ad ad

राजनीति


शीर्षनेता हराउने माओवादी आफैं बेपत्ता

शीर्षनेता हराउने माओवादी आफैं बेपत्ता

केशव सावद
भदौ १४, २०७९ मंगलबार २०:४२, काठमाडौँ

खहरे गडगडाएर एकछिन आउँछ, अनि स्वाट्टै हराउँछ। २०६४ सालको पहिलो संविधानसभा चुनावमा माओवादी पार्टी खहरेका रुपमा आयो। खहरेको भेलमा कांग्रेस–एमालेका ठुल्ठुला नेताले चुनाव हारे। तर, शीर्षनेतालाई हराउने माओवादीका तत्कालीन नेताहरु १५ वर्षपछि राजनीतिक परिदृश्यबाट आफैं हराएका छन्। 

२०६२\०६३ को जनआन्दोलनको उपलब्धी स्वरुप विकसित राजनीतिक परिस्थितिमा जनतालाई आफ्ना लागि आफैं संविधान बनाउन पाउने अधिकार प्रत्याभूत हुने गरी पहिलो संविधानसभाको निर्वाचन भएको थियो। 

नेपालको इतिहासमा पहिलो पटक ०६४ चैत २८ मा सम्पन्न भएको पहिलो संविधानसभा निर्वाचनमा मिश्रित निर्वाचन प्रणाली अंगीकार गरिएको थियो। जसका लागि २४० जना पहिलो प्रत्यक्ष निर्वाचित हुने प्रणालीबाट र ३३५ जना समानुपातिक निर्वाचनबाट निर्वाचित भएका थिए। २६ जना मनोनित गरी ६०१ सदस्यीय जम्बो संविधानसभा गठन भएको थियो।

संविधानसभा गठनका लागि भएको निर्वाचनमा सशस्त्र विद्रोह छाडेर शान्तिपूर्ण राजनीतिमा आएको तत्कालीन नेकपा माओवादीले देशभर अप्रत्याशित जित हात पारेको थियो।

पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि देशभर निर्धारण गरिएका २४० सिटमध्ये माओवादीले १२० सिट जितेर पुराना राजनीतिक दललाई आश्चर्यचकित तुल्याएको थियो। भर्खरै संसदीय प्रणाली स्वीकार गरेर चुनावी प्रतिष्पर्धामा आएको माओवादीको अप्रत्याशित जितले पुराना दलहरु खुम्चिन पुगेका थिए।

पहिलो संविधानसभा निर्वाचनमा लामो राजनीतिक विरासत बोकेको पुरानो दल नेपाली कांग्रेस मात्र ३७ सिटमा सीमित हुन पुगेको थियो। अर्को पुरानो दल नेकपा एमालेले ३३ सिट मा जित निकालेको थियो। चौथो ठूलो दल तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत ३० सिट जितेको थियो।

पहिलो संविधानसभा निर्वाचनमा पुराना दलका ‘हेभिवेट’ नेताहरुलाई संसदीय राजनीतिमा नवप्रवेशी माओवादीका नामै नसुनिएका नेताहरुले अप्रत्यासित ढंगले पराजित गरेका थिए। त्योबेला नाम चलेका राजनीतिज्ञलाई पराजित गरेर संविधानसभा भवन बसेका माओवादीका धेरैजसो नेताहरु अहिले चर्चामै छैनन्।

पहिलो संविधानसभा निर्वाचनबाट विजयी भएका माओवादी नेतामध्ये केहीको निधन भएको छ भने केही नेताहरु गुमनाम अवस्थामा छन्।

सिटौला हराउने राजबंशी आफैं हराए
झापा–३ मा माओवादीसँग कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पराजित भएका थिए। उनलाई माओवादी नेता पूर्णप्रसाद राजवंशीले अढाई हजार बढी मतले पराजित गरेका थिए। राजवंशीले १६ हजार ६८५ र सिटौलाले १४ हजार ४९ मत ल्याएका थिए।

तेस्रो भएका एमाले नेता पुष्पराज पोखरेलले ९ हजार ६४५ मत प्राप्त गरेका थिए। पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेतालाई पराजित गरेको राजवंशी यतिबेला राजनीतिक परिदृश्यमा खासै देखिएका छैनन्। स्थानीय आदिवासी समुदायका राजबंशीलाई माओवादीले अगाडि बढाउन सकेन।

सेलायो झक्कुको झ्ँवाक
पहिलो संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि पराजित भएका थिए। उनी माओवादी उम्मेदवार झक्कुप्रसाद सुवेदीसँग काठमाडौँ–२ मा पराजित भएका थिए। एमालेका तत्कालीन महासचिवसमेत रहेका नेपालले रौतहटबाट पनि पराजीत भएपछि  महासचिवबाट राजीनामा दिएका थिए।   

सुवेदीले उनलाई झण्डै १३ सय मतले नेपाललाई पराजित गरेका थिए। सुवेदीले १३ हजार ५८५ मत ल्याएका थिए। नेकपा एमालेबाट उम्मेदवार बनेका नेपालको पक्षमा १२ हजार ३२५ मत आएको थियो। तेस्रो भएका कांग्रेस उम्मेदवार दीपकप्रसाद कुईकेलले ११ हजार ५४४ मत प्राप्त गरेका थिए।

माधव नेपाललाई चुनाव हराएर नाम कमाएका रोल्पाली नेता सुवेदी अहिले माओवादी पार्टीबाट खासै अगाडि आउन सकेका छैनन्।

ओलीलाई हराउने आफैं हराए
झापा–७ बाट एमाले अध्यक्ष केपी शर्मा ओली माओवादीका सामान्य युवा नेतासँग पराजित भएका थिए। उनलाई माओवादी उम्मेदवार विश्वदिप लिङ्देन लिम्बूले हराएका थिए।

लिङ्देन १६ हजार ९९ मतले  विजयी हुँदा ओलीले १४ हजार ९५९ मत प्राप्त गरेका थिए। कांग्रेस नेतृ महेन्द्रकुमारी सुब्बा ११ हजार ६०५ मतसहित तेस्रो भएकी थिइन्।

माओवादीका तर्फबाट संविधानसभा सदस्य भएका लिङ्देनले आफ्नो पहिचान जोगाउन सकेनन्। अहिले उनी माओवादी छाडेर नेपाली कांग्रेसमा लागेका छन्। उनी आशन्न निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष ओलीसँग निर्वाचन लड्ने आकांक्षीमा पर्दछन्।

झापा–४ मा कांग्रेसका पुराना नेता स्व‍ चक्रप्रसाद बास्तोलालाई झण्डै ४ हजार मतले हराउँदै माओवादी नेतृ धर्मशिला चापागाईं संविधानसभा सदस्यमा विजयी भएकी थिइन्। उनी १९ हजार २८९ मतले विजयी हुँदा बास्तोलाले १५ हजार ५०२ र तेस्रो भएका एमाले उम्मेदवार देवेन्द्र दाहालले १३ हजार ६६२ मत प्राप्त गरेका थिए।

०६३ सालमा अन्तरिम सांसद समेत बनेकी चापागाईले समानुपातिक तर्फ पनि मौका पाइन्। तथापि अहिले उनी राजनीतिक रुपमा खासै चर्चामा आउन नसकी झापामा मात्रै खुम्चिएकी छिन्। उनी माओवादी आन्दोलनमा लागेकी चिर्चित नेतृका रुपमा झपामा परिचित थिइन्। तर, पछिल्लो समय जिल्लामा उनको लोकप्रियता खस्किएको छ। 

पदम राई विप्लव छाडेर एमालेतिर
भोजपुर–१ बाट हाल सरकारका प्रवक्ता रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै माओवादीका युवा नेता पदमबहादुर राई निर्वाचित भएका थिए। उनले १५ हजार ७९६ मत ल्याउँदा कार्कीले १३ हजार ५२८ मत पाएका थिए। तेस्रो भएकी एमाले उम्मेदवार जयन्ती राईको ७ हजार ५१५ मत आएका थियो।

कांग्रेसका प्रभावशाली नेता कार्कीलाई हराउँदै संविधानसभाको यात्रा गर्न सफल भएका माओवादी नेता राई पछि वैद्य समूह हुँदै विप्लव समूहतिर लागे। विप्लव समूहमै रहेका बेला पक्राउ समेत परेका उनी एमालेमा प्रवेश गरे।

आफ्ना समकालीन सुदन किरातीले आफ्नो राजनीति बचाइराखेका बेला पदम राई भने राजनीतिक परिदृश्यमा टिक्न सकेनन्। २०६४ को निर्वाचनमा भोजपुर–२ बाट प्रदेश १ का मुख्यमन्त्री रहिसकेका शेरधन राई पराजित भएका थिए। उनलाई माओवादी उम्मेदवार सुदन राईले संविधानसभा सदस्यमा रोकेका थिए। सुदन १७ हजार ५७८ मतसहित संविधानसभा सदस्यमा विजयी हुँदा शेरधनले ९ हजार ८८५ मत पाएका थिए। तेस्रो भएका कांग्रेस उम्मेदवार नन्दमणि राईको ७ हजार ७१९ मत थियो।

रकम र हेमराज फेरि आमने सामने 
तत्कालीन समयका एमालेका चर्चित नेता रकम चेम्जोङलाई पराजित गरेर माओवादी नेता हेमराज भण्डारी धनकुटा–१ बाट संविधानसभा सदस्य बनेका थिए। भण्डारी १७ हजार २०२ मतसहित विजयी हुँदा चेम्जोङले ११ हजार १७४ मत प्राप्त गरेका थिए। यहाँ तेस्रो भएका कांग्रेस नेता मनोहरनारायण श्रेष्ठले ६ हजार १२९ मत ल्याएका थिए।

चेम्जोङ अहिले जनता समाजवादी पार्टी (जसपा) को राजनीतिमा सक्रिय छन् भने उनलाई हराएका माओवादी नेता भण्डारी माओवादीमै क्रियाशील छन्। यसपालिको चुनावमा गठबन्धन बनेका कारण रकम र हेमराज दुबैले काँग्रेस नेता सुनील बहादुर थापालाई धुनकुटा छाडिदिनुपर्ने स्थिति छ। तर, दुबैले आ–आफ्नो दाबी छाडेका छैनन्।

पहिलो संविधानसभामा धनकुटा–२ बाट पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पराजित भएका थिए। उनलाई माओवादी उम्मेदवार हरिराज खेवाले संविधानसभा सदस्य बन्नबाट रोकेका थिए। खेवा १२ हजार २९९ मतले विजयी हुँदा पूर्वप्रधानमन्त्री थापाको मत ५ हजार ४३२ मत आएको थियो। उनी राष्ट्रिय जनशक्ति पार्टीबाट उम्मेदवार बनेका थिए। धनकुटा–२ मा कांग्रेस उम्मेदवार धर्मराज पौडेल थिए। उनी ११ हजार २४८ मतसहित दोस्रो भएका थिए। अहिले सूर्यबहादुर थापा र माओवादी नेता हरिराज खेवाको मृत्यु भइसकेको छ।

सबैतिर खस्कियो माओवादी
कांग्रेसको उद्गम थलो मानिने मोरङका त्यसबेलाका ९ वटा निर्वाचन क्षेत्रमध्ये माओवादीले ४ क्षेत्रमा जित हात पारेको थियो। यस्तै तत्कालीन मधेसी जनअधिकार फोरमका उम्मेदवारहरु मोरङका अन्य ४ क्षेत्रबाट विजयी भएपछि कांग्रेस मात्र मोरङ–१ मा चित्त बुझाउन बाध्य भएको थियो।

मोरङ–२ मा एमालेका प्रभावशाली नेता भरतमोहन अधिकारीलाई हराएर माओवादीका लालबहादुर सुस्लिङ मगर विजयी भएका थिए। मगर १६ हजार ५६७ मतले संविधानसभा सदस्यमा निर्वाचित हुँदा अधिकारीले १२ हजार ५३६ मत पाएका थिए। तेस्रो भएका कांग्रेस उम्मेदवार वसन्त भट्टराईको १० हजार ९३ मत आएको थियो। एमालेका प्रभावशाली नेता अधिकारीलाई पराजित गरेका मगर अहिले राष्ट्रिय राजनीतिको परिदृश्यमा छैनन्।

सोलुखुम्बुमा कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीलाई हराएर गोपाल किराती संविधानसभा सदस्यमा विजयी भएका थिए। उनले केसीलाई झण्डै १० हजार मतले पराजित गरेका थिए। किराती १९ हजार ९८ मतसहित संविधानसभा सदस्यमा निर्वाचित हुँदा केसीले ९ हजार ४३४ मत प्राप्त गरेका थिए। 

किराती अहिले माओवादी केन्द्रबाट अलग भएर बेग्लै पार्टी गठन गरेर बसेका छन्। उनी झापामा बसोबास गर्दै आएका छन्।

एमालेका तत्कालीन प्रभावशाली नेता वामदेव गौतम ०६४ को चुनावमा बर्दिया–१ बाट हारेका थिए। माओवादी उम्मेदवार सरला रेग्मीले गौतमको संविधानसभा यात्रामा रोक लगाएकी थिइन्। १७ हजार ९५५ मतसहित रेग्मी संविधानसभा सदस्यमा विजयी हुँदा गौतमले १३ हजार ३७७ मत प्राप्त गरेका थिए। तेस्रो भएका कांग्रेस उम्मेदवार मालती सोडारीको ६ हजार ८३१ मत आएको थियो। नेता गौतमलाई हराउने सरला यतिबेला राजनीतिमा छायामा परेकी छिन्। 

त्यसैगरी तनहुँ–१ मा माओवादी उम्मेदवार सुरेश आलेमगरले कांग्रेसका तत्कालीन प्रभावशाली नेता गोविन्दराज जोशीलाई पराजित गरेका थिए। पूर्वगृहमन्त्री रहिसकेका जोशीलाई आलेमगरले ७ हजारभन्दा बढी मतान्तरले हराएका थिए।

माओवादी नेता आलेमगर १७ हजार ७४४ मतले संविधनसभा सदस्यमा निर्वाचित हुँदा तेस्रो भएका जोशीले १० हजार ४७७ मत पाएका थिए। दोस्रो भएका एमाले नेता एकबहादुर रानाको १० हजार ५६६ मत थियो। जोशी अहिले कांग्रेसबाट निस्कासित भइसकेका छन्। उनलाई पराजित गरेका रानामागर अहिले माओवादीमै सक्रिय छन्।

कांग्रेसका पुराना नेता भीमबहादुर तामाङलाई माओवादी नेतृ देवी खड्काले दोलखामा रोकेकी थिइन्। दोलखा–१ मा उनले तामाङलाई झण्डै १० हजार मतले पराजित गरेकी थिइन्। खड्काले २२ हजार १८२ मत ल्याउँदा तेस्रो भएका तामाङले १२ हजार ७०२ मत पाएका थिए। दोस्रो भएका एमाले नेता पशुपति चौलागाईंले १२ हजार ८०५ मत प्राप्त गरेका थिए।

चौलागाई र तामाङको निधन भइसकेको छ भने खड्का राजनीतिमा खासै चर्चामा आउन सकेकी छैनन्। तथापि उनी गठबन्धनका तर्फबाट दोलखामा टिकटकी दाबेदार हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .