ad ad

राजनीति


कांग्रेसकाे बटमलाइन– वामपन्थीसँग ‘होलसेल’ मा कारोबार

टुक्राटुक्रीभन्दा होलसेलमा डिल गर्न सहज हुन्छ : धनराज गुरुङ
कांग्रेसकाे बटमलाइन– वामपन्थीसँग ‘होलसेल’ मा कारोबार

केशव सावद
साउन १६, २०७९ सोमबार २०:२, काठमाडौँ

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आसन्न प्रादेशिक र संघीय निर्वाचनमा सत्ता साझेदार वामपन्थी दलहरूसँग चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरिसकेको छ। तर, यो गठबन्धनका लागि अब वामपन्थीहरुले सामूहिकरुपमा कांग्रेससँग सौदाबाजी गर्नुपर्ने भएको छ ।

कांग्रेसको पछिल्लो केन्द्रीय कार्यसमिति बैठक (असार २७–साउन २) ले पार्टीलाई बहुमतमा पुर्याउने गरी साझेदार दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ‘स्थानीय अवस्था र आवश्यकताका आधारमा’ चुनावी तालमेल गर्ने निर्णय गरेको कांग्रेसले तालमेलबाट प्राप्त परिणामप्रति सन्तोष पनि व्यक्त गरेको थियो।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको थियो, ‘वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ।’

केन्द्रीय कार्यसमिति बैठकले साझेदार दलहरूसँगको तालमेलका क्रममा संविधान कार्यान्वयन, आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आसन्न निर्वाचनमा प्रस्तुत हुनुपर्नेमा जोड दिएको छ।

चुनावी तालमेल गर्दा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरूसँग संवादमार्फत निष्कर्षमा पुग्ने कांग्रेसको निर्णय पनि थियो।

देउवा बेग्लाबेग्लै ‘डिल’ नगर्ने पक्षमा
केन्द्रीय कार्यसमिति बैठकबाट पार्टी बहुमतमा पुग्ने गरी चुनावी तालमेल गर्ने निर्णय गराएका प्रधानमन्त्री शेरबहादुर देउवा साझेदार दलहरुसँग एकमुष्ठ ‘डिल’का लागि प्रयासरत छन्।

यही प्रयासअनुसार उनले केही दिनअघि मात्रै एकलरुपमा चुनावी तालमेलबारे छलफलका लागि बालुवाटार पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न आग्रह गरेका थिए।

छुट्टाछुट्टै रुपमा चुनावी तालमेलका लागि सहमति जुटाउन झन्झट हुने भनेरै प्रधानमन्त्री देउवाले डा. भट्टराईलाई अध्यक्ष प्रचण्डसँग छलफलका लागि जान आग्रह गरेको स्रोतको दाबी छ।

प्रधानमन्त्री देउवानिकट केन्द्रीय सदस्य रामहरि खतिवडा भन्छन्, ‘प्रत्येक मान्छेसँग डिल गर्न गाह्रो हुन्छ। सबै एक भएर आइदिए हुन्थ्यो भन्ने हो। उहाँहरु एकीकृत भएर आउनुभयो भने एउटै नेतासँग डिल गर्न सजिलो हुन्छ।’

कांग्रेस उपसभापति धनराज गुरुङ पनि चुनावी तालमेलको विषय समग्रमा टुंग्याउने पक्षमा पार्टी रहेको बताउँछन्। साझेदार दलहरुका नेतृत्वसँग छुट्टाछुट्टै तालमेलबारे सहमति गर्दा झन्झट हुने उनको बुझाइ छ।

‘डिल होलसेलमा गर्न पायो भने सहज हुन्छ भन्ने हो। टुक्राटाक्रीमा गर्दा यो वा त्यो भन्यो भने झन्झटिलो हुन्छ,’ उपसभापति गुरुङले नेपालखबरसँग भने, ‘जति थोरै भयो, त्यति सजिलो हुन्छ।’

उपसभापति गुरुङले सत्ता साझेदार दलहरु पनि कांग्रेससँग चुनावी तालमेलका लागि ‘होलसेल डिल’ का लागि प्रयासरत रहेका पनि बताए।

‘उहाँहरु यो प्रयासमा हुनुहुन्छ,’ गुरुङले भने, ‘एकता नभए पनि मोर्चा बनाउने प्रयासमा हुनुहुन्छ।’

सत्ता साझेदार दलहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) संघीय निर्वाचनमा वाम गठबन्धन गरेर जाने मनस्थितिमा छन्। यसरी जाँदा आफूहरु निर्णायक शक्ति बन्न सक्ने नेताहरुको बुझाइ छ।

‘उपेन्द्रजी, हामी र माओवादी केन्द्रबीच एउटा मोर्चा बनाएर जान सक्यौं भने संघीय निर्वाचनमा हाम्रो पोजिसन राम्रो हुन्छ,’ एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला भन्छन्, ‘गठबन्धन बने पनि त्यसबेला निर्णायक सिट मोर्चाबाट जितिन्छ।’

जसपाबाट छुट्टिएर नयाँ पार्टी गठनको तयारीमा रहेका डा. भट्टराईनिकट नेता महिन्द्र राय यादव पनि गठबन्धनमा रहेका दलहरु चुनावी मोर्चा बनाएर कांग्रेससँग तालमेलको तयारीमा जुटेको बताउँछन्। 

‘हामी कांग्रेससहितको गठबन्धनमा छौँ। गठबन्धन छोड्ने भनेको होइन। तर, चार दलबीच छुट्टै मोर्चा बनाएर एउटै घोषणापत्र, एउटै चुनाव चिन्ह लिएर जाँदा जनतामा अन्यौलता हुँदैन,’ उनले भने, ‘सिट बाँडफाँटको नतिजा पनि राम्रो आउँछ भन्ने हिसाबले हामी छलफल गरिरहेका छौँ। गठबन्धनभित्र चुनावी मोर्चाको रुपमा यो रहन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .