राजनीति


अखिल क्रान्तिकारीको विद्रोही समूहले बनायो ‘क्रान्तिकारी फोर्स’

अखिल क्रान्तिकारीको विद्रोही समूहले बनायो ‘क्रान्तिकारी फोर्स’

नेपालखबर
भदौ २१, २०७९ मंगलबार २१:११, काठमाडौँ

नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विद्रोही समूहले ‘क्रान्तिकारी फोर्स’ गठन गरेको छ।

पवन कार्की नेतृत्वको विद्रोही समूहले गठन गरेको रिभोलुसनरी फोर्सले मंगलबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्च पाससमेत गरेको छ।  

अध्यक्ष पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स २२ भदौमा सार्वजनिक गर्ने घोषणा तयारी गरेको छ।

समानान्तर गतिविधि गर्दै आएको कार्की नेतृत्वको समूहले त्यसको एक दिनअगाडि अर्थात २१ भदौमा नै सोही प्रकृतिको फोर्स गठन गरेको हो। अखिल क्रान्तिकारीको पवन समूहका नेता समिर बुढाथोकी ‘मुक्ति’ ले २१ भदौमा काठमाडौंमा क्रान्तिकारी विद्यार्थीको दस्ताका रूपमा रिभोलुसनरी फोर्स घोषणा तथा मार्चपास कार्यक्रम गरिएको बताए । 

‘राष्ट्रियता, गणतन्त्र र संविधानको रक्षक हौं हामी! भ्रष्ट, दलाल र माफियाहरूका विरुद्ध लड्ने क्रान्तिकारी योद्धा हौं हामी, भन्ने नाराका साथ भदौ २१ गते मंगलबारको दिन दिउँसो २ बजे माइतीघर मण्डलाबाट करिब ५०० को उपस्थितिमा नयाँबानेश्वरसम्म मार्चपास गरेका छौं,’ बुढाथोकीले भने।

पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीले आगामी निर्वाचनलाई लक्षित गरी देशभरका कार्यकर्ता उतारेर क्रान्तिकारी फोर्स नामको संगठित दस्ता बनाउने जनाएको छ। त्यसको घोषणा पार्टी अध्यक्ष प्रचण्डमार्फत गरिने भनेर प्रचार गरिएको छ। 

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा एकलौटी ढंगले केन्द्रीय समिति र पदाधिकारी चयन गरेको भन्दै कार्की नेतृत्वको समूह असन्तुष्ट छ। सो समूहले देशैभर समानान्तर गतिविधि गर्दै आएको छ। 

अध्यक्ष पञ्चा सिंहले कार्की र उनको समूहका नेतालाई संगठनबाट निष्कासन गरेको निर्णय गरे पनि माओवादी अध्यक्ष प्रचण्डको हस्तक्षेपका कारण उक्त निर्णय कार्यान्वयन भएको छैन।

अध्यक्ष प्रचण्डले कार्की समूहलाई बेवास्ता गर्न नमिल्ने भन्दै उनीहरूलाई पनि मिलाएर जान अध्यक्ष सिंह र फ्राक्सन इन्चार्ज हितमान शाक्यलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad