ad ad

राजनीति


रुपन्देही २ मा को होलान् विष्णु पौडेलका प्रतिस्पर्धी?

रुपन्देही २ मा को होलान् विष्णु पौडेलका प्रतिस्पर्धी?

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०७९ आइतबार १५:२२, बुटवल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाटै दोहोरिने भएका छन्। 

उनलाई रुपन्देही २ बाट उठाउने गरी नेकपा एमाले क्षेत्रीय कमिटीले सिफारिस गरेको हो। 

आइतबार बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकले पौडेलको एकल नाम सिफारिस गरेको हो। 

पार्टीका क्षेत्रीय संयोजक बाबुराम पन्थीले पौडेलको नाम सर्वसम्मतले सिफारिस गरेर जिल्ला कमिटीमा पठाएको बताए।  

विष्णु पौडेल बुटवल र आसपासको क्षेत्र पर्ने हालको रुपन्देही २ बाट यसअघि तीन पटक विजयी भइसकेका छन्। 

तर वैशाख ३० को स्थानीय तह निर्वाचनमा पौडेलले धक्का व्यहोरेका छन्। उनको क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका यो पटक कांग्रेसको पोल्टामा गएको छ।

अघिल्लो चुनावमा उनले बुटवलमै तत्कालीन प्रदेश ५ (हाल लुम्बिनी) को स्थायी राजधानी राख्ने कुरालाई एजेन्डा बनाएका थिए। 

तर, प्रदेश राजधानी पनि दाङको देउखुरी क्षेत्रमा लगिएको छ। अहिले देउखुरीमा प्रदेश राजधानीको पूर्वाधार बनिरहेको छ।

पौडेलमाथि २०७४ को स्थानीय तह निर्वाचनमा बुटवलको मेयर बनेका शिवराज सुवेदीले प्रभावकारी काम गर्न नसकेको अपजस पनि छ। 

यस्तोमा अनेक आलोचना र विवादलाई चिर्दै चुनाव जित्ने चुनौती पौडेलमाथि आइ परेको छ। एमालेले यो क्षेत्रमा प्रदेससभातर्फ सोमाबरसम्म नाम सिफारिस गरिने पन्थीले बताए। 

प्रतिस्पर्धी?
पौडेलसँग प्रतिस्पर्धाका लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणको नामसमेत यही क्षेत्रबाट सिफारिस गरिसकेको छ।

यद्यपि उनी रुपन्देही क्षेत्र नम्बर ३ बाट उठ्ने तयारीमा छन्। यदि एमालेले फेरि टिकट दिएमा उनको भिडन्त घनश्याम भुसालसँग हुने छ। 

कांग्रेसले रुपन्देही २ बाट गृहमन्त्री खाण, गत निर्वाचनका प्रतिस्प्रर्धी युवराज गिरी, चुन्नु पौडेल, गोकर्ण पौडेल र कृष्ण पोखरेलको नाम सिफारिस गरेको छ। 

अर्कातिर एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले नेता राजु गुरुङको एकल नाम सिफारिस गरेको छ। 

गठबन्धन हुँदा यो क्षेत्र आफूले पाउनुपर्ने अडान एकीकृत समाजवादीले गरिरहेको छ। यस्तो अवस्थामा पौडेलका प्रतिस्पर्धी कांग्रेस या समाजवादीका उम्मेदवार टुंगो भइसकेको छैन।

अर्कातिर माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य विनोद पहाडी पनि पौडेलसँग भिड्ने दौडमा छन्। उनी गठबन्धनबाट टिकट लिएर उड्ने गरी छलफलमा जुटिसकेका छन। 

सत्तारुढ गठबन्धन अझै पनि भागबण्डामै अल्झिरहेको छ। १६५ प्रतिनिधिसभाकै सिट गठबन्धनले मिलाउन सकेको छैन। प्रदेशसभाका लागि छलफल अघि बढेकै छैन। 

एमालेका प्रभावशाली नेता पौडेलले जितेको क्षेत्र भएकाले यहाँ कांग्रेसले समाजवादीलाई छाड्न पनि सक्छ। यस्तो भएमा हिजोसम्म एकै ठाउँ रहेका दुई नेता पौडेल र गुरुङबीच भिडन्त हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .