पाँचदलीय गठबन्धन सिट बाँडफाँट गर्न बनेको कार्यदलले सहमति भएको विषयसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने भएको छ।
मंगलबार अबेरसम्म बसेको कार्यदल बैठकमा सबै क्षेत्र बाँडफाँटमा सहमति हुन नसकेपछि त्यही आधारमा प्रतिवेदन बुझाउन लागेको हो।
‘भोलि बुधबार शीर्ष नेतालाई मिलेको र नमिलेको कुरा उल्लेख गर्दै छुट्याएर प्रतिवेदन बुझाउँछौँ’ कार्यदलका एक सदस्यले नेपालखबरसँग भने, ‘केही कुरामा सहमति जुट्न बाकी रह्यो।’
आज मंगलबार सिट टुङ्गो लगाएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने सोमबार (२० भदौ) मा सहमती भएको भनिएको थियो।
साँझ ६ बजेदेखि बसेको बैठकमा लामै छलफल भएपनि ठोस सहमति नजुटेको हो।
जनता समाजवादीका नेता तथा कार्यदल सदस्य रामसहाय प्रसाद यादवले बैठकमा निर्वाचन क्षेत्रस्तरीय छलफल भएको बताए।
‘छलफल भोलि पनि जारी हुन्छ, भोलिको बैठकमा सहमतिको फिगर आउँछ होला,’ यादवले भने, ‘दलहरु आ-आफ्नै अडानमा भएपनि कुरा सकारात्मक भएको छ।’
गठबन्धनको नेतृत्व गरेको काङ्ग्रेस सहमतिमा आउने बित्तिकै कुरा मिल्ने उनले बताए।
‘गठबन्धनको नेतृत्वकर्ताको हिसाबमा काङ्ग्रेसले मिलाउने दायित्व लिनुपर्छ, काङ्ग्रेस- माओवादी छलफल गरेपछि सहमति बन्न धेरै बेर लाग्दैन’ उनले थपे।
Shares

प्रतिक्रिया