ad ad

राजनीति


देउवा गृहजिल्ला डडेल्धुराबाट सर्वसम्मत सिफारिस हुने

देउवा गृहजिल्ला डडेल्धुराबाट सर्वसम्मत सिफारिस हुने

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार १७:१०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गृहजिल्ला डडेल्धुराबाट सर्वसम्मत रुपमा सिफारिस हुने भएका छन्। 

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई शुक्रबार बस्ने जिल्ला कार्यसमिति बैठकले प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस गर्ने भएको हो। 

कांग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीले शुक्रबार बस्ने बैठकले सभापति देउवाको नाम एकल रुपमा प्रदेश कार्यसमितिलाई सिफारिस गरिने जानकारी दिए। 

‘प्रदेशसभा कार्यसमितिले प्रदेशसभाका लागि आकांक्षीको नाम सिफारिस गरिसकेको छ,’ उनले नेपालखबरसँग भने, ‘भोलि प्रतिनिधिसभाका लागि नाम सिफारिसका लागि बैठक बोलाएका छौँ। प्रधानमन्त्रीज्यूको नाम सिंगल सिफारिस हुन्छ।’

प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सभापति देउवा निर्विकल्प उम्मेदवार भएको उपसभापति जोशीको भनाइ छ। ‘उहाँ निर्विकल्प उम्मेदवार हो। औपचारिक रुपमा लिखित पठाउन मात्रै हो बाँकी,’ उनले भने। 

यसअघि प्रथम महिला तथा केन्द्रीय सदस्य डा. आरजु राणा देउवा पनि कैलाली–५ बाट सर्वसम्मत प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा सिफारिसमा परेकी थिइन्। 

कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ र पूर्वसहमहामन्त्री सुनिलबहादुर थापा धनकुटाबाट सर्वसम्मत उम्मेदवारका रुपमा सिफरिस भइसकेका छन्। 

यस्तै मेडिकल व्यवसायी सुनिल शर्मा र जेलमा रहेका अफताव आलम सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ फरक–फरक निर्वाचन क्षेत्रबाट जिल्लामा सिफारिस भएका छन्। 

मेडिकल व्यवसायी शर्मालाई मोरङ–३ र आलम रौतहट–२ बाट प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिहरुले जिल्ला कार्यसमितिलाई सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .