राजनीति


देउवाका लागि डडेल्धुरा छोड्दा कहाँ जालान् खगराज भट्ट?

कञ्चनपुर-२ बाट उठ्न नपाए प्रदेशतिर
देउवाका लागि डडेल्धुरा छोड्दा कहाँ जालान् खगराज भट्ट?

फाइल तस्बिर


गोकुल जोशी
साउन ३१, २०७९ मंगलबार १८:२६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका पुराना प्रतिस्पर्धी हुन्– नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट। 

भट्टले वि.सं. २०६४, ०७० र ०७४ का तीनवटै निर्वाचनमा उनी देउवासँग भिडेका थिए। तर तीनै पटक उनले पराजय भोगे।

वाम गठबन्धनबाट साझा उम्मेदवार भट्ट ०७४ मा  देउवासँग ६ हजार ९४८ मतले पराजित भए। 

त्यसबेला देउवा २८ हजार ४४६ मत ल्याएर विजयी भए। त्यसबेला सुदूरपश्चिममा कांग्रेसबाट जित्ने उनी मात्रै थिए। पराजित भट्टले  २१ हजार ४९८ मत ल्याएका थिए। 

तर, यसपटक राजनीतिक समीकरण उलटफेर भएको छ। वाम गठबन्धन भत्किँदा माओवादी कांग्रेसको पोल्टामा पुगेको छ भने एमाले एक्लिएको छ। 

देउवाका प्रतिस्पर्धी भट्टको दल माओवादी केन्द्र कांग्रेससँग मिलेर मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा चुनावमा तालमेल गर्ने निर्णय गरिसकेको छ।

सत्तागठबन्धनले कार्यदल बनाएर सिट भागबण्डा गरिरहेको छ। एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा सत्तागठबन्धनलाई भाग मिलाउन सकस पर्ने देखिन्छ।

माओवादीले प्रतिनिधि सभा क्षेत्र नेपाली कांग्रेसलाई छाड्दा माओवादी नेता भट्टको व्यवस्थापन चुनौती भएको छ। 

माओवादीमा लेखराज भट्ट सुदूरपश्चिमको इन्चार्ज हुँदा खगराज चेपुवामा परेका थिए। तर लेखराज एमालेमा लागेपछि उनी अहिले माओवादीको सुदूरपश्चिम इन्चार्ज छन्। 

तीन पटक संसदीय चुनाव हारेका खगराजलाई यसपटक जिताएर जसरी पनि सांसद बनाउनुपर्ने पहल माओवादीभित्र भइरहेको छ। 

डडेल्धुरा देउवाको गृहजिल्ला हो। यो क्षेत्र नछोडेर देउवा आफैँ वा पत्नी आरजु राणालाई चुनाव लडाउने कांग्रेसको रणनीति छ।

२०७४ सालको चुनावमा कैलाली–५ बाट पराजित देउवा पत्नी आरजु यसपटक सांसद बन्न सुरक्षित क्षेत्र खोज्दैछिन्। 

यस्तो अवस्थामा कांग्रेसलाई डडेल्धुरा छोड्दा माओवादी सुदूरपश्चिम इन्चार्ज भट्ट कहाँ जालान्? यो प्रश्न पेचिलो बनेको छ।

डडेल्धुराको अंकगणित
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा डडेल्धुरामा नेपाली कांग्रेस पहिलो दल बनेको छ। माओवादी केन्द्र दोस्रो स्थानमा छ। 

२ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तह रहेको डडेल्धुरामा कांग्रेसले ५ स्थानीय तह प्रमुख जितेको छ।

सदरमुकामको अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका गरेर ४ पालिकामा प्रमुख उपप्रमुख दुवै तथा परशुराम नगरपालिका प्रमुख मात्रै कांग्रेसले जितेको छ। 

यस्तै, अजयमेरु गाउँपालिका उपप्रमुख पनि कांग्रेसले जितेको छ। ७ वटै स्थानीय तहका ५२ मध्ये नेपाली कांग्रेसले २९ वडा जितेको छ।

माओवादीले यसपटकको स्थानीय तह निर्वाचनमा २ स्थानीय तहको प्रमुखमा जित निकालेको छ। उसले आलिताल गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै र अजयमेरुमा प्रमुख मात्रै जितेको छ। 

यस्तै, माओवादीले सबैभन्दा ठूलो परशुराम नगरपालिकाको उपप्रमुख पनि जित्यो।

माओवादीले स्थानीय तह निर्वाचनमा डडेल्धुरामा १३ वडा जितेको छ। नेकपा एमालेले ४ वडा, एकीकृत समाजवादी २, कांग्रेस बीपी र स्वतन्त्रले २/२ मा वडा जितेका छन्। 

यहाँ सत्तारुढ कांग्रेस, माओवादी, एकीकृत समाजवादी एक्ला एक्लै लडेका थिए। कांग्रेसबाट कारबाहीमा परेका पूर्व सभापति कर्णबहादुर मल्लले एमालेसँग चुनावी तालमेल गरेका थिए।

कञ्चनपुर–२ मा नजर
आफूले लड्दै आएको क्षेत्र डडेल्धुरा गठबन्धनका कारण देउवालाई छोड्दा खगराजको नजर कञ्चनपुर–२ मा परेको छ। यो उनी जन्मे, हुर्केको क्षेत्र पनि हो।

स्थानीय चुनावताका पनि खगराज कञ्चनपुर २ मा सक्रिय भएका थिए। डडेल्धुरा छाड्दा भेगीय हिसाबले अरुभन्दा पकड कञ्चनपुर–२ मा भएकाले पहिलो उनको रोजाइमा यो पर्ने माओवादीका एक नेताले बताए।

त्यसो नभए डडेल्धुराबाटै प्रदेशसभामा उठेर भट्ट सुदूरपश्चिमको भावी मुख्यमन्त्रीका रुपमा प्रस्तुत हुन सक्नेछन्।

‘राजनीतिमा असम्भव केही हुँदैन, उहाँ (खगराज) प्रदेश सभामा गएर मुख्यमन्त्री पनि बन्न सक्नु हुन्छ, लामो समय राजनीतिमा बिताउनुभयो, सार्वजनिक पदमा बसेर सेवा गर्नु भएको छैन,’ ती नेताले भने, ‘यसपटक उहाँलाई मौका दिनुपर्छ, उचित व्यवस्थापन हुनुपर्छ।’ 

गठबन्धनको निर्णय मान्ने
भट्ट अहिले संघीय राजधानी काठमाडौँमा छन्। नेपालखबरसँगको कुराकानीमा उनी आफैँले पनि कञ्चनपुर–२ आफूले चुनाव लड्ने सम्भावनाको क्षेत्र रहेको बताएका छन्। गठबन्धनले केन्द्रमा गरेको निर्णयानुसार आफू अगाडि बढ्ने उनले बताए।

‘डडेल्धुरा कांग्रेसलाई छोडेपछि कञ्चनपुर–२ पनि सम्भावनाको क्षेत्र हो, तर गठबन्धनमा अहिले नै यसबारे छलफल भएको छैन,’ माओवादी सुदूरपश्चिम इन्चार्ज भट्टले भने, ‘केन्द्रमा जे निर्णय हुन्छ, त्यहीअनुसार अगाडि बढ्नु पर्छ, प्रदेशमा पनि लड्न सक्छु।’

सहजै पाउँदैनन् कञ्चनपुर–२ 
कञ्चनपुर–२ प्रधानमन्त्री देउवाका विश्वासपात्र मानिने पूर्वमन्त्री एनपी साउदको क्षेत्र हो। यस क्षेत्रबाट चुनाव लड्दै आएका साउदले यसपटक पनि चुनाव लड्ने तयारी गरेका छन्। 

त्यसैले कञ्चनपुर–२ खगराजले सहजै पाउने सम्भावना कम छ। कञ्चनपुर–२ कांग्रेसले नछाड्ने क्षेत्रीय सभापति लालबहादुर सिंह बताउँछन्।

‘यहाँ २२/२३ हजार भोट कांग्रेसकै छन्, माओवादीको १२/१३ हजार मत मात्रै हुन, यस्तो अवस्थामा माओवादीलाई कसरी छाड्न सकिएला?’ उनले प्रश्न गर्दै भने, ‘कांग्रेसले २ नम्बर क्षेत्र छाड्दैन, एनपी दाइ नै लड्नु हुन्छ।’

कञ्चनपुर–२ को जोड घटाउ
यो क्षेत्रमा बेदकोट नगरपालिका (८ नम्बरबाहेक), शुक्लाफाँटा र कृष्णपुर नगरपालिकासहित ३० वडा छन्। 

स्थानीय तहमा बेदकोट र कृष्णपुर नगरपालिकामा कांग्रेसले मेयर उपमेयर दुवै जितेको छ। शुक्लाफाँटा नगरपालिकामा उपमेयर मात्रै कांग्रेसले जितेको छ भने मेयर एमालेले जितेको छ।

३० वडामध्ये कांग्रेसले १५ वडा, माओवादीले ८, एमाले ६ र एकीकृत समाजवादीले १ वडामा अध्यक्ष जितेको छ।

कांग्रेसले २ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बेदकोटका १, ३, ४, ५ र ७,  शुक्लाफाँटाका ४, ५, ६, ९, १० र ११ तथा कृष्णपुर नगरपालिकाका १, ५, ८ र ९ वडा जितेको छ।

माओवादीले बेदकोटको वडा नम्बर ६, १०, शुक्लाफाँटाको ३, ८ र कृष्णपुरको २, ३, ४, ६ जितेको छ। 

एमालेले बेदकोटको वडा नम्बर २, ९, शुक्लाफाँटाको १, २, ७ र कृष्णपुरको ७ जितेको छ। एकीकृत समाजवादीले शुक्लाफाँटा–१२ मा जितेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .