कर्णाली


पूर्णबहादुर खड्काको नाम सुर्खेत १ बाट सर्वसम्मत, यस्तो छ चुनावी हिसाब

पूर्णबहादुर खड्काको नाम सुर्खेत १ बाट सर्वसम्मत, यस्तो छ चुनावी हिसाब

दिनेश बुढा
भदौ १६, २०७९ बिहिबार १७:२२, सुर्खेत

नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत क्षेत्र नं.–१ बाट प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवार लागि सिफारिस भएको छ।  

बिहीबार बसेको बैठकले उनलाई उम्मेदवारमा सिफारिस गरेको हो। खड्काको नाम बाँके जिल्लाको क्षेत्र नं.३ बाट पनि सिफारिस भएको छ। 

कांग्रेसका क्षेत्रीय सचिव मोहन रानाकाअनुसार समानुपातिकतर्फ नरहरी भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस भएको छ।

यस्तै, क्षेत्र नम्बर–१ को प्रदेश सभातर्फ (क) बाट प्रत्यक्षमा खड्कबहादुर पोखरेल, केशर वली, चित्रबहादुर रेग्मी र टेकबहादुर सिंहको नाम सिफारिस गरिएको छ। 

समानुपातिकतर्फ अनन्तप्रसाद उपाध्याय पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायण सापकोटा, बलिमाया बुढा, यामलाल पंगाली र सुशिला कार्कीको नाम सिफारिस गरिएको छ।

क्षेत्र नम्बर १ प्रदेश (ख) मा प्रत्यक्षतर्फ हाल प्रदेश सभा सदस्य रहेकी अमृता शाहीको नाम एक नम्बरमा सिफारिस गरिएको छ। भुपेन्द्र चन्द, भुपेन्द्रबहादुर सुवेदी, मानबहादुर बुढा मगर, हरिप्रसाद शर्मा र लक्ष्मीदत्त पौडेलको नाम पनि सिफारिस गरिएको छ।

समानुपातिकमा खगीसरा आचार्य, झकबहादुर डाँगी, रेणु आचार्य, लिलमति विक, प्रेमबहादुर विक, टोपबहादुर टङ्लामी मगरको नाम सिफारिस गरिएको सचिव रानाको भनाई छ। 

कस्तो छ, खड्काको क्षेत्रमा जनाधार?
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले २०७४ मा सम्पन्न निर्वाचनमा पराजय भोगेका थिए। सुर्खेत–१ बाट २०४८, ०५१, २०५६ मा जितेर खड्काले ह्याट्रिक गरेका थिए।

तर, २०६४ सालको संविधानसभा निर्वाचनमा भने लालबहादुर घले संविधान सभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिए। तर, घलेले त्यो बेला नेकपा (एमाले)की कमला शर्मासँग पराजित भएका थिए।

त्यतिबेला खड्का भने समानुपातिक सांसद बनेका हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा खड्काले कमब्याक गरे। २०७४ मा तत्कालीन वाम गठबन्धन (नेकपा एमाले)का उम्मेदवार ध्रुवकुमार शाहीसँग खड्का पराजित भए। 

३६ हजार ७५९ मत ल्याएर शाही विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए। पाँच वर्ष अघि ३ हजार ३८२ मतले पराजित भएका खड्का यसपटक आफ्नो शाख फर्काउने योजनामा छन्।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट खड्का निर्विकल्प उम्मेदवार पनि हुन्। यस क्षेत्रमा गठबन्धन भएपनि टिकट खड्काले नै पाउँने देखिन्छ।

एमालेले उनीविरुद्ध शाहीलाई नै दोहोर्याउँछ वा नयाँ उम्मेदवार खडा गर्छ? निश्चित छैन्। तर,  एमालबाट हाल कर्णाली प्रदेश सभा सदस्य खड्क खत्री र ध्रुवबहादुर शाहीको नाम नै चर्चामा रहेको छ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सुर्खेत–१ मा पर्ने वडामा दलले प्राप्त गरेको मतलाई हेर्ने हो भने अंकगणित खड्काको पक्ष बलियो देखिन्छ। 

सुर्खेत–१ मा सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, चिङगाड गाउँपालिका, लेकबेँशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका–१५ र वीरेन्द्रनगर–१६ को भूगोल समेटिएको छ।

स्थानीय तहको वडाको मतलाई आधार मान्ने हो भने सुर्खेत–१ मा कांग्रेस पहिलो शक्ति देखिन्छ। 

जससमा कांग्रेसले ३६ हजार नौ सय २८ मत प्राप्त गरेको थियो। वडाध्यक्षले पाएको मत हेर्दा एमाले दोस्रो स्थानमा छ। उसले ३४ हजार आठ सय ४३ मत प्राप्त गरेको छ।

माओवादीले पाँच हजार ७५ मत, राप्रपाले ६ सय ६४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले छ सय ३४ मत प्राप्त गरेको छ।

यसरी हेर्दा कांग्रेससँगै माओवादी र नेकपा एकीकृत समाजवादीको मत जोड्दा खड्काको पक्षमा ४२ हजार ६ सय ३७ मत देखिन्छ।

जुन एमालेको मत भन्दा सात हजार सात सय ९४ बढी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad