नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाउने सिट संख्यामा लचक भएको छ।
बिहीबार बिहान ११ बजेदेखि बालुवाटारमा बसेको शीर्ष नेतासहित गठबन्धन बैठकमा यसअघि दाबी गरेको सय सिटबाट कांग्रेस तल झरेको एक नेताले बताए।
ती नेताका अनुसार कांग्रेसले ९० सिट प्रत्यक्षमा पाउनुपर्ने नयाँ प्रस्ताव गरेको छ।
कांग्रेसले ९० सिटको नयाँ प्रस्ताव राखेको छ, यसअघि दाबी गरेको सय सिटबाट पछि हटे पनि अझै कुरा मिलेको छैन,’ ती नेताले नेपालखबरसँग भने, ‘गठबन्धनका अन्य दलले कांग्रेसले ८० भन्दा बढी दाबी गर्न नहुने अडान राखेका छौँ।’
कांग्रेसले आफ्नो दाबी छोड्नेबित्तिकै कुरा मिल्ने ती नेताहरुको तर्क छ।
‘मुख्य कुरा कांग्रेसको अडानले रोकिएको हो, अन्य दलमा समस्या छैन। कांग्रेस सहमतिमा आउनेबित्तिकै कुरा मिल्छ, कांग्रेस लचक भएकैले चार घण्टादेखि छलफल भइरहेको छ,’ अर्का नेताले भने।
कांग्रेस लचक भएपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) पनि आफ्नो अडानबाट पछि हट्न तयार छन्।
पहिला कांग्रेसले सहमति गर्नुपर्ने उनीहरुको सर्त छ। स्रोतका अनुसार चार दलले कांग्रेसलाई ८० देखि ८५ सिटमा ल्याएर सहमति गराउन चाहेका छन्।
अन्य चार दलले ७५ देखि ८० सिट बाँडफाँट गर्न चाहेका छन्। शीर्ष नेतासहितको कार्यदलको बैठक बुधबार पनि बसेको थियो।
तर, सिट संख्यामा कुरा नमिलेपछि फेरी बिहीबार (१६ भदौ)मा बसेको हो।
सिट संख्यामा सहमति गरेपछि मात्र निर्वाचन क्षेत्रमा छलफल गर्ने गठबन्धनको तयारी छ।
प्रत्यक्षतर्फका प्रतिनिधि सभाको १ सय ६५ र प्रदेश सभाको ३ सय ३० सिटमा सिट बाँडफाँट गरेर गठबन्धन चुनावी अभियानमा जाँदैछ।
Shares

प्रतिक्रिया