ad ad

राजनीति


एमालेलाई तित्रोको संज्ञा दिँदै कांग्रेस सांसदले भने : सरकारले यति राम्रो काम गर्दा पनि साथ दिएन

एमालेलाई तित्रोको संज्ञा दिँदै कांग्रेस सांसदले भने : सरकारले यति राम्रो काम गर्दा पनि साथ दिएन

फाइल तस्बिर


नेपालखबर
साउन २५, २०७९ बुधबार १५:५६, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले साथ नदिएको गुनासो गरेका छन्। 

बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद देवले निष्पक्ष ढंगले स्थानीय तह निर्वाचन हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधान, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा, नागरिकतासम्बन्धी ऐन संशोधन सरकारको ऐतिहासिक काम भएको तर्क गरे।

यति गर्दा गर्दै पनि उनले एमालेले साथ नदिएको बताएका छन्। 

देवले एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढ्न पनि पटकपटक आग्रह गरे। 

लोकतन्त्रमा प्रतिपक्ष रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि एमालेलाई आग्रह गरे। 

‘सरकारले ३/४ वटा युगान्तकारी काम गरेको छ। शान्तिपूर्ण तरिकाले स्वतन्त्र ढंगले स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। अब मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन गइराखेको छ। यही सदनले महिला हिंसाविरुद्धको ऐन संशोधन भएको छ', उनले भने, 'यही सदनले नागरिकतासम्बन्धी ऐन संशोधन गरेको छ। यो युगान्तकारी, ऐतिहासिक काम सरकारले गरेको छ। यसबारे प्रमुख प्रतिपक्षका साथीहरुले के भन्नु हुन्छ? यो पनि ठिक गरेन? यो कस्तो संस्कार हामीले विकास गरिराखेका छौँ? जबकि पार्लियामेन्ट्री डेमोक्रेसीमा प्रतिपक्ष रचनात्मक भूमिका हुन्छ। र, हुनुपर्छ। प्रतिपक्ष भनेको डेमोक्रेसीको सुन्दरता हो। तर त्यो रचनात्मक विपक्ष हुनुपर्छ। तर नकारवादको शिकार प्रमुख प्रतिपक्ष भइराखेको छ।'

उनले एमालेलाई सकारात्मक सोच लिएर आउन पनि  भने। 'अनावश्यक ढंगले तित्रोको मुखै बैरी सुन्नै पनि कान थुन्नुपर्ने शब्दहरूको प्रयोग गरेर, विषय उठाएर यस्तो हामी अमिलो राजनीतिक वातावरण, तितो राजनीतिक वातावरण हामी नबनाऔं', उनले भने, 'अहिले पनि नेपाल अगाडि यस्ता एजेन्डा छन, जसमा नेपालका मेजर पोलिटिकल फोर्स एक भएर जानुपर्ने स्थिति छ। यस्तो बेलामा नयाँ ढंगको पोलिटिकल कल्चर विकास गरौँ भन्न चाहन्छु।’

सांसद देवले मुख्य राजनीतिक दलहरु अझै पनि एकतावद्ध भएर अघि बढ्नुपर्ने बेलामा एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोप समेत लगाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .