ad ad

राजनीति


‘विधि र पद्धति भन्ने माधव नेपाल संसदीय राजनीतिका खलनायक भए’

‘विधि र पद्धति भन्ने माधव नेपाल संसदीय राजनीतिका खलनायक भए’

चितवनमा आयोजित एमालेको प्रशिक्षणलाई सम्बोधन गर्दै शंकर पोखरेल। तस्बिर : सरोजकुमार रेग्मी


नेपालखबर
साउन १०, २०७९ मंगलबार १६:३२, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई खलनायकको संज्ञा दिएका छन्।

एमाले चितवन जिल्ला कमिटीद्वारा मंगलबार आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई  सम्बोधन गर्दै लुम्बिनी प्रदेशका  पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले यस्तो बताएका हुन्। 

पोखरेलले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले एमसीसी टेबल गर्न लगाएर उनीहरुले नै हात उठाएर पारित गरेको पनि उल्लेख गरे।

पोखरेलले नेकपा जीवित हुँदा राष्ट्रघात भएको एमसीसी शेरबहादुर देउवाका पालामा प्रचण्ड-नेपालका लागि सही हुन पुगेको भन्दै कटाक्ष गरे। 

'नेकपा हुँदा त्यही विषय राष्ट्रघात भयो', उनले भने, 'तर शेरबहादुरको पालामा त्यही कुरा सही भयो।'

उनले नेकपा विभाजन माधव नेपालको कुण्ठाका कारण हुन पुगेको बताए। विधि र पद्धति भन्ने नेपालले पद नपाएको कुण्ठाकै कारण पार्टी फुटाएको पनि उनले बताए। 

'नेकपा विभाजनको दोषी को हुन् त? कमरेड केपी ओलीले माधव नेपालहरुलाई फकाएर राखेको भए हुन्थ्यो नि भन्ने कुरा आयो', उनले अगाडि भने, 'कार्यकर्ता हो र फकाएर राख्न। आफूलाई दिग्गज ठान्नेहरूको अन्तरसंघर्ष थियो पार्टीमा। नेकपाकालमा सबैभन्दा धेरै चर्चामा ल्याउन खोज्ने पात्र हुनुहुन्थ्यो माधव नेपाल।'

उनले विधि, पद्धति र अनुशासनका मामिलामा नेपाल खरो लाग्ने गरेको बताए। 'यो मामिलामा उहाँ खरो हुनुहुन्थ्यो भन्ने लाग्थ्यो। विधि र पद्धतिका मामिलामा उहाँको छवि बलियो थियो', उनले भने, 'संसदीय राजनीतिमा ह्विप उलंघन गर्ने कुरा सबैभन्दा ठूलो अपराध हो। अहिले सबैभन्दा धेरै संसदीय ह्विप उलंघन गर्ने को हो भन्दा माधव नेपालको नाम आउँछ।'

उनले अहिले नेपाल खलनायक सावित भएको पनि बताए। 'जसलाई हामीले विधि र पद्धतिको नायक ठान्यौँ। उनै आज विधि र पद्धतिको उलंघन गर्ने खलनायक भए', उनले थपे, 'पार्टी एकता बचाउने मानिस भनियो, नेता मानियो तर उनैले पार्टी फुटाए।'

उनले स्थानीय निर्वाचनमा समाजवादीको बिजोग भए पनि एमालेलाई हराउन सकेको भन्दै गर्व गरिरहेको उल्लेख गरे। 
'अहिले चुनावको समीक्षा गर्दा गर्वसाथ भन्छन् नजिते पनि हरायौँ नि!', उनले भने, 'हामीले त त्यस्तो नेतालाई हामीले आदर्श मान्यौँ। अहिले पार्टी पदकै लागि फुटाएको कुरा पुष्टि भइसकेको छ।'

नेपालकै नेतृत्वमा 'एक व्यक्ति एक पद'को अभियान चलाइएको भन्दै त्यसले पार्टीलाई छोए पनि अहिले तात्पर्य पुष्टि भएको पोखरेलले बताए।

'नेकपा हुँदै एक व्यक्ति एक पदको हुइँया चलाइयो, त्यसले स्वभाविक रुपमा पार्टीलाई पनि छोयो', उनले भने, 'त्यो एक व्यक्ति एक पदको अन्तर्य कार्यकर्तालाई एकजुट बनाऊँ भन्ने थिएन। त्यो त केपी ओलीलाई एउटाबाट हटाएर त्यसपछि प्रधानमन्त्रीबाट पनि हटाउने योजना मात्रै थियो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .