ad ad

राजनीति


लक्ष्मणपुर बाँध भत्काउन सांसदहरुको माग

लक्ष्मणपुर बाँध भत्काउन सांसदहरुको माग

नेपालखबर
असार ९, २०७६ सोमबार ९:३६,

हजाराैं बिघा नेपाली भूमी डुबानमा पार्नेगरी भारतले सिमानामा बनाएकाे लक्ष्मणपुर बाँध भत्काउन सांसदहरुले माग गरेका छन्।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकको शुन्य समयमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बाँके जिल्लाको सिमानामा निर्माण गरिएको लक्ष्मणपुर बाँध भत्काउन माग गरे। सांसद सुवालले नेपालीको बस्ति डुबानमा पार्ने गरी भारतले बनाएको लक्ष्मणपुर बाँध तत्काल भत्काउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

यस्तै, सांसद पूर्णकुमारी सुवेदीले भारतीय पक्षले निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण बाँके जिल्लाका १० हजार बिघा जमीन डुबानमा परेको भन्दै भत्काउन माग गरिन्।

बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

सांसद पुष्पा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासनको ठाडो उल्लङ्घन गरी हुकुमी शैलीमा शासन गर्दै आएको आरोप लगाइन्। उनले कारागार ऐनको दफा ११ र २५ उल्लङ्घन गरी उपचारका क्रममा रहेका सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल फुकाल्ने र नेल लगाउने कारागारका कर्मचारीलाई कारवाही गर्न ठाडो आदेश दिनु प्रधानमन्त्रीको हुकुमी शैली भएको तर्क गरिन्। कारगार ऐनको दफा ११ मा नेल लगाउन चिकित्सकको सुझाव लिनुपर्ने र दफा २५ मा जघन्य अपराध गर्नेलाई नेल लगाउनुपर्ने व्यवस्था छ। 

सांसद डिला सङ्ग्रौला, नवीना लामा, पार्वता डिसी चौधरी, पार्वती कुमारी विसुङ्खेले राजधानीमा अज्ञात समूहले महिलामाथि सिरिञ्ज आतङ्क मच्चाउँदै महिलालाई आतङ्कित पारेकाले अज्ञात समूहलाई तत्काल पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद दिलेन्द्रप्रसाद बडूले नेकपा विप्लव समूहसँग तत्काल वार्ता शुरु गर्न माग गरे। सांसद नारायणप्रसाद खतिवडाले विर्ता उन्मूलन भए पनि नुवाकोट जिल्लामा एक हजार ५५८ रोपनी जमीन खनजोत गर्ने चार हजार ९५७ व्यक्तिलाई तत्काल मोही कायम गर्न सरकारको ध्यानाकर्षण गरे।

सांसद तेजुलाल चौधरी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, र नारायणप्रसाद मरासनीले वर्षाका कारणले जनधनको क्षति पुगेकाले क्षतिपूर्तिको माग, तथा नदी नियन्त्रणको माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .