राजनीति


ताइवान मामिलामा नेपालको समर्थन कायमै रहने चीनको विश्वास छ : चिनियाँ राजदूत

ताइवान मामिलामा नेपालको समर्थन कायमै रहने चीनको विश्वास छ : चिनियाँ राजदूत

फाइल तस्बिर : चिनियाँ राजदूत होउ यान्छी


नेपालखबर
साउन १८, २०७९ बुधबार ११:३१, काठमाडौँ

चिनियाँ राजदूत होउ यान्छीले नेपालले लामो समयदेखि ‘ताइवान स्वतन्त्रता’ को मुद्दामा दृढतापूर्वक विरोध गरिरहेकोमा उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि एक चीन सिद्धान्तमा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त गरेकी छन्। 

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणले चीन र अमेरिकाबीच सम्बन्ध तनावको शिखरमा पुगेका बेला काठमाडौंस्थित चिनियाँ राजदूतले होउले बुधबार विज्ञप्ति जारी गरी ताइवान मामिलामा नेपालको प्रतिबद्धता स्मरण गराएकी हुन्।

चिनियाँ राजदूत होउ यान्छीले विज्ञप्तिमा भनेकी छन् ‘चीन र नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दा मित्र र साझेदार हुन्। दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतासम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझ्छन् र समर्थन गरिरहेका छन्। चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्छ।’

अमेरिकाले ताइवानलाई चीनबाट टुक्र्याउन खोजेको आरोप चीनले लगाइरहेको छ। महाशक्ति अमेरिकाले आफ्नो मिसनमा नेपालजस्ता साना छिमेकीको पनि समर्थन जुटाउन प्रयत्न गर्ने र त्यसमा नेपालले समर्थन जनाए त्यसले चीनको रणनीतिक सुरक्षा स्वार्थमा आघात पुग्ने चिनियाँ बझुाइ छ। अमेरिकी सभामुख पेलोसीको जारी ताइवान भ्रमणले चीनको उक्त बुझाइ अझ बढी बलियो बन्न पुगेको छ। 

ताइवान स्वतन्त्रताको विरोध नेपाल–चीन सम्बन्धको राजनीतिक आधार रहेको राजदूत होउले उल्लेख गरेकी छन्।

‘हामी विश्वास गर्छौं - नेपाल सरकार र यसका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् र चीनको वैध र जायज अडान बुझेर समर्थन गर्नेछन् र एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन्’, राजदूत होउले भनेकी छन्। 

नेपाल सरकार र जनताले विगतमा झैं आगामी दिनमा पनि एक चीन सिद्धान्तको पालना गर्ने चिनियाँ राजदूतको अपेक्षा छ।

अमेरिकी सभामुख पेलोसिले चीनको ताइवान क्षेत्रको भ्रमण गर्नु एक चीन सिद्धान्तविपरीत रहेको चीनको दाबी छ। भ्रमणले चीन—अमेरिका सम्बन्धको राजनीतिक आधारको उल्लंघन गर्दै चीनको सार्वभौमिकता र अखण्डताविरुद्ध हस्तक्षेप गरेको राजदूत होउले उल्लेख गरेकी छन्।

‘सभामुख पेलोसीको भ्रमणले ताइवान क्षेत्रको शान्ति र स्थिरतामा नकारात्मक असर पारेको छ। चीनले यसको कडा विरोध गर्छ र यसबारे अमेरिकासँग भर्त्सना पनि गरिसकेको छ’, राजदूत होउले भनेकी छन्। 

विश्वमा एउटा मात्रै चीन रहेको र ताइवान चीनको अभिन्न अंग रहेको तथ्यलाई सन् १९७१ म संयुक्त राष्ट्रसंघीय महासभाको २७५८ प्रस्तावले मान्यता दिएको उनले उल्लेख गरेकी छन्। ‘एक चीन सिद्धान्तलाई सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय मानेको र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता बनेको छ’, उनले भनेकी छन्। 

सन् १९७९ मा चीनसँग अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापित हुँदा अमेरिकाले जनवादी गणतन्त्र चीनलाई मात्र कानुनी रुपमा मान्ने भनी सहमति जनाएको उनले स्मरण गरेकी छन्।

‘तर अहिले अमेरिकाको बहालवाला सभामुख पेलोसीले ताइवान भ्रमण गर्नु र त्यहाँ भेटवार्ता गरेर औपचारिक रुपमै ताइवानसँग सम्बन्ध राख्नु भनेको ताइवानलाई भड्काउन खोज्नु हो। यो चीनलाई स्वीकार्य छैन, चिनियाँ जनता यसको विरोध गर्छन्’, उनले भनेकी छन्। 

ताइवानको सवालमा चिनियाँ सरकार र जनताको अडान निरन्तर रहेको राजदूत होउले उल्लेख गरेकी छन्।

‘यो चीन राज्यको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न १.४ अर्ब चिनियाँ जनताको दृढ प्रतिबद्धता हो’, उनले विज्ञप्तिमा भनेकी छन्।

​ताइवान चीनको अंग रहेको उल्लेख गर्दै उनले मातृभूमिको पुनर्मिलनलाई साकार पार्नु सबै चिनियाँ छोराछोरीको साझा आकांक्षा र पवित्र दायित्व रहेको बताएकी छन्।

‘अमेरिकी सभामुखको भ्रमणको चीनले जवाफ दिनेछ। चीनले निश्चित रूपमा आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न सबै आवश्यक उपाय अवलम्बन गर्नेछ। यसबाट उत्पन्न हुने सबै नतिजा अमेरिकी पक्ष र ताइवान स्वतन्त्रता पृथकतावादी शक्तिले बेहोर्नुपर्नेछ’, विज्ञप्तिमा अमेरिकालाई चेतावनी दिँदै भनिएको छ। 

विज्ञप्तिमा राजदूत होउले ताइवानको सवाल विशुद्ध चीनको आन्तरिक मामिला रहेको बताएकी छन्।

‘चीनले अमेरिकालाई ताइवानमा हस्तक्षेप गर्न र चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ। अमेरिकाले कुनै पनि रूपमा ताइवान स्वतन्त्रता पृथकतावादी शक्तिलाई समर्थन र सहयोग गर्न बन्द गर्नुपर्छ। यसले एक चीन सिद्धान्त र तीन चीन–अमेरिकाको प्रावधानलाई कडाइका साथ पालना गर्न विश्वसनीय कार्य गर्नुपर्दछ। विगतमा अमेरिका र चीनले जारी गरेका संयुक्त वक्तव्यको मर्मविपरीत गलत दिशामा सम्बन्धलाई लैजाने प्रयत्न गर्नुहुँदैन’, विज्ञप्तिमा भनिएको छ।​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad