राजनीति


एकाबिहानै काठमाडाैं ओर्लिए अमेरिकी सहयाेगका स्काइ ट्रक

एकाबिहानै काठमाडाैं ओर्लिए अमेरिकी सहयाेगका स्काइ ट्रक

नेपालखबर
मंसिर २२, २०७६ आइतबार १३:४८,

अमेरिकी सेनाले नेपाली सेनालाई अनुदान सहयोगमा दिने चार वटा स्काइ ट्रक मध्ये दुईवटा आइतबार काठमाडौं आईपुगेका छन्। पहिलो खेपमा संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डले पोल्याण्डमा निर्मित २ वटा पिजेडएल एम–२८ स्काई ट्रक नेपाललाई दिएको हो। अमेरिकी सेनाको रेखदेखमा नेपाललाई हस्तानान्तरण गरिन लागेका ती स्काइ ट्रक सैन्य प्रयोग मापदण्डअनुसार निर्माण भएका हुन्। दोस्रो खेपमा थप २ जहाज प्रदान गर्नेछ।

अमेरिकी सेनाले २०७२ को महाभूकम्प लगत्तै ४ वटा स्काइ ट्रक पठाउने तयारी गरेको थियो। ती केही पुराना थिए। अहिले दिन लागिएका स्काइ ट्रक ब्रान्ड न्यू हुन्। नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले भूकम्पछि गरेको अमेरिकाको औपचारिक भ्रमणमा यससम्बन्धी सहमति भएको हो।

अमेरिकी सेनाले सरकारको सहमतिमा वार्षिक रुपमा आफू निकट देशका सेनालाई फरेन मिलिट्री फन्ड अन्र्तगत सैन्य सामाग्री सहयोग गर्दै आएको छ। नेपाली सेनाले हवाई सेवा विस्तार र मजबुत पार्न बनाएको १० वर्षे योजना अन्र्तगत सर्विस बिओण्ड इकोनोमिक रिपेयरिङ (मर्मत–सम्भारभन्दा बाहिर) रहेका विमान हटाएर नयाँ विमान ल्याइरहेको छ।

तत्कालीन प्रधानसेनापति गौरबशम्सेर राणाको कार्यकालमा बनेको योजना क्षत्रीको कार्यकालमा प्रक्रियामा र प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा कार्यन्वयनमा गएको हो।

नेपाल भ्रमणमा रहेका इन्डो–प्यासिफिक सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री र्‍यान्डल जी श्राइबर यही रहेका बेला स्काई ट्रक नेपाल आईपुगेका हुन्।

केही समय अघि नेपालख आएका इन्डो–प्यासिफिक कमाण्ड प्रमुख फिलिप्स एस डेभिड्सन र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीबीच स्काइ ट्रक हस्तान्तरणबारे छलफल भएको थियो। रक्षामन्त्री इश्वर पोखरेल र डेभिड्सनबीचको भेटवार्तामा पनि यो विषयमा छलफल भएको थियो।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेब पाण्डेले आइतबार बिहान करिब साढे दुइ बजे अमेरिकी सहयाेगका स्काइ ट्रक नेपाली सेनाकाे काठमाडाैंस्थित हवाइ बेसमा अवतरण भएकाे जानकारी दिए। त्रिभुवन विमानस्थलस्थित बेसमा दुबै स्काइ ट्रक राखिएकाे छ।

स्काइ ट्रक के हो?

नेपाली सेनाले केही दशकदेखि प्रयोगमा ल्याएको पिजेडएल एम–२८ स्काई ट्रक विशेषगरी पहाडी तथा हिमाली जिल्लामा अत्यावश्यक वस्तु ढुवानीका लागि निर्माण भएको सानो जहाज हो। यसमा दुईवटा इन्जिन हुन्छन्। विश्वका शक्तिशाली देशका सेनाले प्रयोगमा ल्याएको यो जहाज उडान र अवतरणका लागि अति सजिलो मानिन्छ।

जहाजमा १९ सिट क्षमता हुन्छ। सानो रनवेमा समेत उडान भर्न र अवतरण गर्न मिल्ने यो जहाज पोल्याण्डमा अमेरिकी सेनाको प्रत्यक्ष निगरानीमा उत्पादन हुन्छ। अमेरिकाको वायु र जल सेनाले यही जहाज प्रयोग गरिरहेका छन्।

नेपाली सेनाले सामाग्री ढुवानी, विशिष्ठ पाहुना बोक्न र सैन्य तालिम अन्र्तगत प्याराजम्पका लागि यो जहाज प्रयोग गर्दैै आएको छ। सेनासँग रहेका ३ स्काइट्रकमध्ये दुई दुर्घटनामा परी काम नलाग्ने भइसकेका छन्। एउटा चालू अवस्थामा छ।अमेरिकी सेनाले फरेन मिलिट्री फन्ड शीर्षकबाट नेपाली सेनालाई ४ वटा स्काइ ट्रक अनुदान दिने तयारी गरेपछि तिनको प्रयोजनबारे सेनाले गृहकार्य थालेको हो।

पोल्याण्डमा निर्मित लाइट डबल इन्जिन स्काइ ट्रकले २०६८ मा काठमाडौंदेखि भारतको पटनासम्म सफल उडान गरेको थियो। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई सेनाको पिजेडएल एम–२८ स्काइ ट्रक चढेर पटना पुगेका थिए। अहिले अमेरिकाले प्रदान गर्न लागेको स्काइ ट्रक सोही सिरिजको अझ नयाँ मोडलको हो। यही तथ्यलाई आधार बनाएर अति आवश्यक सेवाका लागि एयर एम्बुलेन्स बनाउन छलफल समेत भइरहेको छ।

विश्वकै खतरनाक मानिएका डोल्पा, मुस्ताङ, जुम्ला र मनाङजस्ता हिमाली जिल्लाका विमानस्थलमा यो जहाजले सयौं पटक उडान र अवतरण गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .