता बनाएको भन्दै काठमाडौं ४ मा  गगन र राजनबीच विवाद

केशव सावद
भदौ २३, २०७९ बिहिबार ११:३७, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर ४। यति भन्नेवित्तिकै सम्झिने नाम हो– गगनकुमार थापा। उनले यही क्षेत्रबाट संसदीय निर्वाचन जित्दै आएका छन्। 

काठमाडौं महानगरपालिकाका ४ र बूढानीलकण्ठ नगरपालिकाका ७ वडाको भूगोल समेटेर काठमाडौं–४ निर्धारण गरिएको छ। 

यसअन्तर्गत काठमाडौंका १, ७, ८ र ३० तथा बूढानीलकण्ठका १, २, ८, ९, १० ११, १२ र १३ नम्बर वडाहरु पर्दछन्। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस महामन्त्री थापाले नेकपा एमालेका डा. राजन भट्टराईलाई झण्डै तीन हजार मतले पराजित गरेका थिए।

थापा २१ हजार ५५८ मतका साथ विजयी हुँदा भट्टराईले १८ हजार १४० मत ल्याएका थिए। 

त्यसअघि २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा एमालेकै निर्मल कुइँकेललाई झण्डै १३ हजार मतले पछि पार्दै उनी संविधानसभा सदस्य बनेका थिए। 

उक्त निर्वाचनमा थापाले २२ हजार ३३६ मत प्राप्त गर्दा कुइँकेलले ९ हजार १३५ मत पाएका थिए।  

कांग्रेस महामन्त्री थापा मंसिर ४ को संसदीय निर्वाचनमा पनि काठमाडौं–४ बाटै उठ्ने तयारीमा छन्। उनी काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएर भावी प्रधानमन्त्रीका लागि ‘एटेम्ट’ गर्ने मनस्थितिमा छन्। 

तर, एमाले भने यस पटक उनलाई रोक्न सकिनेमा आशावादी देखिन्छ। आफ्नो आन्तरिक सर्वेक्षण प्रतिवेदनमा एमालेले काठमाडौं–४ लाई प्रतिस्पर्धा भए पनि सजिलै जित्ने क्षेत्रमा राखेको छ।  गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्य दलहरूभन्दा आफ्नो पार्टीले बढी मत पाएको भन्दै सर्वेक्षण प्रतिवेदनमा एमालेले काठमाडौं–४ मा सहजै जित्ने दाबी गरेको छ।  

स्थानीय तह निर्वाचनमा काठमाडौं–४ अन्तर्गत पर्ने वडाध्यक्षका उम्मेदवारले पाएको मतअनुसार एमाले र कांग्रेसबीचको मतान्तर मात्र ७४४ छ। वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा काठमाडौं–४ मा एमालेको १६ हजार ५०७ र कांग्रेसको १५ हजार ७६३ मत देखिन्छ। 

स्थानीय तह निर्वाचनको मत परिणाममा झिनो मतान्तर देखिएपछि काठमाडौं–४ मा कांग्रेस सहज जीतको खोजीमा छ। अर्कातिर एमाले जसरी पनि कांग्रेसलाई पराजित गर्ने दाउमा छ। 

एमालेले फर्जी मतदाता थपेको आरोप
कांग्रेस र एमालेबीच काठमाडौं–४ मा सहज जीतका लागि अहिलेदेखि नै दाउपेच सुरु भएको छ। 

दुवै दलले नयाँ थपिएका मतदाताको नामावलीलाई अन्तिम रुप दिने क्रममा एकअर्कालाई फाइदा नपुगोस् भनेर आ–आफ्नै रणनीति अपनाएका छन्।

कांग्रेस काठमाडौं–४ मा पर्ने बूढानीलकण्ठका वडाबाट थपिएका नयाँ मतदाता रोक्न र एमालेले थपिएका सबैलाई मान्यता दिलाउन खोजिरहेको छ। 

बूढानीलकण्ठका वडाहरुबाट एमालेले फर्जी मतदाता थपेको कांग्रेस दाबी गरिरहेको छ। एमाले भने नयाँ मतदाता रोक्न कांग्रेसले जिल्ला निर्वाचन कार्यालयलाई दबाब दिएको आरोप लगाइरहेको छ। 

कांग्रेसको क्षेत्रीय कार्यसमितिले एमालेले जथाभावी फर्जी कागजात पेस गरेर नक्कली मतदाता खडा गरेको दाबी गर्दै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, निर्वाचन आयोग, राष्ट्रिय सतर्कता केन्द्र र टेकु प्रहरीमा लिखित उजुरी दिएको थियो। 

क्षेत्रीय सभापति श्यामकृष्ण संगतले पार्टीका तर्फबाट ती निकायहरुमा पत्र पठाइएको पुष्टि गरे।

‘असार २५ गते जिल्ला समन्वय समितिमा एमालेले नक्कली बसाइँ सराइ गरेर जथाभावी मतदाता थप्न लागेको सूचना पायौँ,’ उनले भने, ‘त्यसपछि हामीले पत्र पठाएका हौँ।’ 

कांग्रेसको उजुरीपछि आयोगले स्थानीय प्रशासनलाई सत्यतथ्य बुझेर पठाइदिन पत्राचार गरेको सभापति संगतले बताए। त्यसपछि निर्वाचन कार्यालयबाट झण्डै साढे ४ सय जनाको मतदाता नामावली खारेज भएको पनि उनले बताए। 

‘४४४ कि ४४६ जनाको बसाइँ सराई स्थानीय पञ्जिकामा दर्ता नभएका पाइयो भनेर कार्यालयले मौखिक भनेको छ,’ संगतले भने, ‘पञ्जिकामा दर्ता नभएकाहरुको नाम हटाइसक्यो।’

७५५ जना मतदाताको विवाद 
त्यसको विरोधमा सोमबार एमालेले अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालय घेरेको छ। कांग्रेसको योजनामा निर्वाचन कार्यालय परिचालित भएको भन्दै  बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र उपमेयर अनिता लामासहितले निर्वाचन कार्यालयमा घेराउ र नाराबाजी गरे।

एमालेका नेता–कार्यकर्ताहरुले घेराउ गरेर नाराबाजी गरेपछि कांग्रेस नेता–कार्यकर्ताहरु पनि निर्वाचन कार्यालय पुगेका थिए। 

‘मेयर, उपमेयर, वडाध्यक्षसहित एमालेका कार्यकर्ताहरूले प्रमाण नभए पनि निरन्तरता दिनुपर्छ भनेर नारा–जुलुस गरे,’ कांग्रेसका क्षेत्रीय सभापति संगतले भने, ‘अनि हामी पनि गयौं। हामीले फेक डकुमेन्ट भएका एक जना पनि राख्न पाइन्न भनेर निर्वाचन कार्यालयलाई भन्यौं।’

एमालेका कार्यकर्ता र त्यहाँका केही मतदाताले आफूहरुलाई जबरजस्ती फर्जी सूचीमा राख्न खोजिएको भन्दै निर्वाचन कार्यालय घेरेका थिए। 

बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले निर्वाचन कार्यालय पुगेर कांग्रेस महामन्त्री थापाको दबाबमा निर्वाचन कार्यालयले मतदातामा आतंक मच्चाएको बताएकी छन्।

उनका अनुसार निर्वाचन कार्यालयले बूढानीलकण्ठ नगरपालिकाका ७५५ जना मतदाताको विवरण नै तोकेर सक्कल कागजात २४ घण्टामा पेस गर्न भनेको थियो। त्यसपछि आफूहरु विवरणमा उल्लेखित मतदातासहित निर्वाचन कार्यालय पुगेको उनले बताइन्। लामाले एमाले समर्थक र शुभेच्छुक मतदातालाई लक्षित गरी आयोगले थापाको निर्देशन फर्जी भन्न खोजेको बताइन्। 

प्रहरीमा उजुरी परिसकेको छ, किर्ते गर्ने जेल जान्छन् : कांग्रेस
काठमाडौं क्षेत्र नम्बर ४ मा देखिएको मतदाता विवादबारे सो क्षेत्रका सांसद एवं कांग्रेस महामन्त्री गगन थापाको सचिवालयका एक सदस्यले यसरी वर्णन गरे :

२०७४ सालमा नयाँ भूगोलसहित बुढानीलकण्ठ नगरपालिका बन्यो। त्यसबेला करिब हजार÷बाह्रसय मतदाता फर्जी रहेको भन्ने आयो। फर्जी भन्नाले यहाँ भाडामा बसेका र बाहिरबाट बसाइँ सराईको फर्जी कागज ल्याएर मतदाता सूचीमा नाम समावेश भएकालाई पनि मतदाताको सूचीमा हालियो। यो कुरा थाहा पाएर हामीले अन्तिम समयमा निर्वाचन आयोगमा धर्नै बसेर त्यसलाई सच्याउन लगायौं।

यो पटक स्थानीय चुनावमा त त्यस्तो भएको छैन होला भन्ने थियो तर गाइँगुइँ सुनिएको थियो। गगन थापाले निर्वाचन आयोगमा फोन गरेर कम्प्लेन पनि गर्नुभएको थियो। उनीहरुले अहिले त्यस्तो हुँदै हुँदैन, हामी हेर्छौं भनेका थिए।

स्थानीय निर्वाचन सकिएपछि अलि बढी कुराहरु आउन थाल्यो। त्यसपछि त हामीले प्रमाण नै भेटिहाल्यौं। प्रमाण भेटिएपछि हामी निर्वाचन आयोगमा गयौं।

त्यहाँ गएर नाराबाजी गरिसकेपछि किर्तेवालाको भागाभाग भयो। त्यसपछि कागजातसहित मुुद्दा हालिएको छ। १३ जनालाई किर्ते जालसाजीमा अहिले मुुद्दै छ। प्रहरीले अनुसन्धान अगाडि बढाइराखेको छ। उनीहरु तेह्रैजना अब भित्र जान्छन्।

१३ जनालाई किर्ते जालसाजीमा मुुद्दा हालिसकेपछि निर्वाचन आयोगले असार महिनापछिको मतदाता नामावली छानविन गर्दाखेरि ४५३ जना फर्जी भेटाएर आफैंले निकाल्यो।

निर्वाचन आयोगसँग हाम्रो कम्प्लेन के हो भने फर्जी बसाइँ सराइ जसले ल्यायो, उनीहरुलाई सूचीबाट हटाउनुपर्छ। फर्जी बसाइँ सराइ भनेको त किर्ते कागज हो। त्यस्तो किर्ते गर्नेमाथि कारवाही गर्नुपर्छ।

कुनै पनि मान्छेले बसाइँ सराइ गर्यो भने पञ्जीकरण विभागमा त्यसको प्रमाण आएको हुुन्छ। त्यो प्रमाणका आधारमा निर्वाचन आयोगले आफैं छानविन गरेर कतिपयको नाम हटाएको छ।

सात सयभन्दा बढीचाहिँ शंकास्पद देखिएको भनेर उसले बाहिर ल्यायो। यी ७ सय मध्ये केही मान्छेहरुसँग बसाइँ सराइको वास्तविक कागज भएको तर शंकास्पद सूचीमा नाम प्रकाशित भएको पनि हुन सक्छ। यसमा आयोगले आऊ भनेर स्पष्टीकरणको मौका पनि दिएको छ। 

एमालेका साथीहरु के भनेर आएका छन् भने पहिला भोट हालिसकेका मानिसलाई हाल्न दिनुपर्छ। तर, निर्वाचन आयोगको नियमले के भन्छ भने पहिला भोट हालेको भए पनि  कीर्ते गरेको हो भने जहिले भोट हालेकोलाई पनि कारवाही गर्न पाइन्छ।

कार्यपालिकाकै सदस्यलाई नक्कली मतदाता भन्दै धम्क्याइयो : राजन भट्टराई
काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापासँग चुनावी प्रतिस्पर्धा गर्न लागेका नेकपा एमाले नेता डा. राजन भट्टराईको प्रतिक्रिया यस्तो छ :

काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसका साथीहरुबाट विभिन्नखालको लफडा निकाल्न खोजिँदैछ। त्यहाँ हाम्रा साथीहरुले छुट भएका मतदाताहरुको नाम दर्ता गराएका थिए। थपिएका मतदाताका बारेमा यी सक्कली होइनन् भनेर अनावश्यक ढंगले विषय बनाएर निर्वाचन आयोगबाट मतदाताहरुलाई फोन गराएर लफडा गरिँदैछ।

करिब ७–८ सय मतदातालाई त्यसो गर्न खोजिएको थियो।  अस्ति हाम्रा स्थानीय साथीहरु निर्वाचन कार्यालयमा जानुभएको थियो। त्यसको भोलिपल्ट मैले प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त ज्यूहरुसँग डेलिगेसनमा संयुक्त रुपमा भेटेर यस्तो विववाद नगरौं भनें।

तपाईहरुले मतदातालाई बढी भन्दा बढी सहभागिता गराउने गरी पढाउनुपर्ने हो, मतदाता भइसकेका मानिसहरुलाई तिमीहरु हौ कि होइनौ भन्दै आतंकित गराउने कार्य किन गरेको भनेपछि उहाँहरुले यसमा उचित निर्णय गरिसकेका छौं भन्नुभएको छ। उहाँहरुले जायज मतदाताहरु छुट्दैनन् भन्नुभएको छ।

उहाँहरु (कांग्रेस) का साथीहरु विभिन्न फन्डा जान्नुहुन्छ। उहाँहरुले को–को मतदातालाई मुद्दा चलाउनुभएको छ, त्यो त उहाँहरुले नै जान्ने कुरा हो, मलाई यसको जानकारी छ्रैन। तर, मतदान गर्न पाउने नागरिकको अधिकारबाट बञ्चित हुने कुरामा कमी कमजोरी नगर्नोस् भनेर हामीले आयोगलाई भनेका छौं।

काठमाडौंमा डेरामा बस्ने मानिसहरु मतदाता हुन सक्दैनन्। मतदाता को–को हुने भन्ने त निर्वाचन आयोगको मापदण्ड छ, त्यो मापदण्ड पूरा भएकाहरु मात्रै मतदाता हुन्छन्। तर, बुढानीलकण्ठ नगरपालिकाको कार्यपालिकाको सदस्यलाई फोन गरेर उहाँहरुले तेरो मतदाता नामावली नक्कली हो भनेर आतंकित पार्नुभएको छ। जबकि उहाँले ०७४ सालमा निर्वाचनमा भाग लिएको मान्छे। निर्वाचन कार्यालयबाट चिठी लेखाएर धम्की र दबाव दिने काम भइराखेको छ।

यसमा हाम्रो भनाइ के हो भने फर्जी मतदाताले मतदानमा भाग लिन पाउनुहुँदैन, त्यो स्वाभाविककै छ। तर, कार्यपालिकाकै सदस्यलाई मतदाता नामावलीमा तेरो नाम छैन, तैंले नक्कली कागज लिएर गरिस् भनेर धम्कीपूर्ण फोन गएपछि अनि साथीहरु आक्रोशित भएर लिस्ट ल्याएर दिएपछि निर्वाचन आयोगले त्यस्तो होइन भनेर निर्णय गर्यो।  

के भन्छ निर्वाचन कार्यालय?
जिल्ला निर्वाचन कार्यालयले नयाँ थप भएका मध्ये झण्डै एक हजार हाराहारी मतदाताविरुद्ध दाबी–विरोध परेको बताएको छ। 

‘नयाँ मतदाताको नामावलीमा दाबीविरोधको प्रक्रिया हुन्छ,’ निर्वाचन कार्यालयकी सूचना अधिकृत समिता बस्नेतले भनिन्, ‘ठूलो संख्यामा दाबीविरोध भयो। एक हजारको हाराहारीमा दाबीविरोध परेको छ।’

कांग्रेसका तर्फबाट भएको दाबी विरोधमा स्वाभाविक मतदाताविरुद्ध पनि दाबीविरोध भएको भन्दै एमाले आक्रोशित भएर निर्वाचन कार्यालय घेराउ गर्न गएको हो। 

‘दाबीविरोध गर्दा स्वाभाविक मतदाता पनि परेका छन्,’ सूचना अधिकृत बस्नेतले भनिन्, ‘उजुरी हाल्दैमा कसैको नाम हट्ने होइन। छानविन हुन्छ।’ 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख ठाकुर भट्टराईले दाबीविरोध पर्दैमा प्रक्रिया पुगेका मतदाताको नाम नामावलीबाट नहट्ने बताए। उनले छानविनका माध्यमबाट सही र झुठा मतदाताहरु छुट्याइने जानकारी दिए। 

‘सही मतदाता छुट्दैनन्। वञ्चित हुँदैनन्। गलत मतदाता नजिक आउँदैनन्,’ भट्टराईले नेपालखबरसँग भने, ‘छानविन भइरहेको छ। प्रक्रिया पुर्‍याएर यो विषय टुङ्ग्याउँछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .