राजनीति


यी हुन् संसारकै कान्छी प्रधानमन्त्री सन्ना मरिन

यी हुन् संसारकै कान्छी प्रधानमन्त्री सन्ना मरिन

नेपालखबर
मंसिर २३, २०७६ सोमबार १०:२२,

विश्वकै विकसित मुलुक फिनल्यान्डले संसारकै कान्छी प्रधानमन्त्री छानेको छ।

सरकार चलाइरहेको पाँच दलीय गठबन्धनको नेतृत्व ३४ वर्षीया सन्ना मरिनले गर्दैछिन्। उनले केही दिनमैं शपथ लिएर पदबहाली गर्ने कार्यक्रम छ।

शपथ लिएपछि उनी हाल पदमा रहेकामध्ये विश्वकै कम उमेरकी प्रधानमन्त्री मात्र होइन, फिनल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री र संसारकै सबैभन्दा कम उमेरकी महिला प्रधानमन्त्री पनि बन्नेछिन्।

त्यहाँ अहिले चर्केको आन्दोलनलाई राम्रोसँग सम्हाल्न नसकेका प्रधानमन्त्री आन्ती रिनेले विश्वासको मत गुमाएपछि मरिन प्रधानमन्त्रीका लागि छानिएकी हुन्। रिनेकै मन्त्रिपरिषदमा उनी यातायात मन्त्री थिइन्।

तीन महिनाअघि युक्रेनका प्रधानमन्त्री बनेका ३५ वर्षीय ओलेक्सेइ होन्चारुकलाई उछिन्दै मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बनेकी हुन्।

न्यूजिल्याण्डकी ३९ वर्षीया जासिन्दा आर्डेर्न, ४२ वर्षीय इम्मानुयल म्याक्रोँलगायत अन्य देशमा पनि उदीयमान युवानेताले कार्यकारी प्रमुखको रुपमा सरकार हाँकिरहेका बेला ५५ लाख जनसंख्या रहेको नर्डिक मुलुक फिनल्याण्डको नेतृत्व ३४ वर्षीया मरिनको काँधमा आइपरेको हो। उत्तर कोरियाली नेता किम जोङ उन पनि ३६ कै हाराहारीको उमेरमा छन्।

 संसारको ध्यान आफूतिर तानिएपनि मरिन आफैँ चाहिँ उमेरसम्बन्धी जिज्ञासालाई त्यति महत्व दिन चाहन्नन्।

‘मैले आफ्नो उमेर र लैंगिकताबारे कहिल्यै धेरै ध्यान दिइनँ,’ उनले भनेकी छन्, ‘म त आफू राजनीतिमा आउनुको कारणबारे नै सोच्ने गर्छु, छु र त्यसैले नै हामीले आमनागरिकको विश्वास जितेका छौँ।’

ft-sanna-marin-antti-lindtman.jpg

नर्डिक मुलुक फिनल्यान्डकी उनी तेस्रो महिला प्रधानमन्त्री हुन्। उनको सोसल डेमोक्रेटिक पार्टी गत अप्रिलमा सबैभन्दा ठूलो दल बनेर गठबन्धन सरकारको नेतृत्व गरेको हो।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार, उनकी आमा एकल महिला हुन्। उनैले मरिनलाई हुर्काएकी थिइन्। विश्वविद्यालयमा अध्ययन गर्ने उनी परिवारकै पहिलो सदस्य पनि हुन्।

द गार्डियनका अनुसार २७ वर्षको उमेरमै औद्योगिक सहर ट्याम्पेरको सिटी काउन्सिलको प्रमुख बनेपछि मरिन राजनीतिमा उदाएकी थिइन्।

७ महिनाअघि सरकारमा आएको उनको दलले रिन्नेको बर्हिगमनपछि पनि ‘कार्बन न्युट्रालिटी’ लगायत वातावरणसम्बन्धी कार्यक्रममा जोड दिने बताएको छ।

 उनले नेतृत्व गर्ने गठबन्धनमा सहभागी अन्य चारदलका प्रमुख पनि महिला नै छन्।

गठबन्धनको नेतृत्व गर्ने ली एन्डरसन ३२ वर्षकी छिन्। ग्रीन लिगकी नेतृ मारिया ओलिसालो ३४, सेन्टर पार्टीलाई नेतृत्व गर्ने क्याट्री कुल्मुनी ३२ र स्विडिस पिपल्स पार्टीकी प्रमुख अन्ना–माजा हेन्रिक्सन चाहिँ ५५ वर्षीय हुन्। 

आगामी जनवरीसम्म युरोपियन युनियनको नेतृत्व गरिरहेको फिनल्यान्डको प्रधानमन्त्रीले इयु ब्लकको नयाँ बजेट तयार गर्न मुख्य भूमिका खेल्नुपर्नेछ। त्यसैले, फिनल्यान्डका सांसदहरुले उनको नयाँ नियुक्ति तत्काल अनुमोदन गर्नुपर्ने छ। ताकि डिसेम्बर १२ मा ब्रसेल्समा हुँदै गरेको शिखर सम्मेलनमा उनले फिनल्याण्डको प्रतिनिधित्व गर्ने बाटो खुलोस्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad