ad ad

राजनीति


रामचन्द्र पौडेललाई तनहुँ छोडेर किसान श्रेष्ठ बारा झर्ने

रामचन्द्र पौडेललाई तनहुँ छोडेर किसान श्रेष्ठ बारा झर्ने

फाइल तस्बिर


नेपालखबर
भदौ ७, २०७९ मंगलबार १६:१०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ 'किसान' ले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गृहजिल्ला छाड्ने संकेत गरेका छन्।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित श्रेष्ठले आफैँले पराजित गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ छोड्न तयार रहेको बताएका हुन्। 

तर, उनको सर्त छ–गठबन्धनमा सहमति हुनुपर्यो। रामचन्द्रले गत ५ भदौमा २०७४ मा हारेकै क्षेत्रबाट उठ्ने घोषणा गरेपछि श्रेष्ठ क्षेत्र परिवर्तन तयारीमा लागेका हुन्। 

यसकै लागि उनी अहिले तनहुँमा छन्। गृहजिल्लाबाट नेपालखबरसँग कुरा गर्दै उनले आफ्नो पहिलो जोड तनहुँ–१ नै हुने बताए। 

उनले सत्ता गठबन्धनमा यसअघि जसले जितेको छ, उसैलाई छाड्ने सहमति सबैतिर कार्यान्वयन हुने विश्वास लिएका छन्। 

तर, गठबन्धनले सहमतिमै अन्य क्षेत्रमा जानू भनेको अवस्थामा आफूले निर्वाचन क्षेत्र छोड्न समस्या नभएको उनले बताएका छन्।

‘म अहिले पनि मेरै निर्वाचन क्षेत्रमै छु,’ श्रेष्ठले भने, ‘मेरो पहिलो प्रयास यहीँबाट उठ्ने छ, त्यसका लागि सबै तयारी गरेको छु। तर, कांग्रेस वरिष्ठ नेताले पनि यही माग्नु भएकोले गठबन्धनमा समझदारी बने क्षेत्र परिवर्तन गर्न सक्छु।’

२०७४ मा श्रेष्ठले तनहुँ–१ बाट ३४ हजार ४ सय ९२ मत ल्याए। पौडेलले २७ हजार ६ सय ९० मत मात्रै पाएका थिए।

कांग्रेसका नेता पौडेललाई आफूले अन्य ठाउँबाट उम्मेदवारी दिन गरेको आग्रह नमानेको उनले बताए। 

‘तपाईँजस्तो चर्चित र सिनियर नेता जहाँबाट पनि चुनाव लडे जित्नुहुन्छ। अर्कै क्षेत्रमा उठ्न विनम्र अनुरोध गरेको थिएँ, तर मान्नुभएन,’ श्रेष्ठले थपे, ‘तर, पौडेलले अन्तिम पटक तनहुँ-१ बाटै उठ्ने भनेर मान्दै मान्नुभएन।’

५ भदौमा तनहुँमै भएको एक कार्यक्रममा पौडेलले ‘जहाँबाट चुनाव हारेँ त्यहीँबाट जितेर मर्न चाहन्छु’, भन्दै उम्मेदवारी दिने घोषणा गरेका थिए।

पौडेलले उम्मेदवारी घोषणा गरेपछि श्रेष्ठ दबाबमा परेका हुन्। पाँच दलीय गठबन्धनको मुख्य घटक कांग्रेसकै नेताले क्षेत्र मागेपछि श्रेष्ठलाई विकल्पका लागि तयार रहन भनिएको छ।

श्रेष्ठनिकट स्रोतका अनुसार उनलाई बारा–४ मा उम्मेदवारी दिए जिताएर पठाउने स्थानीयले खबर पठाएका छन्।

बारामा उनको ठूलो लगानी भएका उद्योग, कलकारखाना छन्। उनी चर्चित व्यापारी पनि भएकाले सजिलै जिताउन सकिने स्थानीयले बताएपछि श्रेष्ठले मनस्थिति फेरेका छन्।

कस्तो छ बारा ४ को अवस्था?
२०७४ को चुनावमा बारा-४ तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका एकवाल मियाँले जितेका थिए।

उनले २२ हजार २ सय ७५ मत ल्याएर नेकपा एमालेका देवनारायण थारूलाई हराएका थिए। थारूले २० हजार ६०७ मत ल्याए। 

यस्तै त्यहाँ नेपाली कांग्रेस तेस्रो भएको थियो। लालबाबु सिंह भूइहारले १४ हजार ५ सय १६ मत मात्रै ल्याए।

श्रेष्ठ त्यस क्षेत्रमा उठेको अवस्थामा गठबन्धनबाट सजिलै जित्ने सम्भावना छ। तर, त्यस क्षेत्रमा तत्कालीन राजपा (अहिलेको लोसपा र जसपा दुवै) गठबन्धनमा सहभागी भएमा श्रेष्ठको उम्मेदवारी हुन्छ कि हुँदैन? भन्न सकिदैँन। 

यही कुरालाई विश्लेषण गरेर श्रेष्ठले गठबन्धनमा पहिले नै सहमति भए निर्वाचन क्षेत्र परिवर्तन गर्न तयार रहेको बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .