राजनीति


‘प्रदीप गिरि किसानलाई माया गर्ने सरल जीवनशैलीका गान्धीवादी नेता’

‘प्रदीप गिरि किसानलाई माया गर्ने सरल जीवनशैलीका गान्धीवादी नेता’

नेपालखबर
भदौ ५, २०७९ आइतबार १३:२३, काठमाडौँ

नेपाली कांग्रेसले शनिबार राति दिवंगत भएका नेता प्रदीप गिरिलाई गान्धीवादी नेता भनेको छ।

समाजवादी चिन्तक नेता गिरीको निधनपछि आइतवार केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बसेको आकस्मिक बैठकपछि कांग्रेसले यसो भनेको हो। 

कांग्रेसले गिरिलाई समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञानपुञ्ज, समाजवादी चिन्तक, लेखक, पार्टीका निष्ठावान त्यागी नेता पनि भनेको छ। 

कांग्रेसले बहुआयामिक व्यक्तित्वका धनी गिरिको निधनबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो क्षति भएको पनि उल्लेख गरेको छ। 

गिरीको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३० मिनेटमा निधन भएको थियो।

'समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत सम्बन्ध एवम् नेपाल—भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता हुनुहुन्थ्यो', कांग्रेसले भनेको छ। 

गिरि राजनैतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यवहारिक व्याख्याता भएको पनि कांग्रेसले मूल्यांकन गरेको छ।

'उहाँ ग्रामीण किसान, मजदूर एवम् विपन्न परिवारलाई विकासको केन्द्रविन्दुमा राख्नु हुन्थ्यो', कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, 'नेपाली कांग्रेसलाई थप समावेशी र सबल बनाउन उहाँ हरदम क्रियाशील रहनु भयो।'

कांग्रेसले गिरि सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका भनेर स्मरण गरेको छ।

'गिरी पटक–पटकका लोकतान्त्रिक आन्दोलनमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक–पटक जेल र निर्वासनमा रहनु भयो', उनले भने, 'उहाँ कांग्रेस पार्टीमा मात्रै नभएर सारा नेपाली र विदेशी राजनीतिक समकक्षीबीच पनि अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो।'

कांग्रेसले गिरिलाई महान दार्शनिक नेता भनेको छ। उनको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको पनि कांग्रेसले जनाएको छ।

सिरहामा जन्म 
पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट वि.सं. २००४ साल असोज २४ गते गोवर्द्धन पूजाका दिन सिरहा बस्तीपुरमा गिरिको जन्म भएको थियो।

उनले भारतको जवाहरलाल नेहरु विश्व विद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए। 

समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत सम्बन्ध एवम् नेपाल—भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने नेताका रुपमा कांग्रेसले गिरिलाई चित्रण गरेको छ। 

उनले नेपालमा राजनैतिक दलहरु प्रतिबन्धित भएको समय बनारसबाट नेपाली कांग्रेसमा आवद्ध भई राजनीति थालेका थिए।

गिरिले कांग्रेसको संगठनबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतविरुद्ध निरन्तर संघर्ष गरेको पनि कांग्रेसले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad